प्रदेश सरकार गठनपछि मात्रै केन्द्रीय सरकार बन्ने, फागुन दोस्रो साता नयाँ प्रधानमन्त्री

  • 43
  •  
  •  
  •  
  •  
    43
    Shares

काठमाडौं, २३ पुस । संघीय सरकारभन्दा पहिले प्रदेश सरकार बन्ने दिशामा मुलुकको राजनीति अघि बढेको छ । सरकारले माघ २४ गते राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा गरेपछि त्यसअघि नै प्रदेश सरकार बन्ने भएको छ ।

प्रदेश सांसदहरूले सपथ नलिई राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न पाउँदैनन् । सपथ लिन पहिले प्रदेशसभाको बैठक बस्नुपर्ने हुन्छ । प्रदेशसभाको बैठक बसेलगत्तै दलहरूले प्रदेशसभा संसदीय दलको बैठक राखेर नेता छान्ने काम गर्छन् । लगत्तै प्रदेश सरकार बन्ने छ ।

प्रदेशसभाको निर्वाचन मतपरिणामअनुसार ६ वटामा वाम गठबन्धन (एमाले र माओवादी केन्द्र) बहुमतमा छन् । प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरमको बहुमत छ । त्यसैले केन्द्रीय सरकार बन्नुअघि नै सातवटै प्रदेशमा प्रदेश सरकार बन्ने निश्चित छ ।

तर, दलहरूले अहिलेसम्म त्यसको तयारी थालेका छैनन् । एमाले र माओवादी केन्द्र संघीय सरकार नै पहिले गठन गर्नुपर्ने पक्षमा छन् । खासगरी एमाले तत्काल प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिई नयाँ सरकार गठन गर्न मागप्रशस्त गर्नुपर्ने पक्षमा छ ।

वर्तमान सरकार भने राष्ट्रिय सभाको निर्वाचन गराएर मात्र बहिर्गमन हुने पक्षमा छ । प्रधानमन्त्री देउवाले फागुनको पहिलो साता प्रधानमन्त्रीबाट राजीनामा दिने सोच बनाएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति गरेपछि उसले प्रदेशसभा सदस्यलाई सपथ गराएपछि प्रदेशसभा सरकार गठन गर्ने कार्य अघि बढ्नेछ । लगत्तै दलहरूले मुख्यमन्त्री चयन गर्ने भएका छन् ।

एमाले र माओवादी केन्द्रले प्रदेशको अस्थायी मुकाम तोक्न सहमति नदिएपछि सरकारले प्रदेश प्रमुख मात्र नियुक्ति गर्ने भएको हो । प्रदेश मुकाम तोक्ने अधिकार प्रदेशसभालाई नै छोड्ने भएको छ । तर, एमाले र माओवादी केन्द्रले अहिलेकै सरकारले प्रदेश मुकाम तोकेर त्यहीँ प्रदेशसभा सदस्यलाई सपथ खुवाउनुपर्ने बताउँदै आएका छन् । तर, सरकारले काठमाडौंमै प्रदेशसभा सदस्यको सपथ गराउने तयारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner