शान्तिपूर्ण वातावरणमा मतदान सुरु, सुरक्षा व्यवस्था कडा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ मंसिर । दोस्रो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ । कडा सुरक्षाकाबीच शान्तिपूर्ण वातावरणमा अहिले ७ बजेबाट ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको हो ।

यसअघि भएका बम विस्फोट र उम्मेदवार लक्षित सांघातिक आक्रमणलाई मध्यनजर गर्दै सरकारले मतदानस्थल र मतदाताहरुलाई उच्च सुरक्षा प्रदान गरेको जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा म्यादी प्रहरीले ७ हजार ७ सय ५२ मतदानस्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रसहित मतदातालाई सुरक्षा प्रदान गरेको गृहमन्त्रालयले जनाएको छ । साथै हवाइ गस्ति समेत गरिने बताइएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि १२८ सिट र प्रदेशसभा सदस्यका लागि २५६ सिटका लागि १ करोड २२ लाखभन्दा बढी मतदाताले आज आफ्नो प्रतिनिधि चयनका लागि मतदान गरिरहेका हुन् । निर्वाचन आयोगकाअनुसार सुरक्षाकर्मीबाहेक १ लाख ५५ हजार कर्मचारीहरु मतदान कार्यमा खटेका छन् ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मुलुकका केही ठाउँमा भएका छिटफुट घटनासँग नडराई मतदानमा सहभागी हुन मतदातादाई आग्रह गरेका छन् । उनकाअनुसार बिहीबार बिहान ७ बजेदेखि मतदान कार्य सुरु भई साँझ ५ बजेसम्म चल्ने, तर ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेकालाई भने मतदान गर्न दिइनेछ ।

यता गृहमन्त्रालयले सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारेकाले ढुक्क भएर मतदान गर्न मतदातामा अपिल गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना तैनाथ गर्दै सुरक्षा व्यवस्था मजबुद पारिएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

अहिले निर्वाचन भइरहेका ४५ जिल्लाहरु

प्रदेश नं १ : इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी
प्रदेश नं २ : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट
प्रदेश नं ३ : सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर
प्रदेश नं ४ : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वत
प्रदेश नं ५ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया
प्रदेश नं ६ : सल्यान, सुर्खेत र दैलेख
प्रदेश नं. ७ : कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी

यसैबीच, पहिलो चरण अन्तर्गत यही मंसिर १० गते ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ सिट र प्रदेशसभाका ७४ सिटका लागि मतदान भएको थियो । तर, मतगणना भने आजबाट हुने आयोगले जनाएको छ ।

मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भएका ३२ जिल्ला :

प्रदेश नं १ : सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ
प्रदेश नं ३ : नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप
प्रदेश नं ४ : मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा,
प्रदेश नं ५ : रूकुम (पूर्वी भाग) र रोल्पा
प्रदेश नं ६ : रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा,
प्रदेश नं. ७ : दार्चुला, बझाङ, बाजुरा र बैतडी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *