काठमाडौँका चर्चित नेताले गरे मतदान, ललितपुरका सबै उम्मेदवारले आफूलाई भोट हाले

  • 295
  •  
  •  
  •  
  •  
    295
    Shares

काठमाडौँ, २१ मंसिर ।  आज बिहान ७ बजेदेखि शुरू भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ जिल्लाका स्थानीयबासी नेताले विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले बिहान ८ बजेर ५ मिनेटमा स्काइलार्क स्कुल धापासीबाट मतदान गरे । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पकनाजोलस्थित नेपाल युवक माविबाट ८ः४० मा मतदान गरे ।

एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले इचङ्गु पञ्चधारा मतदान केन्द्रबाट मतदान गरे । रक्षामन्त्री भीमसेनदास प्रधानले बिहान ७ः३० मा कामपा—२७ वडाअन्तर्गत ज्याठाको छुस्याबहाल मतदान केन्द्रबाट मतदान गरे ।

त्यसैगरी, नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रमा बिहान ८ः३० मा मतदान गरे । काठमाडौँ क्षेत्र नं ८ का उम्मेदवार नवीन्द्रराज जोशीले ढोकाटोलमा रहेको अरुणोदय मावि मा मतदान गरे । काठमाडौँ क्षेत्र नं ९ का उम्मेदवार ध्यानगोविन्द रञ्जितले काठमाडौँ महानगरपालिकामा रहेको जैशीदेवलको मतदान केन्द्रमा गएर मतदान गरे ।

एमालेका युवा नेता डा राजन भट्टराईले काठमाडौँ क्षेत्र नं ४ मा पशुपति बहुमूखी क्याम्पस, चावहिल केन्द्रबाट तथा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ललितपुरको भैँसेपाटीस्थित महिलाघर मतदान केन्द्रबाट मतदान गरे ।

संघीय समाजवादी फोरम नेपालका सहसअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाः राष्ट्रिय मावि, ढल्को, छत्रपाटी मतदान केन्द्रबाट मतदान गरे । उनले काठमाडौँ क्षेत्र नं ७ को समानुपातिक उम्मेदवार हुन् ।

यस्तै, काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभाका उम्मेदवार राजन केसीले भने काठमाडौँ क्षेत्र नं ८ मा रहेको सोल्टीमोड मतदान केन्द्रबाट मतदान गरे । युवा तथा खेलकुद मन्त्री समेत रहनुभएका केसीको पुख्र्यौली घर चोभारमा भए पनि उनको मतदाता नामावली भने काठमाडौँ क्षेत्र नं ८ मा रहेको छ ।

त्यस्तै, काठमाडौँ क्षेत्र नं १० का वाम गठबन्धनका उम्मेदवार हितमान शाक्यले काठमाडौँ क्षेत्र नं ९ मा रहेको चन्द्रागिरी नगरपालिका–९ मा रहेको मतदान केन्द्रबाट मतदान गरे ।

ललितपुरका सबै उम्मेदवारले आफूलाई भोट हाले

 ललितपुर जिल्लामा ठूला दलका सबै उम्मेदवारले आफूलाई भोट हालेका छन् । प्र्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवाको मतदाता नामावलीमा नाम आफू उम्मेदवार भएको क्षेत्र (प्रतिनिधिसभा र प्रदेशसभा) हुँदा आफैँलाई भोट हाल्न पाएका हुन् ।

संविधानसभा–२ मा आफैँलाई भोट हाल्न नपाउनुभएका नेपाली काँग्रेसका उम्मेदवार अर्थराज्यमन्त्री उदयशमशेर राणाले यसपटक भने आफूलाई भोट हालेका हुन् । उनले बिहान बाग्मती गाउँपालिकामा पर्ने घुसेलको घुसेल माध्यमिक विद्यालय केन्द्रमा मतदान गरे । उनले यसअघि कुपण्डोलमा मतदान गर्दै आएका थिए ।

वाम गठबन्धनबाट उम्मेदवार बनेका पूर्व डिआइजी नवराज सिलवालले गोदावरी नगरपालिका–३ मा रहेको किटिनी उच्च माध्यमिक केन्द्रमा बिहान ७ बजे मतदान गरे ।

क्षेत्र नं ३ का दुई उम्मेदवारले एकै मतदानस्थलबाट मतदान गरे । माओवादी केन्द्रकी प्रवक्तासमेत रहनुभएकी क्षेत्र नं ३ की वाम गठबन्धनकी उम्मेदवार पम्फा भुसाल र नेपाली काँग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले राजतीर्थ (सामुदायिक भवन) बाट मतदान गरे ।

प्रतिनिधिसभा क्षेत्र नं २ का काँग्रेस उम्मेदवार चन्द्र महर्जनले ललितपुर महानगरपालिका–४ मा रहेको भोलाढोका केन्द्रबाट मतदान गरे । एमालेका उम्मेदवार कृष्णलाल महर्जनले च्यासलको श्रमिक शान्ति उच्च माविबाट मतदान गरे ।

प्र्रदेशसभातर्फ क्षेत्र नं १ क का काँग्रेस उम्मेदवार मीनकृष्ण महर्जनले चापागाउँको बज्रबारही उच्च मावि केन्द्रबाट र एमालेका उम्मेदवार चेतनाथ सञ्जेलले चापागाउँकै वाणी विलास उच्च माविबाट मतदान गरे । प्रदेश ख मा ऋषि घिमिरेले चन्दनपुरको कालेश्वरी माविमा र माओवादी केन्द्रकी लालकुमारी पुनले भारदेउको कालेश्वरी उच्च माविमा मतदान गरे ।

क्षेत्र नं २ क र ख का उम्मदवार पवनविक्रम थापाल इमाडोलको महेन्द्रग्राम मावि र प्रेमकृष्ण महर्जनले मङ्काखल मतदान गरे । एमालेका प्रदेशका उम्मेदवार माधव पौडेलले लामाटार वडा कार्यालय र ज्ञानेन्द्र शाक्यले महापालको बुबहालमा मतदान गरे ।

प्रदेशसभा ३(क) मा काँग्रेसका नवराज महतले नखिपोटको खेल मैदान र शिवराम महर्जनले भैँसेपाटीको जनउदय माविमा मतदान गरे । प्रदेशसभाका उम्मेदवार एमालेका जीवन खड्काले भैँसेपाटीको महिला भवन र माओवादी केन्द्रका राजकाजी महर्जनले सुनाकोठी वडा कार्यालयमा मतदान गरेका थिए ।

जिल्लामा तीन प्रतिनिधिसभा सदस्यका लागि ४७ जनाको र छ प्रदेशसभा सदस्यका लागि ६३ जनाको उम्मेदवार चुनावी मैदानमा छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *