यी हुन् कांग्रेस, एमाले र माओवादी केन्द्रबाट संसद् जानबाट वञ्चित ठूला नेता

  • 661
  •  
  •  
  •  
  •  
    661
    Shares

काठमाडौं, १९ मंसिर । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अगाडि एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन भएपछि तीन दर्जन ठूला नेता सांसद बन्नबाट वञ्चित भएका छन् । वाम गठबन्धनको असर नेपाली कांग्रेसमा पनि परेको छ ।

२०४८ सालदेखि मुलुकको सत्ता राजनीतिमा प्रभावशाली पकड राख्दै आएका प्रायः सबैजसो नेताहरू चुनावी मैदानमा छन् । तर, केही प्रभाव राख्ने नेता भने सांसद नै बन्न नपाउने अवस्था देखिएको छ । चुनावी मैदानमा एमाले र माओवादीको तुलनामा नेपाली कांग्रेसका केन्द्रीय नेताहरू धेरै छन् । कम्युनिस्ट तालमेल भएका कारण एमाले र माओवादीका धेरैजसो नेताहरू चुनावी रिङबाट बाहिरिन बाध्य भएका हुन् ।

चुनावी रिङबाट नेपाली कांग्रेसका १३ जना मात्रै केन्द्रीय नेता बाहिरिएका छन् । ७५ सदस्य रहेको नपाली कांग्रेसको केन्द्रीय समितिमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार बन्न नपाउने १३ मध्ये कुलबहादुर गुरुङ, कल्याण गुरुङ, धनराज गुरुङ, खुमबहादुर खड्का, नरहरि आचार्य, कमला पन्त, बद्रीप्रसाद पाण्डे, सुरेन्द्र पाण्डे, केशवकुमार बुढाथोकीलगायत छन् । जसमध्ये खड्का अदालतद्वारा भ्रष्टाचार प्रमाणित भएका कारण उम्मदेवार बन्न कानुनी रूपमै अयोग्य सवित भएका हुन् ।

कांग्रेसले केन्द्रीयस्तरका १२ नेतालाई समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । पार्टी कोषाध्यक्ष सीतादेवी यादव, पूर्वकोषध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य बालकृष्ण खाँण, किशोरसिंह राठौर, दिलेन्द्रप्रसाद बडू, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, मीन विश्वकर्मा, पर्वता डिसी चौधरी, बहादुरसिंह तामाङलगायतका नेतालाई समानुपातिकमा राखेको छ ।

एमालेको केन्द्रीय समिति २०१ जनाको छ, जसमध्ये ८८ जना चुनावबाट रिङआउट भएका छन् । रिङआउट हुनेमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा, सल्लाहकार परिषद्का अध्यक्ष केशव बडाल, पोलिटब्युरो सदस्य अग्नि खरेल, काशीनाथ अधिकारी, गंगालाल तुलाधर, प्रदीप नेपाल, बेदुराम भुसाल, महेन्द्र पाण्डे, रघुजी पन्त, श्रीमाया थकाली, विष्णु रिमाललगायत छन्

माओवादी केन्द्रको केन्द्रीय समिति हजारौंजनाको भएकाले कुनै लेखाजोखा छैन । ९५ सदस्यीय सचिवालयलाई नै लेखाजोखा गर्न थालिएको छ । ९५ सचिवालय सदस्यमध्ये २९ जना चुनावबाट रिङआउट भएका छन् । यसरी रिङआउट हुनेमा रामबहादुर थापा, अमिक शेरचन, गोपाल किराँती, नारायण शर्मा पौडेल, लीलामणि पोखरेल, श्रीराम ढकाल, मायाप्रसाद शर्मा, शशी श्रेष्ठलगायत छन् ।

अहिले सांसद बन्न नपाउनेलाई राष्ट्रिय सभा एउटा वैकल्पिक ठाउँ छ । संघीय निर्वाचन सम्पन्न भएसँगै राष्ट्रिय सभा निर्वाचन हुनेछ । राष्ट्रिय सभा ५९ सदस्य रहनेछ । कांग्रेस, एामले र माओवादी केन्द्रका केही नेता राष्ट्रिय सभा सदस्य बन्न पाउनेछन् । तर, त्यहाँ पनि समानुपातिक समावेशी प्रणाली अपनाउनुपर्ने भएकाले धेरै नेता सांसद बन्नबाट वञ्चित हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *