अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्ने अभिनेत्री दिया पुनको इच्छा (भिडियो)

  • 186
  •  
  •  
  •  
  •  
    186
    Shares

इन्दु पाण्डेय

काठमाडौँ, १७ पुस । अभिनेत्री दिया पुनले अभिनेता अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्ने इच्छा रहेको बताएकी छन् । मिडिया एनपीसँग कुरा गर्दै उनले एउटै चलचित्रमा अनमोल केसीसँग काम गर्ने इच्छा रहेको बताएकी हुन् । ‘अनमोल केसीसँग काम गर्ने इच्छा छ’, उनी भन्छिन्, ‘जोडी मिल्छ कि मिल्दैन थाहा छैन ।’

‘विर विक्रम’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी दियाले हालसम्म चारवटा चलचित्रमा खेलिसकेकी छन् । तर, उनी यस क्षेत्रमा झुक्किएर आएको बताउँछिन् । ‘ चलचित्र क्षेत्रमा आउने सोचै थिएन, झुक्केर आएँ’, उनले थपिन्, ‘तर, मलाई फिल्म हेर्न भने एकदमै मन पर्छ ।’
अभिनय मार्फत स्क्रिप्टलाई जीवन्त उतार्न निकै कठिन र मिहेनत गर्नुपर्ने बताएकी उनले लगाव र मिहेनत भएमा सबै कुरा सम्भव रहेको अनुभव सुनाइन् ।

चलचित्र क्षेत्रमा काम गर्नेहरु ‘ओपन माइन्डेड’ हुनु पर्ने तर्क गरेकी अभिनेत्री दियाले यस क्षेत्रमा सकारात्मकसँगै नकारात्मक हल्ला धेरै हुने भएकाले चुनौतीपूर्ण रहेको जानकारी दिइन् ।

अविवाहित रहेकी उनी तत्काल विवाह गर्ने सोचमा नरहेको आसय व्यक्त गरिन् । विवाहपछिको जीवन र चलचित्र क्षेत्रमा काम गर्न सँगसँगै असम्भव ठानेकी उनी अहिले चलचित्र क्षेत्रमै लाग्ने बताइन् । ‘बिहे र कामलाई सँगसँगै गर्न सक्दिन, अहिले म मेरो कामलाई नै प्राथमिकता दिन्छु’, उनी भन्छिन् । भावी योग्य वर अनुहार भन्दा पनि राम्रो बानी ब्यहोरा र मन मिल्ने खालको हुनुपर्ने उनको शर्त छ ।

उनी अभिनित ‘मिस्टर झोले’ यही पुस २८ गते प्रदर्शनमा आउन लागेको छ । यसैको प्रचार प्रसारमा रहेकी अभिनेत्री दियाले मिस्टर झोलेमा ‘नानुको भूमिका’ निर्वाह गरेको जानकारी दिइन् । उनले भनिन्, ‘मिस्टर झोलेमा नानुको रोल निभाएकी छु, बोल्ड क्यारेक्टर छ ।’

सो चलचित्रको सुटिङका क्रममा भएका रमाइला अनुभव सुनाउने क्रममा उनले कलाकारलाई कोदालो र कचौराले हिर्काएको बताइन् । सुटिङका बेला अभिनेता दयाहाङ राईलाई कोदालो र प्रविन खतिवडालाई कचौराले साँच्चिकै हिर्काएको उनको भनाइ छ । ‘मिस्टर झोले’मा साधारण व्यक्ति, कुनै लक्ष्य नभएका पेन्डुलम पात्रले गर्ने माया, पैसाको लागि गरिएको संघर्षको कथा समेटिएको दियाले जानकारी दिइन् ।

बाबुराम गुरुङले निर्देशन गरेको चलचित्र ‘मिस्टर झोले’मा दयाहाङ राई, बर्षा राउत, दिया पुन, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रविन खतिवडा, विजय बराल, अरुणा कार्की, कमलमणि नेपाल, सरोज अर्याल, निरु खड्कालगायत कलाकारको अभिनय रहेको छ ।

तस्विर/ भिडियो : श‌ंकर गिरी /मिडिया एनपी

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments