किन राखिएन बज्रबाराही मन्दिरमा गजुर ? यस्तो छ किंवदन्ती

  • 611
  •  
  •  
  •  
  •  
    611
    Shares

काठमाडौं, २३ पुस । काठमाडौं उपत्यका मन्दिरै मन्दिरको सहरको रुपमा चिनिन्छ । यस उपत्यकामा छैटौ, सातौं शताब्दीमा देवदेवीहरूको कल्पना वा प्रभाव परेको मानिन्छ । विभिन्न देवी देवताका मन्दिर मध्य काठमाडौं उपत्यकामा चार बाराही मन्दिर पनि छन्– श्वेतबाराही, नीलबाराही, धूमबाराही, बज्रबाराही ।

उपत्यकाको दक्षिणी भेग ललितपुरको चापागाउँमा ‘बज्रबाराहीे’को मन्दिर रहेको छ । यो धार्मिक, पर्यटकीय हिसाबले मात्रै होइन नेपालको गजुर नभएको मन्दिरले पनि प्रख्यात छ । बज्रबाराही मन्दिरमा गएर पूजाआरधाना गरेमा जीवनमा आइपर्ने बिघ्न, बाधा, भय हट्ने र सिद्धि प्राप्त हुने जनविश्वास रहेको छ ।

कसरी नामाकरण भयो ‘बज्रबाराही’ ?

बाराही शब्द ‘बराहको स्त्रीलिङ्गी’को रूपमा लिइन्छ र विभिन्न शक्तिस्वरुपा देवीको नामले आराधनासहित पुजिन्छ । तर, बाराहीमा ‘बज्र’ कहाँबाट थपियो भन्ने प्रसङ्गमा उपत्यकामा नवौं शताब्दीदेखि १२ औं शताब्दीसम्म बज्रयानको प्रभाव अत्यधिक भएको समयमा बाराहीमा ‘बज्र’ विशेषण लगाई आरधना गरिएको अनुमान छ ।

विभिन्न किम्बदन्तीअनुसार प्राचिन समयमा घना जंगलको बीचमा एक ताल थियो र त्यहि तालमा बज्रबाराही माईको उत्पति भयो । यसपछि देवगृह बनाइ स्थापना गरियो । यसको गर्भ गृहको बीचमा वल्लो–पल्लो छेउमा धातुका दुई मूर्ति कलात्मक रूपले बनाइएको छ । ठीक तल ११ वटा देवीका मूर्तिहरू छन् । जसको तलपट्टि दक्षिणतर्फ जल कुण्ड, बाहिर र भित्र सिंहका आकृति छन् भने प्राङ्गणमा बत्ती बाल्ने पालाहरू छन्। कलात्मक तीन द्वार रहेका उक्त देवीको मन्दिर स्थायीरूपले राखिँदैन । जात्रा सञ्चालन गर्दा मात्र राखिने गरिन्छ। तर २०४६ सालदेखि भने जात्रा हुन सकेको छैन।

काठमा कुँदिएका बाराहीका तीनवटा र्मू्र्ति बँदेलको जस्तो मुख देखिने, विभिन्न हतियार समातेका विभिन्न मुद्रामादेखि आठ बाहु भएका र राँगामाथि चढेको देखिन्छन् । ढोकामा दुवैतिर प्रस्तर सिंह र तीनवटै ढोकाको तोरणमा ब्रम्हायणी, कौमारी, इन्द्रायणी, अष्टमातृका, भैरव, गरुड, नाग, कलशसमेत देखिन्छन् । मन्दिरको जताततै विभिन्न चित्रहरू कुँदेर राखिएका छन्। त्यस्तो अर्पूवकलाले सजिएको भए पनि उक्त मन्दिरमा गजुर भने राखिएको छैन ।

किन राखिएन बज्रबाराही मन्दिरमा ‘गजुर’ ?

एकदिन भक्तपुरको मल्ल राजा भगवानको दर्शन गर्न आउँदा मन्दिरै अगाडिको शमशानमा मानिसको लास जलाइरहेको र त्यसबाट नराम्रो गन्ध आइरहेको देखेपछि उनले शमशानघाटलाई सार्न लगाए र मन्दिरको निर्माण कार्यलाई अगाडि बढाए । मन्दिर बनाउन चापागाउँबाट काठ लैजाने र भोलिपल्टै बुट्ठा कुँदेर टुँडाल झ्याल जडान गरी मन्दिर बनाउन थाले । मन्दिर निर्माणको कार्य सकिसकेपछि गजुरको स्थापना गर्ने भनि पाटनबाट गजुर ल्याइयो, तर त्यसै राति पुजारीले ‘मन्दिरको गजुर निश्चित समयभित्र राखिसक्नुपर्ने र गजुर राख्ने समयमा कुनै चापागाउँबासीको मृत लासको आधा शरीर जलेर आधा भएको अथवा खप्पर पड्की गिदी निस्केको अथवा लुभु निवासीले मुर्दा जलाइरहेको तथा नौवटै मसानघाटमा आगो बलेको अवस्थामा मात्र गजुर राख्नु अन्यथा गजुर राख्ने व्यक्तिको मृत्यु हुनेछ’ भन्ने सपना देखे । भोलिपल्ट पुजारीले यो कुरा गाउँका बुद्घिजिवीलाई भनेपछि गजुर राख्ने हिम्मत कसैलै पनि गरेनन् र बिना गजुरको मन्दिर बनेका किंवदन्ती रहेको बुढापाकाहरु बताउँछन् ।

बज्रबाराही आसपासको विशेषता र रोचक प्रसङ्ग

पूर्वमा झरुवारासी बडिखेल, पश्चिममा छम्पी, उत्तरमा धापाखेल दक्षिणमा लेले रहेको १८.९९ हेक्टरमा फैलिएको जंगल क्षेत्रको करिब बीच भागमा बज्रबाराहीको मन्दिर रहेको छ । यो मन्दिर रहेको स्थान सामुद्रीक सतहबाट एक हजार पाँचसय मिटर उचाइमा छ । यही मन्दिर परिसर तथा आसपासको क्षेत्रको भने निकै आश्चर्यजनक विशेषता रहेको पाइन्छ । मन्दिर रहेको जंगलमा कागको बास कहिले पनि नहुने स्थानीय अभिषेक महर्जन बताउँछन् । यस जंगलमा अत्यन्त दुर्लभ वनस्पतीहरु ( अर्ध सुपारी, काली काठ, बिजयशाल, सहदेव, सहदेवी) पाइन्छन् ।

क्वांगु जंगलमा महादेव आइ बस्न खोज्दा बज्रबाराही देवीले मानिसहरुले आफ्नो पूजाआजा गर्दैनन् भन्ने आशंकाले बराह (बँदेल)को रुप लिइ त्यहाँबाट शिवलाई भगाएको जनश्रुती पाइन्छ ।

मूर्ति भने संग्राहलयमा

नेपाल संवत् ७८६मा श्री निवास मल्लद्वारा निर्माण गरिएको देवगृहमा राखिने सुनको देवीको मूर्ति विधिवत्रुपमा चैत्रशुक्ल अष्टमीको दिन स्थापना गरिएको थियो । यस मूर्तिका सबै अङ्गहरू भिन्दाभिन्दै गहनाले सजिएको देखिन्छ । गहनैगहना र बहुमुल्य धातुबाट बनाइएको यो र्मू्र्ति वि.सं. २०२५ सालमा चोरी भयो । त्यसपछि प्रहरीले फेला पारेपछि भने बज्रबाराही देवीको मूर्तिलाई राष्ट्रिय संग्राहलय छाउनीमा राखिएको छ ।

प्रस्तुति : सबिना महर्जन

विकिपेडियाको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments