शिवपुजनको रिटमा अन्तरिम आदेश दिनु नपर्ने फैसला, चुनाव लड्न नपाउने

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर । सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा तर्फका वाम उम्मेदवार तथा माओवादी केन्द्र नेता शिवपुजन राय यादवले निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।

उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै परेको रिटमा सर्वाेच्च अदालतले बुधबार अन्तरिम आदेश दिन नपर्ने फैसला सुनाएको छ । यससँगै यादव चुनावमा प्रतिस्पर्धा गर्न अयोग्य ठहरिएका छन्।

बिहीबार दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।

कुटनीतिक राहदानी दुरुपयोगमा अदालतले दोषी ठहर गरेको उजुरी परेपछि बसेको आयोगको बैठकले यादवको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । त्यसपछि मंसिर १२ गते यादवले उक्त निर्णय बदरका लागि अन्तरिम आदेश माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले यादवको माग माग अनुसार अन्तरिम आदेश दिन नपर्ने फैसला सुनाएको हो । सो फैसलासँगै उनी चुनावमा प्रतिस्पर्धा गर्न अयोग्य ठहरिएका हुन् ।

तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट सभासद् हुँदा कूटनीतिक राहदानी (रातो पासपोर्ट) दुरुपयोग गरेको आरोपमा यादवलाई विशेष अदालतले १५ हजार रुपैयाँ जरिवाना र कैदको सजाय सुनाएको थियो । निर्वाचन ऐनमा कुनै पनि उम्मेदवारको चरित्र नैतिक पतन भएको नदेखिएको, सार्वजनिक मुद्दामा सजाय नपाएको हुनुपर्ने कानुनी व्यवस्था छ । सोही आधारमा निर्वाचन आयोगले रायको उम्मेदवार खारेज गरेको थियो ।

चुनावको मुखैमा राजपाबाट माओवादी केन्द्र प्रवेश गरी सर्लाही ४ बाट उम्मेदवार बनेका यादवको उम्मेदवारी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा १३ (घ) अनुसार रद्द गरिएको आयोगले बताउँदै आएको छ ।

राहदानी दुरुपयोगको मुद्दामा पाँचमध्ये विशेष अदालतले गायत्री साह, विश्वनाथ यादव र शिवपुजन पनि दोषी ठहर गरेको थियो । २०७२ साउन २६ गतेको उक्त फैसलाको पुनरावेदन सर्वोच्चमा विचाराधीन छ । विशेषले शिवपुजनलाई चार महिना जेल र १५ हजार जरिवाना हुने आदेश गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *