निर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गर्न अपिल

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर । दोस्रो चरण अन्तर्गत बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरेर बिहीबार ४५ जिल्लामा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

बिहीबार बिहान ७ बजेदेखि मतदान कार्य सुरु हुनेछ । साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएपनि ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेकाले मतदान गर्न पाउने आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवकाअनुसार बिहीबार प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । जसका लागि ७ हजार ७ सय ५२ मतदानस्थलमा सुरक्षाकर्मीबाहेक १ लाख ५५ हजार कर्मचारीहरु पुगिसकेका छन् । उनीहरुले बिहीबार हुने निर्वाचनका लागि सबै तयारी पूरा गरेको यादवले जानकारी दिए । १५ हजार ३ सय ४४ मतदान केन्द्रबाट १ करोड २२ लाखभन्दा बढी मतदाताले बिहीबार आफ्नो जनप्रतिनिधि चयन गर्नेछन् ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त यादवले मुलुकका केही ठाउँमा भएका छिटफुट घटनासँग नडराई मतदानमा सहभागी हुन मतदातादाई आग्रह गरे । उनले मतदानमा सहभागी भई नेपाललाई दीगो आर्थिक विकास र समृद्धिको मार्गमा लैजाने कार्यमा योगदान गर्न मतदातामा आग्रह गरे ।

यता गृहमन्त्रालयले सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारेकाले ढुक्क भएर मतदान गर्न मतदातामा अपिल गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना तैनाथ गर्दै सुरक्षा व्यवस्था मजबुद पारिएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार दोस्रो चरणमा निर्वाचन हुन लागेका ४५ जिल्लाहरु

प्रदेश नं १ : इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी
प्रदेश नं २ : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट
प्रदेश नं ३ : सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर
प्रदेश नं ४ : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वत
प्रदेश नं ५ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया
प्रदेश नं ६ : सल्यान, सुर्खेत र दैलेख
प्रदेश नं. ७ : कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी

यसैबीच, पहिलो चरण अन्तर्गत यही मंसिर १० गते ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन भएको थियो । ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ सिट र प्रदेशसभाका ७४ सिटका लागि भएको निर्वाचन करिब ३१ लाख ९१ हजार ९४५ मतदाताले ४ हजार ४ सय ६५ मतदान केन्द्रबाट मतदान गरेका थिए ।

मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्ला :

प्रदेश नं १ : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ
प्रदेश नं ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप
प्रदेश नं ४ : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,
प्रदेश नं ५ : रूकुम (पूर्वी भाग) र रोल्पा
प्रदेश नं ६ : रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,
प्रदेश नं. ७ : दार्चुला, बझाङ, बाजुरा र बैतडी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *