संगीतकार सन्तोष श्रेष्ठको ‘सुरक्षा’ सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २३ पुस । नेपाली सुगम संगीतका चर्चित संगीतकार सन्तोष श्रेष्ठले अग्रजका स्वदेशगानमा संगीत गरेर ‘सुरक्षा’ एल्बम ल्याएका छन् । काठमाडौंमा शनिबार सार्वजनिक संगीतकार सन्तोषको ‘सुरक्षा’ नामक सो एल्बममा आठवटा स्वदेशगान समावेश छन् ।

जसमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द तथा शिव परियारको स्वरमा ‘पश्चिम रुन्छ महाकाली’देखि कालीप्रसाद रिजालको शब्द तथा मनोजराज शिवाकोटीको स्वरमा ‘सुनहे सुन तन्नेरी हो’, दिनेश अधिकारीको शब्द र कर्म ग्याल्छेन बमजनको स्वरमा ‘पूर्व जागौं पश्चिम जागौं’ त्यस्तै, श्रीपुरुष ढकालको शब्द र सन्तोष स्वयम्कै स्वर रहेको ‘आफ्नो माटो सबैलाई’, रमेश क्षितिजको शब्द र भविन ढुंगानाको स्वरमा ‘देश टेक्ने जमिन यही हो’, डा. नवराज लम्सालको शब्द र मनोजराजको स्वरमा ‘सम्मान गरौँ सबैलाई’, लम्सालकै शब्द र सन्तोषकै स्वरमा ‘सकिएला संसार छोड्न’ र भावेश भुमरीका रचना र थुप्तेन भुटियाको स्वरमा ‘हाम्रो देश स्वतन्त्र छ’ लगायतका स्वदेशगान समावेश गरिएका छन् ।

राष्ट्रकविको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रकविकै तथा शिव परियारको स्वर रहेको ‘पश्चिम रुन्छ महाकाली पूर्व रुन्छ मेची, जब तिमी रमाउँछौ आफ्नै आत्म बेची’बोलको स्वदेश गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । म्यूजिक भिडियोलाई सञ्चारकर्मी शान्तिप्रियले निर्देशन गरेका छन्, जसमा निर्मल शर्मा, ज्योती प्रकाश विक, सारिका घिमिरेलगायतका कलाकारले अभिनय गरेका छन् ।

करिब १ हजार फुटकर गीतमा संगीत भरेका सन्तोषको ‘सुरक्षा’ २१ औं एकल एल्बम हो । अग्रजका स्वदेशगानमा संगीत भरेर ‘स्वदेशगानको’ एल्बम निकाल्ने उनको योजना निकै अघिको भएपनि विविध कारणले ढिलो हुन पुगेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments