वाम गठबन्धनका शीर्ष नेता भन्छन्, संविधान संशोधन हुँदैन, तर मधेसमा संविधान संशोधन गर्छौं भन्दै मागिन्छ मत

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर । वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच निर्वाचनपछि संविधान संशोधन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसमा आयोजित चुनावी सभामा संविधान संशोधन गरेर मधेसका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर, एमाले अध्यक्ष केपी ओलीले स्पष्ट रूपमा संविधान संशोधन नगर्ने बताइसकेका छन् । तराई मधेसको समस्या समाधान भइसकेको भन्दै ओलीले कुनै पनि हालतमा संविधान संशोधन नहुने बताएपछि वाम गठबन्धनका उम्मेदवारलाई मत माग्न सकस परेको छ ।

वाम गठबन्धनका मधेस केन्द्रित उम्मेदवारहरू प्रभु साह, मातृका यादव, रामचन्द्र झा, रघुवीर माहासेठलगायत संविधान संशोधन गराउने वाचासहित भोट मागिरहेका छन् । केन्द्रमा शीर्ष नेताहरू एउटा कुरा बोल्ने, स्थानीयस्तरमा नेताहरू अर्कै कुरा गर्ने भएपछि तराई मधेसका जिल्लामा मतदाताहरू अन्योलमा परेका छन् ।

दोस्रो पटकको संविधान संशोधन एमालेकै असहयोगमा पारित हुन सकेको थिएन । नेपाली कांग्रेसले निर्वाचनपछि संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि मधेस केन्द्रित दलहरू स्थानीय र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन मञ्जुर भएका हुन् ।

कांग्रेसका शीर्ष नेताहरूले निर्वाचन प्रचार प्रसारका क्रममा संविधान संशोधन गरेरै तराई मधेसको समस्या समाधान गर्ने बताएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक दलको बहुमत आएमा सरकार गठन गरी संविधान संशोधन गर्ने घोषणा गरेका छन् ।

तर, वाम गठबन्धन गरेपछि हौसिएका एमाले अध्यक्ष केपी ओली निर्वाचनपछि कम्युनिस्ट सरकार बन्ने र त्यसले कुनै हालतमा संविधान संशोधन नगर्ने घोषणा गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *