इलाम र अछामबाट निर्वाचन विरोधी २४ जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  

इलाम, १५ मंसिर । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले पछिल्लो पटक नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का १२ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम नगरपालिका–६ का चुडामणि घिमिरे, सूर्योदय नगरपालिका–२ का सुमित खत्री र भारत जलपाइगुडीका सुभाष तामाङ छन् ।

यस्तै पक्राउ पर्नेमा भगवती मावि इलाममा कार्यरत शिक्षिका खिनमाया परियार, डम्बर मगर, संगीता फागो, अर्जुनकुमार थापा, पार्वता बराल, इलाम नगरपालिका–५ की ३२ वर्षीया मुना भन्ने बसुन्धरा कार्की, इलाम नगरपालिका–११ का २७ वर्षीय सञ्जीव फागो, देउमाई नगरपालिका–८ का ६६ वर्षीय मोहन बराल र इलाम नगरपालिका–१ का २६ वर्षीय विशाल राई छन् ।

पक्राउ परेका व्यक्तिविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा रहेर निर्वाचन विरोधी गतिविधिमा लागेको पाइएकाले मुद्दा चलाइएको हो ।

उता, अछाममा पनि निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अछाम प्रहिले १२ जनालाई पक्राउ गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा प्रदान गर्न आफ्ना गतिविधि तीव्र पारेसँगै प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ गरिएका केही व्यक्ति विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको र अन्यको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

अनुसन्धानमा अवरोध उत्पन्न हुनसक्ने भन्दै प्रहरीले पक्राउ गरिएका व्यक्तिका बारेमा कुनै पनि आधिकारिक जानकारी भने दिएको छैन । प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, “ बाह्र जनालाई हामीले पक्राउ गरी अनुसन्धान थालेका छौँ, अनुसन्धानपछि सबै जानकारी गराइने छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *