माग्नेबूढाको संघर्ष : फुटपाथ पसले, टेम्पु ड्राइभर हुँदै कलाकार

  • 363
  •  
  •  
  •  
  •  
    363
    Shares

आन्दोलनकारीले गज्जबको सर्त राखे, १० मिनेट हँसाएर जानुस् । अकस्मात के भनेर, के गरेर हँसाउने ? उनले धेरैबेर सोच्नुपरेन । उनलाई फुरिहाल्यो, यही नेपालबन्दलाई किन व्यंग्य नगरुँ ? उनले नेपालबन्दकै व्यंग्य गरेर हँसाए, केहीबेरलाई बाटो खुल्यो ।

  • ध्रुवसत्य परियार

माग्नेबूढा बर्दियाबाट नेपालगन्ज एयरपोर्टमा आउँदै थिए । नेपाल बन्द थियो । कोहलपुरबाट आन्दोलनकारीले अगाडि बढ्न दिएनन् । साथीहरूले आन्दोलनकारीसँग अनुरोध गरे, ‘गाडीमा माग्नेबूढा हुुनुहुन्छ । उहाँ एयरपोर्टसम्म पुग्ने हो । अब बाटो धेरै पनि छैन, एउटा कलाकारलाई सम्मान गरेर छाडिदिनुपर्यो ।’

तर, आन्दोलनकारीले गज्जबको सर्त राखे, १० मिनेट हँसाएर जानुस् । अकस्मात के भनेर, के गरेर हँसाउने ? उनले धेरैबेर सोच्नुपरेन । उनलाई फुरिहाल्यो, यही नेपालबन्दलाई किन व्यंग्य नगरुँ ? उनले नेपालबन्दकै व्यंग्य गरेर हँसाए, केहीबेरलाई बाटो खुल्यो ।

यी चर्चित कलाकार माग्नेबूढा अर्थात् केदार घिमिरेले काठमाडौंमा सुरुका दिन कस्ता संघर्ष गरे ? कसरी अभिनय क्षेत्रमा प्रवेश गरे ? उनको संघर्षको कथा तपाईंलाई पनि प्रेरणादायी हुन सक्छ ।

सडकमा व्यापार गर्न ‘रिसर्च’ गरें
एसएलसीपछि केदार काठमाडौंमा दाइसँग बस्न थाले । सुरुमा उनी सानो कक्षाका बालबालिकालाई ट्युसन पढाउँछु भनेर पनि लागे । तर, अंग्रेजी कमजोर भएकाले सकेनन् । साइकलमा मसला बेच्छु भनेर पनि लागे, फाइदा भएन । तीन महिनाजति अलकत्रा बनाउने काम पनि गरे । अन्ततः उनी आफैं केही गर्ने सोचे ।

केदारका दाइ काम गर्दै पढ्ने भनेर आएका थिए । तर, भनेजस्तो काम नपाएपछि घरमा रंग पोत्ने काम गर्थे ।
‘सुरुमा मैले पनि दाइसँग रंग लगाउन हिँडे । मलाई दाइको भन्दा भिन्न काम गर्ने मन भयो,’ केदार ठट्टौलो पारामा भन्छन्, ‘के गर्न सकिन्छ भनेर बुझ्न थालें । अहिले बुझ्दा लाग्छ, खासमा त्यतिबेला मैले आफ्नो व्यापारका लागि ठूलै रिसर्च गरेको रहेछु ।’

वास्तवमै केदारले सडकमा पसल खोल्नका लागि सम्भावना र चुनौतीबारे जसरी बुझे, त्यसलाई ‘रिसर्च’को नाम दिँदा अत्युक्ति हुँदैन । आफ्नो आर्थिक हैसियत अनुसारको काम–व्यापार के गर्न सकिन्छ भनेर उनी ठूलै रिसर्चमा लागे ।
‘मलाई बढी सडककै बारेमा जानकारी हुन्थ्यो । काठमाडौं आइयो, सडकै देखियो । अनि, मैले सडकमै सपना देख्न थालें । सडकमा मानिसहरूले विभिन्न काम गरेको देख्थें, पैसा कमाएको देख्थें,’ केदार भन्छन्, ‘सुरुमा साग बेच्नेहरूको अनुसन्धान गरें । बिहान कहाँबाट साग ल्याउँछ ? कसरी बेच्छ ? सबै नियाल्थें । उसलाई पछ्याउँथे । उसले थाहा नपाउने गरी उसकै वरिपरि बस्थें ।’

केदारले थाहा पाए— उसले बिहानै साग ल्याएको, बिहानभरि बेचेको, घाम चर्केपछि केहीले छोपेर गएको अनि साँझ घाम ढल्केपछि आएर सागलाई पानी छम्केर फेरि बेच्न बसेको, आज नबिकेर अलिअलि ओइलाएको साग भोलिपल्ट ताजा सागमा कताकति मिसाएको ।

‘उसले तीन सय मुठा साग राख्दो रैछ, दुई रुपैयाँ मुठा । मुठामा ५० पैसाभन्दा बढी नाफा खाँदो रैछ । दिनमा एक, डेढ सय कमाउन सकिने देखेँ,’ केदार भन्छन्, ‘तर, बिहानै उठ्नुपर्ने, मेहनत गर्नुपर्ने, बिकेन भने ओइलाएर जाने हुँदो रैछ । त्यसैले त्यो काम गरिन् । तर, मेरो रिसर्च खेर गएन, किनभने मलाई अरु कामको रिसर्च गर्न सजिलो भयो ।’

त्यसपछि केदार सडकछेउमा मालपुवा पकाएर बेच्ने कामको रिसर्चमा लागे । हिसाब गरे— पिठो, तेल, फलामको पकाउने भाँडो, स्टोभ, मट्टीतेल सबैको । हिसाबमा सस्तै देखियो । तर, यो काम त्यति सहज लागेन । केदार भन्छन्, ‘यता कपडामा पिठो लाग्दो रैछ, उता तेल लाग्दो रैछ, त्यो पकाउने मान्छे हैरान भएको देखें । त्यो काम गर्ने आँट गरिनँ ।’
यी रिसर्चमा हिँड्न उनले दाइको साइकल प्रयोग गरे, साइकल पुरानो थियो, घन्टीबाहेक सबै बज्थ्यो । केदार भन्छन्, ‘यहाँँ ब्रेक लायो, ए–ए, लौ–लौ भन्दै ऊ उहाँ गएर ब्रेक लाग्थ्यो ।’

‘लास्टमा एक खिली चुरोटले काम गर्यो’

अलि सफासुग्घर र सजिलो व्यापार के हुन्छ भनेर बुझ्न थाले उनले । केही बढी लगानी लाग्ने तर मेहनत कम, सफा पनि भइने व्यापार देखे— कस्मेटिक सामानको । जसमा पर्स, काइँयो, ऐना, बेल्ट, जुत्ताको पोलिस, नेलकट, कान कोट्याउने लगायत सामान हुन्थ्यो । अब यो व्यापार कसरी गर्ने त, सामान कहाँ पाइन्छ ? केदार फेरि रिसर्चमा लागे ।

उनीहरूले ख्याल नगर्ने गरी केदारले त्यस्ता व्यापारीलाई नियाले । यति ध्यान दिएर सामान बेचेको हेरे कि सामान चिन्ने र मूल्य नै थाहा पाउने भए । तर, उनले एउटा कुरा दिमागै घुमाउने खालको देखे । केदार भन्छन्, ‘पसलेले अजीव गथ्र्यो— कहिले त्यही सामान ६० रुपैयाँमा बेच्थ्यो, कहिले ५० मा, कहिले ३०–३५ त कहिले २५ मा । मैले गेस गरेँ कि त्यो सामान पक्कै २० को हो भन्ने ।’

सबै बुझे, तर ती सामान कहाँ पाइन्छ भन्ने पत्ता लगाउन सकेनन् । यसको होलसेल कहाँ छ भनेर धेरैलाई सोधे, कसैले बताएनन् । केदार भन्छन्, ‘होलसेल बताएपछि धेरैले यो काम गर्छन् र प्रतिस्पर्धी बढ्छन् भन्ने उनीहरूको सोच हुँदो रहेछ ।’
उनले एउटा भर्खरको केटोले रत्नपार्कमा त्यस्तै सामान बेचेको देखे । त्यसपछि उनी त्यो केटाको साथी बन्ने कोसिसमा लागे । उसले चुरोट खाँदो रैछ, यो थाहा पाएपछि केदारले चुरोटबाटै साइनो गाँस्ने सोचें । दुई खिली चुरोट किने र उसको छेउमा गएर सल्काए । केदार भन्छन्, ‘मैले चुरोट खान जान्दिनथेँ । फेरि पनि अम्मली पारामै चुरोट सल्काएँ र उसलाई सोधें— भाइलाई चल्छ ? उसले खाइदिउँ न त भन्यो । एउटा उसलाई दिएँ । अनि गफ हुन थाल्यो ।’

दुईबीच घर कहाँदेखि व्यापार कस्तो छ भन्नेसम्म कुरा भयो । केदारले अलि चलाखीले कुरा गरे, ‘मेरो दाइको पनि यस्तै पसल छ, लगनखेलमा ।’

उसले सोध्यो, ‘तपाईं चाहिँ के गर्नुहुन्छ ?’ केदारले भने, ‘भर्खरै एसएलसी दिएर आको, केही गरेको छैन । आज दाइले मलाई होलसेलबाट सामान ल्याउन भन्नुभएको थियो, मैले ठाउँ देखेको छैन । यस्ता सामान राख्ने जसलाई सोधे नि बताइदिन्छन् भन्नुभाथ्यो ।’

त्यो पसलेले म देखाइदिन्छु भन्यो । केदार ऊसँगै महाबौद्ध गएर सामान ल्याए । केदार भन्छन्, ‘लास्टमा एउटा चुरोटले काम गर्यो ।’

त्यो भाइले खाएको देखें । मैले चुरोट खान जान्दिनथेँ । फेरि पनि अम्मली पारामै चुरोट सल्काएँ र उसलाई सोधें— भाइलाई चल्छ ? उसले खाइदिउँ न त भन्यो । एउटा उसलाई दिएँ । अनि गफ हुन थाल्यो । उसले होलसेल पसल देखाइदिने भयो । लास्टमा एउटा चुरोटले काम गर्यो ।

‘सरकारले गर्दा म कलाकार भएँ’

केदार कुनै न कुनै काम व्यापार गर्ने निर्णयमा पुगिसकेका थिए । घर गएर बुवासँग मागेर १५ सय रुपैयाँ लिएर आएका पनि थिए । तर, यता दाइको रंग लगाउने काम छुटे छ । चामल–तरकारीमै खर्च गर्दा ८ सय ५० जति बाँकी थियो ।

उनले त्यही पैसाले सामान किने र लगनखेल मछिन्द्रनाथ क्याम्पसअगाडि फुटपाथमा सामान राखे । पहिलो दिन सबै सामान बिक्यो । साँझ हिसाब गरेको दुई सय ५० फाइदा भयो । केदार भन्छन्, ‘त्यसपछि मैले हिसाब गरें । २५० गुणा ३०, महिनाको सात हजार पाँच सय फाइदा । वर्षको ९० हजार, मैले त पूरै लाखको सपना देख्न थालें ।’

हुन पनि त्यस्तै हुन खोज्दै थियो । व्यापार राम्रो हुँदै गयो । उनले फुटपाथबाट उठाएर पसललाई गाडामा हाले । गाडामा राम्रो व्यापार हुँदै थियो । तर, सरकारले फुटपाथ पसल हटाउने भयो । उनले ३५ हजारमा पसल बेचे ।

त्यसपछि उनले ७० हजारमा मिटर टेम्पु किने । टेम्पुमा एउटा चालक राखेका थिए । तर, टेम्पुबाट फाइदा हुने छाँट आएन । ‘चालकले टेम्पु फलानो ठाउँमा बिग्रियो, बनाउनुपर्छ बनेर साँचो ल्याएर दिन्थ्यो,’ केदार भन्छन्, ‘बनाउन मात्रै पर्ने भएपछि आफैं टेम्पु चलाउन सिकें । मसँग टेम्पुको मात्रै होइन, ट्याक्सी, माइक्रोबस, नाइटबस सबैको लाइसेन्स छ । के पर्छ पर्छ, भोलि ट्याक्सी किनौंला, माइक्रोबस किनौंला, बस किनौंला । यस्तै सपना देख्न थालें र लाइसेन्स बनाएँ ।’

केदारले अन्ततः आफैंले टेम्पु चलाए । टेम्पुबाट पनि राम्रो आम्दानी हुँदै थियो । योबीचमा उनले दाइलाई पनि पसलदेखि टेम्पुको व्यापार सिकाए । उनीसँग तीनवटा टेम्पु थियो । फेरि सरकारले मिटर टेम्पु पनि हटाउने भन्यो ।

केदारले मिटर टेम्पु बेचेर कलंकीमा रेडियो, वाकमेन, टेपरेकर्डको होलसेल खोले । उनको एकतले छाप्रोजस्तोमा पसल थियो । सरकारले फेरि कलंकीको सडक विस्तार गर्ने भयो । उनको पसल काट्दै–काट्दै सानो ठाउँमा खुम्चियो ।

केदार भन्छन्, ‘वास्तवमा सरकारकै कारण म कलाकारितामा आएँ । सरकारले मेरो फुटपाथ पसल उठायो, मिटर टेम्पु किनेँ, चलाएँ, त्यो पनि उठायो । होलसेल पसल खोलें । सडक विस्तार गर्ने भनेर उठायो । अनि, कलाकारितामा आएँ ।’

बिहेपछिको प्रगति

टेम्पु चलाउँदै गर्दा केदारले बिहे गरे, ललितपुरको भट्टेडाँडाबाट । भट्टेडाँडा केदारको मावलीगाउँ हो । त्यहाँ एकजना भाइ पर्नेको बिहे थियो । अनि, अर्का दाइपर्नेले भने, ‘केदार, बिहेमा आऊ, तिम्रा लागि केटी पनि हेरौंला ।’

केदार बिहेको निहुँमा केटी हेर्न गए । केटी पनि हेरे । तर, निर्णय लिन नसकेर भागे । केदार भन्छन्, ‘केटी हेरेर जन्त गएँ । फर्कंदा दाइलाई केटी मन पर्यो कि परेन भनेर भन्नुपथ्र्यो । म त त्यसै बकहिएँ, के के सोच्न थालें— मन पर्यो पनि कसरी भन्ने, एकचोटि देखेकी केटीलाई ! अर्काकी छोरीलाई मन परेन पनि कसरी भन्ने । कुनै निर्णय लिन नसकेर म भागेर डेरा आएँ, भट्टेडाँडा गइनँ ।’

उही केटीसँग दाइमार्फत फेरि कुरा चल्यो । आखिर केदारको बिहे उनैसँग भयो, ०५६ सालमा । उनले श्रीमती आफ्नै टेम्पुमा चढाएर ल्याए । तर, बिहेको दिन आफैं चालक भने बनेनन् ।

पछि केदारलाई पसलमा श्रीमतीले पनि सघाउन थालिन् । ०५८ सालतिर रेडियो एचबीसीमा काम गर्ने सुमित्रा खड्कासँग उनको चिनजान भयो, जसलाई उनले दिदी भन्थे, उनको घरनजिकै केदारको पसल थियो ।
साहित्यमा सानैदेखि रुचि भएका केदारले एफएममा कविता लेखेर पठाउन थाले । सुमित्राले कविता वाचन गरिदिन्थिन्, उनले पसलमा रेडियोको आवाज बढाएर सुन्थे ।

केदारसँग मोटरसाइकल थियो, कहिलेकाहीँ उनी सुमित्रालाई पुर्याउन रेडियोको कार्यालय जान्थे । सुमित्रामार्फत नै उनले रेडियो एचबीसीमा हास्यव्यंग्य कार्यक्रम चलाउने अवसर पाए ।

‘मैले पसलमा बसेर रेडियो सुन्थे, मह जोडीका हास्यव्यंग्यका क्यासेट खुब सुन्थे,’ केदार भन्छन्, ‘हास्यव्यंग्यमा अलिअलि रुचि पनि बढ्दै थियो ।’

रेडियोमा हास्य कलाकारका अन्तर्वार्ता लिन थाले, चिनजान बढ्न थाल्यो । यही क्रममा उनले दमन रुपाखेतीसँग नौ महिना अभिनय सिके । त्यतिबेला सन्तोष पन्तको हास्यव्यंग्य सिरियल हिजोआजका कुरा चर्चित थियो, केदारको चिनजान सन्तोष पन्तसँग पनि भयो । पसल श्रीमतीले हेर्ने, केदार सन्तोष पन्तको घरमा ढुक्ने गर्न थाले ।

त्यो बेला हिजोआजका कुरामा खेल्न सन्तोष पन्तको घरमा खुब भीड लाग्थ्यो । एक दिन सन्तोषले केदारलाई भने, ‘सोमबार आऊ ।’
केदार जाँदा मान्छेको भीड थियो । आफूलाई बोलाएकै दिन के भएछ भनी उनी सोच्दै थिए । उनले सोधे पनि, एकजनाले भन्यो, ‘केही भएको होइन, हिजोआजका कुरा खेल्न आउनेहरू हुन् ।’

त्यो दिन केदारले सन्तोष पन्तलाई भेट्नै पाएनन् । तर पनि धाउन छाडेनन् । कैयौँ दिन धाएपछि एउटा डाइलगमा मात्रै बोल्ने दृश्य पाए । त्यसपछि कति दिन पाएनन् । केदार भन्छन्, ‘तर धाउन छाडिनँ । सन्तोषदाइको घरमा पर बसेर सुटिङ हेर्थें, उहाँले मलाई चिन्दिए हुन्थ्यो भन्ने मात्रै लाग्थ्यो ।’

एक दिन सुटिङ हेर्न घरबाहिर बसेका थिए, सन्तोषले घरभित्रै चिया खान बोलाए । ‘अहो, सन्तोष पन्तकहाँ चिया खाने ?’ केदार भन्छन्, ‘खुसीले मेरो भुइँमा खुट्टै भएन ।’

केदार सुटिङ हेर्दै थिए, एक दिन लोडसेडिङका बेला क्यामेराको ब्याट्री सिद्धियो । त्यही बेला केदारले भने, ‘दाइ, मैले ब्याट्री चार्ज गरेर ल्याउँछु ।’

सन्तोष पन्तका छोरा साकार र उनी मोटरसाइकलमा लोडसेडिङ नभएको ठाउँतिर गए, ब्याट्री चार्ज गरेर ल्याए । त्यसपछि केदार सन्तोष पन्तको नजरमा परे । केही भागमा खेल्न पाए, यो ०५९ सालतिरको कुरा हो ।

त्यसपछि जितु नेपालको गीताञ्जली, तीतोसत्य हुँदै जिरे खुर्सानीमा खेले । ०६२ सालतिर साथीहरूसँग मिलेर मेरी बास्सै सिरियल ल्याए । मेरी बास्सैमा उनले निभाएको माग्नेबूढाको चरित्र दर्शकले निकै रुचाए । यसरी नै केदार ‘माग्नेबूढा’को चरित्रमा देशभरि चिनिए ।

पढाइको कथा
एसएलसीपछि केदार पढ्नै भनेर काठमाडौं आएका हुन्, तर केही काम त गर्नैपथ्र्यो । उनी केही गर्नेतिरै लागे र यता पढाइ बिग्रियो । केदार कानुन पढेर देशको सेवा गर्न चाहन्थे । ‘त्यतिबेलाकी बोर्ड फस्र्टको अन्तर्वार्ता टीभीमा हेरें । उहाँले यति शानले भन्नुभयो कि कानुन पढेर देशको विकास गर्छु,’ केदार भन्छन्, ‘लौ पढ्ने त कानुन पो रैछ ।

नेपाल ल क्याम्पसमा भर्ना म्याद सकिएको थियो । त्यसैले वसन्तपुरनजिकैको काठमाडौं बहुमुखी क्याम्पसमा भर्ना भएँ ।’
तर, काम गर्दागर्दै उनको पढाइ अगाडि बढेन । आईएल दोस्रो वर्षमा संवैधानिक कानुन र करार कानुन लाग्यो । केदार भन्छन्, ‘त्यहीबेला हल्ला चल्यो— अब बिए पास गरेर मात्रै एलएलबी भर्ना पाइन्छ । मलाई ब्याक लागिरहेको थियो, कामको चाप । त्यसै–त्यसै पढ्न छाडें ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *