एक सय पाँच वर्षीयदेखि एक सय पन्ध्र वर्षीया वृद्धाद्वारा मतदान

  •  
  •  
  •  
  •  
  •  

कञ्चनपुर, २१ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका ११५ वर्षीया जंगलीदेवी चौधरीको मतदान गर्ने धोको पूरा भएको छ । उनले आज घर नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् ।

उनका नाति जितबहादुर चौधरीले बोकेर उनलाई मतदान केन्द्रसम्म पुर्‍याई मतदान गराएका थिए ।  पञ्चायतकालदेखि गरी हालसम्म ११औँ पटक मतदान गरेको वृद्धा चौधरीले बताए । “देशमा शान्ति आउनुपर्छ गरिब जनतालाई हेर्ने उम्मेदवारलाई मतदान गरेको छु”, उनले भने, “कसैको दबाबमा नपरी मतदान गरेको छु ।”

उनी जस्तै १०५ वर्षको उमेरमा मतदान गर्न मतदान केन्द्रमा आइपुगेका तुलसीदेवी ऐरले विकास गरी देशलाई समृद्धिमा पुर्‍याउने उम्मेदवारलाई मतदान गरेको बताए । शुक्लाफाँटा नगरपालिका–११ को सरस्वती माविमा रहेको मतदान केन्द्रमा उहाँले मतदान गरेका हुन् ।

उनका नाति वीरेन्द्र ऐरले बज्यैले अन्तिम पटक मतदान गरी देशलाई गति दिने उम्मेदवारलाई मतदान गर्छु भन्ने हठ गरेपछि मतदान केन्द्रमा मोटरसाइकलमा बोकेर ल्याई मतदान गराएको बताए ।  सोही मतदान केन्द्रमा ११० वर्षीया जसुदेवी ऐरले समेत मतदान गरिन् ।

मतदान गर्न आइपुगेका वृद्ध ऐरले वृद्ध भत्ता दोब्बर बनाउने अश्वासन दिएका उम्मेदवारलाई मतदान गरेको बताए । उनका बुहारी बिष्नादेवी ऐरले मतदान गर्न धेरै कर गरेपछि उहाँलाई मतदान गराउन ल्याइएको बताइन् ।  नगरपालिकाकै वडा नं १० मा रहेको श्रीकृष्ण माविमा रहेको मतदान केन्द्रमा दृष्टीविहीन ७० वर्षीय फक्का डगौराले समेत मतदान गरे । उनीलगायत तीनजना दृष्टीविहीनले मतदान गरेको मतदान अधिकृत हिक्मतराज जोशीले बताए । सोही केन्द्रमा क्रियापुत्री नेत्रराज जोशीले समेत मतदान गरे । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *