काँग्रेस शीर्ष नेताको आशीर्वाद लिएर मतदान गरे – मन्त्री पाण्डे

  •  
  •  
  •  
  •  
  •  

चितवन, २१ मंसिर । वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले नेपाली काँग्रेसका सभापतिसहितका शीर्ष नेताको टेलिफोनमा आशीर्वाद लिएर मतदान गरेको बताएका छन् । भरतपुर महानगरपालिका–२७ स्थिर जानकी उच्च मावि मतदान केन्द्रबाट मतदानपछि आज प्रतिक्रिया दिँदै उनले आफू यस क्षेत्रबाट नेपाली काँग्रेसको समर्थनमा उम्मेदवार भएकाले काँग्रेस नेताको आशीर्वाद लिएर मतदान गरेको बताए ।

चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका पाण्डे राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष हुन् । उनले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालासँग टेलिफोनमा आशीर्वाद लिएर मतदान गरेको बताए ।

उनले राप्रपा, काँग्रेससँगै नेकपा (एमाले) र माओवादीकै मत पनि आफूलाई आउने दाबी गरे । उनसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि चुनावी प्रतिस्पर्धामा छन् । मन्त्री पाण्डेले आजको यो क्षण ऐतिहासिक भएको भन्दै आम जनतालाई आफ्नो अधिकार निर्धक्क भएर प्रयोग गर्न आग्रह गरे । उनले कसैको लोभलालचमा नपरी आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न पनि आह्वान गरे ।

सरकार निष्पक्ष, धाँधलीरहित निर्वाचन गर्न प्रतिबद्ध रहेको भन्दै मन्त्री पाण्डेले आम जनताको साथ र समर्थनबाट निर्वाचन सफल हुने बताए । उत्सवको रुपमा मतदानमा सबै सहभागी हुन उनले आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा आग्रह गरे ।आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्दै उनले घोषणाको प्रक्रिया मात्रै बाँकी रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *