उत्साहजनक रुपमा निर्वाचन सम्पन्न, मतगणना आजैबाट

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ मंसिर । निकै चिन्ता र भयकाबीच दोस्रो चरण अन्तर्गतको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पन्न भएको छ । कडा सुरक्षाकाबीच केही अपवाद छाडेर शान्तिपूर्ण वातावरणमा बिहीबार ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको हो । बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य अधिकांश केन्द्रमा सम्पन्न भएको छ भने केही केन्द्रमा अहिले पनि चलिरहेको छ । ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदान गर्न दिइएको हो ।

प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी र प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहटमा बिहीबार निर्वाचन भएको हो ।

यसैगरी, प्रदेश नम्बर ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर र प्रदेश नम्बर ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा, पर्वत तथा प्रदेश नम्बर ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची गुल्मी जिल्ला पनि उत्साहजनक रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै प्रदेश नम्बर ५ का रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया तथा प्रदेश नम्बर ६ का सल्यान, सुर्खेत र दैलेखसहित प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डडेलधुरा, अछाम र डोटीमा बिहीबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको हो ।

उक्त जिल्लामा बिहीबार प्रतिनिधिसभा तर्फका १२८ र प्रदेशसभाको १५६ सिटका लागि निर्वाचन भएको हो । ७ हजार ७ सय ५२ मतदानस्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रसहित निर्वाचन भएका जिल्लामा उच्च सुरक्षा प्रदान गरिएको थियो, जसले कुनै अप्रिय घटना बिना नै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भयो । तर, केही स्थानमा झडप र हवाइ फायर भएपनि मानवीय र भौतिक क्षति हुने गरी कुनै अप्रिय घटना भने भएन । बिहीबार भएको निर्वाचनमा मतदाताहरुको उत्साहजनक सहभागिता देखियो, वृद्धवृद्धादेखि किरियापुत्री समेत मतदानमा सहभागी भए ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमले निर्वाचन हुँदैन कि भन्ने विपक्षी दलहरुको आशंका चिर्दै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले निकै शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएको छ । निर्वाचन अघि भएका हिंसात्मक घटनाले निर्वाचन हिंसात्मक हुन सक्ने भयलाई चिर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धानले सुरक्षा व्यवस्था कडा पारेका थिए भने हवाइ गस्ती समेत गरिएको थियो ।

यसअघि यही मंसिर १० गते पहिलो चरण अन्तर्गत ३२ जिल्ला सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, रूकुम (पूर्वी भाग), रोल्पा, रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडीका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन भएको थियो । पहिलो चरणमा सम्पन्न निर्वाचनको मतपेटिका जिल्ला सदरमुकाममा उच्च सुरक्षा प्रदान गरि राखिएको छ ।

मतगणना आजैबाट

पहिलो चरणमा सम्पन्न भएका ३२ जिल्लाहरुमा आजैबाट मतगणना गरिने भएको छ । ति जिल्लामा बसेको सर्वपक्षीय बैठकले आजैबाट मतगणना गर्ने निर्णय गरिसकेको छ ।

यस्तै आज सम्पन्न दोस्रो चरणको निर्वाचनको पनि मतगणना पनि आजैबाट गर्ने तयारी गरिएको छ । मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि बस्ने सर्वपक्षीय बैठकले मतगणनाबारेमा निर्णय गर्नेछ । तर, आजैबाट मतगणना गर्ने तयारी भने निर्वाचन आयोगले गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *