बिचौलियाको मारमा परेका किसानलाई राहत, अर्गानिक तरकारीको बढ्दो माग (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

अनिल पंगेनी काठमाडौं, ९   मंसिर । नेपाल कृषि प्रधान देश हो । यहाँका बहुसंख्यक नागरिक अझै पनि कृषिमा आश्रित छन् । तर, पछिल्लो समय कृषि उपजमा प्रयोग गरिने रासायनिक पदार्थले उब्जनीसँगै मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन थालेको छ ।

दुई दशक यता अन्न बाली तथा सागशब्जीहरुमा प्रयोग गरिन थालिएको रासायनिक मल तथा पदार्थले माटोको उर्बर क्षमतामा ह्रास मात्रै ल्याएको छैन मानव स्वास्थ्यमा पनि गम्भीर असर गर्न थालेको छ । धेरै उब्जाउने बहानामा अर्गानिक खेतीप्रति कृषकको अरुचि बढ्न थालेपछि रासायनिक पदार्थको प्रयोग बढेको हो ।

यही क्रममा काठमाडौँमा ग्लोबल क्यापिटल अन्तर्गतको आयुमी हिमालय एग्रो नामक कम्पनीले विगत ४ वर्षदेखि अर्गानिक तरकारी खेतीलाई प्रोत्साहन र प्रवर्द्धन गरिरहेको छ ।

काठमाडौंको रामकोटमा ५२ रोपनी जग्गामा खोलिएको कृषि फार्ममा २५ देखि ३० प्रकारका अर्गानिक तरकारी खेती गरिहेको छ । यस फार्मबाट उत्पादन भएका तरकारीहरु काठमाडौं उपत्यकाका चार ठाउँबाट बिक्री भइरहेको र उपत्यका बाहिर पनि विस्तार गर्ने तयारी भइरहेको फार्मकी म्यानेजर सम्झना बनले जानकारी दिइन् । रासायनिक पदार्थबाट उब्जाउ गरिएका तरकारी खानाले विभिन्न रोगको संक्रमण हुन थालेपछि पछिल्लो समय अर्गानिक तरकारीको माग बढ्न थालेको उनको अनुभव छ ।

आयुमी हिमालय एग्रोको लक्ष्य र उद्देश्य अर्गानिक तरकारी उब्जाउने र बिक्री गर्ने मात्रै होइन अन्य किसानले उब्जाएको अर्गानिक तरकारीका लागि बजारको व्यवस्था गर्ने समेत रहेको उनको भनाइ छ । यद्यपी यसका लागि आयुमीको मापदण्ड पूरा गर्नुपर्ने छ ।

म्यानेजर बनकाअनुसार तरकारीमा बिषादी प्रयोग गर्न नपाइने, गोबरमल अथवा आयोमीले नै उत्पादन गरेको अर्गानिक झोलमल प्रयोग गरेको हुनुपर्ने, प्याकेजिंग पनि आयोमीकै बिधिबाट हुनु पर्ने मापदण्ड रहेको छ । कतिपय किसानहरुले अर्गानिक खेति गरेर उब्जाएका तरकारी रासायनिक मलको बोरामा ल्याउने तथा प्याकेजिङमा ध्यान नदिँदा विषादी पर्ने गरेको उनले जानकारी दिइन् ।

साथै आयुमीले कृषकहरुलाई मर्का नपर्ने गरी मूल्य समेत दिने म्यानेजर बनले दाबी गरिन् । हाल बिचौलियाको मारमा परेर उपभोक्ताले एक सय बढी मूल्यमा खरिद गरेको तरकारीको किसानले २०–३० रुपैयाँ पनि पाउन नसकेको उनकोअनुभव छ । मूल्यलाई किसानमैत्री बनाउने विश्वास रहेको आयु मी हिमालय एग्रोकी म्यानेजर सम्झना बनले जानकारी दिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *