दयाहाङ भन्छन्, ‘मिस्टर झोले पेन्डुलमहरुको कथा भएको चलचित्र हो, चल्नैपर्छ भन्ने छैन’ (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

इन्दु पाण्डेय

काठमाडौं, १२ पुस । अहिलेका चर्चित नायक हुन् दयाहाङ राई । रंगमञ्चबाट सिनेमामा प्रवेश गरेका राईलाई चलचित्र खेल्न भ्याइ नभ्याई छ । उनले अभिनय गरेका एक पछि अर्को चलचित्र प्रदर्शनको पर्खाइमा छन् । त्यसैमध्येको एक हो मिस्टर झोले ।

‘मिस्टर झोले’ कमेडी जनराको चलचित्र हो । दयाहाङको यसमा मुख्य भूमिका रहेको छ । ‘यसले दर्शकलाई पूर्ण मनोरञ्जन दिन्छ । यो चलचित्रमा सामान्य मान्छेहरुको कथा छ,’ आफ्नो भूमिकाबारे दयाहाङ भन्छन्, ‘समाजका पेन्डुलम पात्रहरु जसको कुनै सपना पनि छैन, आफु र समाजसँग सन्तुष्ट पनि छैनन्, त्यस्ता पात्रहरुको कथा यो चलचित्रमा छ ।’

चलचित्रमा ‘पूर्णे’ नामको पात्र उनले निभाएका छन् । ‘पूर्णे मात्र होइन सबै समाजलाई विश्वास नगर्ने पात्र छन् । उनीहरु विद्रोहीपनि हैनन् र समाजमा केही गरौं भन्ने पनि छैन,’ चलचित्रका पात्रबारे दयाहाङले थपे ।

यसअघि आएको चलचित्र ‘झोले’ बाट नाम मात्रै सापाटी लिइएको तर कथा भने फरक हरको उनको भनाई छ ।  उनले ‘मिस्टर झोले’ राम्रो चलचित्र बनेको दावी गरे । ‘चलचित्र राम्रो बनेको छ । तर यसको मतलब चल्नै पर्छ भन्ने छैन,’ उनी भन्छन्, ‘चलचित्र राम्रो चल्यो र निर्माताको लगानी उठ्यो भने हामी खुसी हुनेछौं ।’

चलचित्रमा दयाहाङसँगै बर्षा राउत, वुद्धी तामाङ, दिया पुन लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । टेकन खड्काले निर्माण गरेको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

गुरुङ समाजिक घटना र पात्रहरुलाई चलचित्रमा जस्ताको त्यस्तै उतार्ने निर्देशक हुन् । जुन कुरा उनले यसअघि निर्देशन गरेका ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ चलचित्रले पुष्टि गरिसकेका छन् । ‘मिस्टर झोले’ पुस २८ गतेबाट रिलिज हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments