राजनितिबाट ठगिएकी उत्प्रेरक व्यक्तित्व

  • 78
  •  
  •  
  •  
  •  
    78
    Shares

अनमीनले अयोग्य लडाकु घोषित गरेकी मीरा राइले अल्ट्रा म्याराथुन मार्फत नेपालको शिर उठाइरहेकी छन् । नेसनल जोग्राफिक च्यानलको ‘एड्भेन्चर्स अफ दि इयर २०१७’ सहित उनको हातमा अहीले ९ वटा अन्र्तराष्ट्रिय अवार्ड छन् । नेपालमा त उनले २८ लाख नगद सहितको सम्मान पाइ सकेकी छन । मीराको जीवन भोगाइ र संघर्षको बारेमा बिदेशीले फिल्म पनि बनाएका छन् । एउटा फिल्म, वल्र्ड टुर २०१७ को निम्ती छनौंटमा परेको छ । र यो फिल्म अहीले बिश्वका बिभिन्न ४० देशमा १ हजार भन्दा बढि पटक प्रदर्शन हुदैछ । अभाबका बिच हुर्केकी र राजनितिबाट ठगिएकी मीराको जीवन भोगाइ निकै उत्प्रेरक छ ।

नदीको बगाइसँगै बगेको ढुङ्गा ठोकीएर र घोटिएर चिल्लिन्छ । चिल्लिएर जब निश्चित आकारमा आउँछ, उज्यालीन्छ, त्यसलाइ शालीग्राम भनिन्छ र ‘देवता’ सरह सम्मान गरिन्छ । मीरा राई पनि त्यसरीनै जीवनको दौडमा ठक्कर खाँदै दौडिएर अहीले सम्मानीत भएकी छन् । उनी भोजपुरको बिकट गाँउ सानोदुम्माको घोर्लीबन भन्ने ठाँउमा बुवा सुकबहादुर र आमा पम्फारानी राईको कोखबाट २०४६ सालमा जन्मेकी हुन् । सामान्य किसान परिवारमा जन्मेकी मीरा बुवाआमाको काम सघाउदै बढिन् । गाँउकै स्कुलमा पढीन् ।

बढ्दै र पढ्दै जाँदा उनको मनमा अनेक कुराहरु खेल्न थाले । बिहान बेलुका खानकै लागि बुवा आमा मेलापात हीडेको देखेपछि खेताला जानु र खानु मात्रै जिवन हो त भन्ने लाग्न थाल्यो । रातदिन मिहिनेत गर्दा पनि खान नपुगेको थाहा पाए पछि आफु पनि केही गर्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो । मीराको मनमा यस्ता कुरा आएको बेला माओबादीको शसस्त्र आन्दोलन उत्कर्षमा थियो । उनी पढ्ने स्कुलमा माओबादी कार्यकर्ता सांस्कृतिक कार्यक्रम लिएर पुग्थे, भाषण गर्थे । घरको गरिबीले घचेटी रहेको बेला मीरालाइ माओबादीका गीत र भाषणले तान्न थाल्यो ।

घरको नाजुक आर्थीक अबस्थालाइ केही सुधार्न सकिने र समाजकालागि पनि केही योगदान गर्न सकिने ठानेर १६ बर्षको उमेरमा उनी २०६२ साल कार्तिकमा माओबादीको पुर्णकालीन कार्यकर्ता भइन । त्यतिबेला उनी ८ कक्षामा पढ्दै थिइन् । पढाइ छोडेर माओबादीमा लागेका बेला देशमा संकटकाल थीयो । राजाको प्रत्यक्ष सासन थियो । माओबादीलाइ आतंककारी भनिन्थ्यो । आतंककारीका नाममा जाँहा जुनसुकै बेला मारीन सक्ने खतरा थीयो । तर यी सबै जोखिमका बिच पनि कम्ब्याटमा सजिएका माओबादी सेनासंगै मीरा रमाउन थालीन् । पढ्दा पढ्दैकी मीराको हातमा कलमको सट्टा अब बन्दुक पर्‍यो । उनी बन्दुकसंग पनि रमाइन् । युद्धका अभ्यासहरु गरिन् । तर युद्धमा जानु र कसैलाइ ताकेर गाली चलाउनु परेन् ।

मीरा माओबादी सेनामा गएको केही समयपछिनै देशमा शान्ति प्रकृया सुरु भयो । राजाको सासन अन्त्य भएर जनप्रतिनिधिले सासन गर्न थाले । युद्धबिराम भयो । माओबादी नेता र सरकार बिच बार्ता अघि बड्यो । बार्ता सुरु भएपछि माओबादीका सेनालाइ शिबीरमा राखीयो । मीरा २ नम्बर डिभिजन अन्र्तगत बेलसोत सहायक सिबीरमा पुगिन् । युद्ध सम्झौतामा टुगिदै गरेकाले युद्ध लडेका माओबादी सेनालाइ पनि देशको सरकारी सेनामा समायोजन गर्ने प्रकृया सुरु भयो । मीरालाइ पनि सरकारी सेना भएर देशको सुरक्षामा खटीने रहर बढ्यो । यही रहरमा उनीहरुले चुरोका बाँस चुइ चुइ बोकेर सिबीर बनाए । त्यही बसेर रमाए ।

शिबीरमा बस्न थाले पछि उनीहरु कमाण्डरसंग बिदा मागेर घर पनि जान्थे । एक हप्ताकालागि भन्दै घरबाट निस्केकी मीरा पनि शिबीरमा बस्न थालेपछि घर गइन । घर पुग्दा मीरालाइ थाहा भयो, उनले घर छोडेपछि आमाले आत्महत्याको समेत प्रयास गर्नु भएछ । माओबादी आन्दोलनमा हुदा सम्पर्क बिहीन रहेकी मीराले जब यो कुरा सुनीन् । उनलाइ नीकै दुःख लाग्यो । दमकमा २८ लाख नगद सहितको सम्मान थापेको भेली पल्ट इटहरीमा हामीसंग भेट हुदा नीकै हसिलो रुपमा प्रस्तुत भइरहेकी मीरा यो प्रसंग सुरु हुनासाथ भाबुक भइन् ।

मीरा एक दिन मात्र घर बसेर फेरी सिबीरमा फर्कीन् । सारा दुःख बिर्सेर उनी सुन्दर भबिष्य सम्झीन थालीन् । शीबीरमा व्यक्तित्व विकासका लागि खेलकुदलगायत बिभिन्न गतिविधि हुन्थे । बाहिरबाट प्रशिक्षक झिकाएर तालिम दिइन्थ्यो । मीरा पनि सिबीर भित्र हुने खेलकुदमा सहभागी हुन थालीन् । त्यही बेला कराँते प्रशिक्षक ध्रुबबिक्रम मल्लसंग उनको भेट भयो । गुरु, कमाण्डर र साथीहरुसंग मिलेर उनले सके सम्म समयलाइ सदुपयोग गरिन् ।

सरकार र तत्कालीन बिद्रोही माओबादी बिच सम्झौताको बिषय भएकाले स्वतन्त्र निकायको रुपमा अनमीन आएको थियो । माओबादी सेनाको प्रमाणीकरण र समायोजनको चरणमा अनमीनले मीरालाइ अयोग्य लडाकु घोषित गरिदियो । सरकारी सेना बनेर देशको शुरक्षामा खटीने उत्साहका साथ शीबीरमा बसि रहेका बेला मीराले अयोग्य लडाकुको ट्याग पाइन् । कीन अयोग्य भइन मीरालाइ कसैले थाहा दिएन् । स्थानीय कमाण्डरले दश हजार रुपीया बाटो खर्च दिएर मीरालाइ बिदा गरे ।

परिबारको आर्थीक अबस्था पनि सुधार गर्ने र देशकालागि पनि कही गर्ने संकल्प सहीत माओबादी आन्दोलनमा लागेकी मीरा अयोग्य लडाकुको ट्याग सहित शीबीरबाट बाहीर निस्कीन् । मीरालाइ अयोग्य भए भन्दै घर फर्कन मन लागेन् । उनी त्यही केही गर्ने कोसीसमा लागिन् । आफु जस्तै अयोग्य घोषित साथीहरुसंगै बस्न थालीन् । त्यतिबेला सरकारले अयोग्य लडाकुलाइ भन्दै बिभिन्न ब्यबसायीक तालीमको प्याकेज ल्याएको थियो ।

उनी ओरेकले सन्चालन गरेको १८ महीने कृर्षि तालीममा सहभागी भइन् । संगसंगै उनले एसएलसि पनि पास गरिन् । एसएलसि पास गरेर कृर्षि प्राबिधिकको तालीम लिए पनि मीरा कृर्षि तर्फ आकर्षीत भइनन् । कमाउने र रमाउने उमेरकी मीरा अन्यौलमा परीन र माओबादी सेनामा हुँदा चीनेका उनै कराँते प्रशिक्षक ध्रुब बिक्रम मल्लको सम्पर्कमा पुगिन् । खेलकुदमा मीराको राम्रो संभावना देखेका मल्लले काठमाण्डौको बालाजुमा बस्ने र रंगसालामा खेल अभ्यास गर्ने ब्यबस्था गरिदिए । तर बालाजुबाट रंगसाला जान पनि मीरासंग पैसा भएन् । दैनिक १५ रुपीया गाडी भाडा पनि नभएपछि मीरा बालाजु तिरै खेल्ने दौडीने गर्न थालीन् । मल्लकै आश्रयमा बसेर उनले कराँतेको ब्ल्याक बेल्ट लिइन् ।

ब्ल्याक बेल्ट भए पनि उनको आर्थीक अबस्थामा सुधार आउन सकेको थिएन् । उनले पैसा कमाउन केही न केही गर्नै पर्ने अबस्था थियो । मीराको आर्थीक संकट देखेका एक जना साथीले उनलाइ मलेसिया जान सल्लाह दिए । आखीर जीउनू अनीबार्य छ । जीउन पैसा जरुरी छ । यही यथार्थ स्वीकार गर्दै उनी कामकालागि मलेसिया जान तयार भइन् । आन्दोलनमा लागेकाहरुले ठुला ठुला अबसर पाइ रहेका थिए तर समाज बदल्ने संकल्प सहित माओबादी आन्दोलनमा लागेकी मीरा केबल जीउनकालागि मलेसिया जानु पर्ने स्थीतीमा पुगिन् । मन नलाग्दा नलाग्दै पासपोर्ट बनाइन र आबेदन गरिन् । तुरुन्तै भिषा पनि आयो । बाध्यताले उनी कामकालागि मलेसिया जाने भइन् । जानेबेलामा बिदा माग्न उनी तिनै आफुलाइ सहयोग गर्ने गुरु ध्रुब बिक्रम मल्लकोमा पुगिन् ।

खेलकुदमा योग्य मान्छे पैसाकै कारण बिदेसीन लागेको मल्लले हेर्न सकेनन् । उनले अरु एक दुइ बर्ष प्रयास गर, त्यति गर्दा पनि भएन भने सोचौला अहीले नजाउ भनेर सम्झाए । मीराले गुरुको सल्लाह मानीन् । गुरु मल्लले मिरालाइ सहयोग गरिरहे । उनले मीराको लामो समय खेलमा टिक्न सक्ने, नथाक्ने क्षमतामाथि ध्यान दिइरहेका रहेछन् । त्यो गुण अल्ट्रा म्याराथनमा फिट हुने बुझेर ब्रिटिस लाहुरेको तयारी गरिरहेका युवाका साथ मीरालाई दौड अभ्यासमा पठाए  । मीराले ती सबै युवालाई दौडमा जित्न थालीन् । नेपाली सेनाका अल्ट्रा रनर भीम तामाङले पनि उनको यो खुबी पहिचान गरेछन् ।

त्यसपछि मल्लसँगको सल्लाहमा तामाङले मीरालाई बालाजु गेटबाट मकवानपुरको फूलबारीसम्मको ५० किलोमिटर दूरीको हिमालयन अल्ट्रा रनिङ प्रतियोगितामा सहभागी गराए । त्यतिबेला सम्म मीरालाइ अल्ट्रा म्याराथुन बारे केही थाहा थिएन् । २०७० साल चैत ८ गते भएको त्यो खेलमा उनी सामान्य जुता, टाउजर र टीसटकै भरमा अल्ट्रा म्याराथुनमा सहभागि भइन् । उनीसंग न केही खानेकुरा थियो न कुनै तयारी । उनी त्यतिकै दौडिन् । दौडीदै गर्दा ठुलो असिना पानी पर्यो । उनी गाँउ घरका डाँढा पाखामा दौडेको बिगत सम्झदै दौडिन् । यो खेलमा मीरा पहीलो भइन् । त्यतिबेला मीरा ठुलो आर्थीक संकटमा थिइन् । उनीसंग सय रुपैयाँ पनि थिएन् । दौडिनेक्रममा एक जना आर्मीले पसलमा छाडी दिएको पचास रुपीयाको खाजा खाएर दौड जितेकी थिइन् । त्यही दौडमा उनको सामान्य जुता पनि प्वाल परेर लाउन नमील्ने भएको थियो । यस्तो अभाबपुर्ण समयमा उनले दौड जितीन र सात हजार नगद सहित मेडल पाइन् । यो पैसाले तत्कालको आर्थीक संकट टर्यो । जीतले झन उत्साह थपियो । उनी मुस्ताग पुगेर पनि दौडिन् । उनको दौडले अरुको पनि ध्यानाकर्षण हुन थाल्यो । उनको दौडदेखेपछि विश्वभरका ट्रेल रनरलाई नेपाल ल्याएर दौडाउँदै आएका रिचार्ड बुलले विश्वस्तरीय खेलकालागि पहल गरि दिए ।

सन २०१४ को सेप्टेम्बरमा उनी इटालीमा हुने अल्ट्रा म्याराथुनमा सहभागि हुने टुगो भयो । त्यतिबेला पासपोर्ट चाहीयो । मलेसिया जाने भनेर आबेदन गरेको पासपोर्ट म्यान पावरमै थियो । आर्थीक सकंट छदै थियो । यो अबस्थामा उनै करातेका गुरु मल्लले १२ हजार म्यानपावरलाइ फाइन तिरेर पासपोर्ट ल्याइ दिए । उनी इटाली जाने पक्का भयो । त्यतिवेला उनको लागि यी सबै कुरा नयाँ थिए । उनी पहिलो पटक विदेश जाँदै थिइन्, पहिलो पटक जहाज चढ्दै थिइन् र पहिलो पटक विदेशी भूमिमा दौडँदै थिइन् । यी सबै नयाँ कुराका बिचपनि उनले उत्कृष्ट प्रदर्शन गरिन् । सेप्टेम्बर ११ मा भएको ५७ कीलोमीटरको दौडमा मीरा प्रथम भइन् । त्यसपछि सन २०१४ अक्टोबर २६ मा आइसल्याण्डमा भएको ५० कीलो मिटरको दौडमा उनले १७ बर्षको रेकर्ड तोडेर एसियन च्याम्पीयन भइन् । योे अन्तर्राष्ट्रिय अवार्डसंगै अनमीनले अयोग्य लडाकु घोषित गरेकी मीरा योग्य धाविकाको रुपमा चर्चीत भइन् ।

सन २०१५ जुन २६ मा (२०७२ असार ११ गते) फ्रान्समा भएको ८० किमि माउन्ट ब्लांक अल्ट्रा म्याराथनमा प्रथम भइन् । संसारका पहाडहरूमा दौडिँदा उनको खुट्टाको लिगामेन्ट फाट्यो । समस्याकै बीच उनी दौडिरहीन् । सन २०१५ कै सेप्टेम्बर १९ मा स्पेनमा भएका ११० कीलोमीटर अल्ट्रा म्याराथुनमा विश्व च्याम्पियनको दोस्रो वरियता हासिल गरिन् ।

घरको आर्थिक अबस्था संगै समाज बदल्ने सोच लिएर माओबादी आन्दोलनमा लागेकी मीराले दश बर्षको अबधीमा बिभिन्न उतार चडाब भोगीन् । ससाना सपनाहरु धुजा धुजा भए तर उनी सोचे भन्दा माथी पुगिन् । दुर्गम गाऊको सामान्य परिबारमा जन्मेकी एक युबतीले सन्सारमा आफ्नो पहिचान बनाइन् । मीरासँग अहीले अन्तराष्ट्रिय अल्ट्रा म्याराथुनमा हात पारेका आठ स्वर्ण पदक छन् । उनी नेसनल जोग्राफिक च्यानलको ‘एड्भेन्चर्स अफ दि इयर २०१७’ बाट पनि सम्मानीत भएकी छन् । नेपालमा त मीराले अहीले सम्मकै ठुलो रासी नगद २८ लाखको सम्मान पाइ सकेकी छन् । बेलायतमा बस्ने राष्ट्र राइको सकृयातामा बिभिन्न चार वटा सस्थाले मीरालाई २८ लाख र उनलाई खेलकुद क्षेत्रमा सहयोग गर्ने गुरु ध्रुब बिक्रम मल्ललाइ दुइ लाख सहित २०७३ साल पुषमा झापाको दमकमा भब्य सम्मान गरे ।

मीराको यस्तो संघर्षपूर्ण जिवनका बारेमा बिदेशीहरुले नेपाल आएर फिल्म बनाए । एउटा फिल्म त बान्फ वल्र्ड टुर २०१७ को निम्ती छनौंटमा परेको छ । मीराको जिवनमा आधारीत यो फिल्म ४० देशका विभिन्न ठाँउमा १ हजार पटक भन्दा बढि प्रदर्शन हुदैछ । विश्वभरका हरेक तहका दर्शकहरुले मीराको जिवनमा आधारीत फिल्म हेर्दैछन् । सारा विश्वले नेपाललाई सहासिक मीरा राईको नामले चिनिरहेको छ । देशकालागि यो गर्बको कुरा भएको छ ।

मीराको जीवनका घटनाक्रमहरु सुन्दा लाग्छ अप्ठाराहरु अबरोध होइनन् अबसर हुन् । गरिबीले मीरालाइ लडाकु बन्ने अबसर दियो, लडाकुबाट अयोग्य घोषणा भएकैले अन्तराष्ट्रिय अवार्ड र सम्मान पाउने अबसर मिल्यो । यदि गरिबी नहुदो हो त उनी सामान्य जिवन गाँउमै बिताइ रहेकी हुदी हुन् । सेनामा अयोग्य नभनिएको भए सिपाही हुदि हुन् । मलेसिया उड्ने बेला गुरुलाइ भेट्न नपुगेकी भए अहीले पनि मलेसिया तिरै पसिना छुटाइ रहेकी हुदीहुन् । परिष्थितीलाइ दोष दिनुको सट्टा बिकल्पहरु खोजी गरेकैले, अप्ठाराहरुलाई अबसरमा परिणत गर्न सकेकैले उनी अहीले आम नेपालीले गर्बका साथ नाम लिने मीरा राइ भएकी छन् । अभाबका बिच हुर्केकी राजनितिबाट ठगिएकी एक महीलाले सन्सारभर देशको शिर उठाउने काम गरि रहेकी छन् ।

मीरालाइ देशमै बसेर खेल्न सम्झाउने र सघाउने कराते प्रशिक्षक ध्रुवविक्रम मल्ल भन्छन्, मीराको प्रतिभालाई गुम्न नदिई माथि उचाल्नु पर्छ भन्ने मेरो सोचाई सार्थक भएको छ । विश्व सामु राष्ट्रिय झन्डा उठाएर करोडौं नेपाली जनताको मनोबल उच्च बनाउने मीराको साहासिक कार्यको नेपाल सरकारले उच्च मुल्यांकन गरोस् ।

(काठमाडाैंमा शनिबार विमोचन हुने पत्रकार चेतन धमलाले लेखेको पुस्तक ‘पौरख’को अंश)

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner