निर्माण सामग्रीको मूल्यवृद्धि फिर्ता लिन आग्रह

  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौँ, २३ पुस ।  नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट, डण्डी, गिट्टी, बालुवा लगायतका वस्तुमा बढेको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

महासंघले आज पत्रकार सम्मेलन गरी निर्माण सामग्रीमा भएको मुल्यवृद्धिले निर्माण व्यवसायको क्षेत्रमा नकारात्मक असर पर्ने र त्यसको प्रभाव समग्र देशको अर्थतन्त्रमा पर्ने भन्दै फिर्ता लिन आग्रह गरेको हो ।

सम्मेलनमा महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले निर्माण व्यवसायीसँगै जनतासमेत मारमा परेको बताउनुभयो । “एक रुपैयाँ डिजेलको भाउ बढ्दा सिमेन्टमा रु १०० र डण्डीमा प्रतिकिलोग्राम रु ७८ वृद्धि भएको छ, यो अस्वाभाविक वृद्धि हो,” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

अध्यक्ष श्रेष्ठले राज्यबाट सञ्चालित भई सम्पन्न भएका परियोजना निर्माण कार्य बापतको भुक्तानी नहुँदा देशभरका व्यवसायी ठूलो मारमा परेको बताउनुभयो ।

महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजन व्यवस्थालाई कडाइका साथ अनिवार्य लागू गर्नुपर्ने, छिमेकी मुलुकबाट निर्माण सामग्री आयात गर्न र सोको भन्सार छुटको व्यवस्था गर्नुपर्ने तथा मूल्यवृद्धिको मारमा परेका व्यवसायीलाई उचित क्षतिपूर्तिको माग गरेको छ ।

यसैगरी, निर्माण कार्य गर्दा व्यवसायीले बिना झन्झट नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्यसूचीबमोजिम मूल्य समायोजनको रकम प्राप्त गर्ने व्यवस्था गर्नुपर्ने बताएको छ ।

महासंघका पूर्वअध्यक्ष सुकुन्तलाल हिराचनले महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा आठजनालाई पक्राउ गरेपनि महासंघ सन्तुष्ट नरहेको बताउनुभयो । “महासंघका तत्कालीन अध्यक्षको हत्यामा धेरै मानिस संलग्न रहेपनि जम्मा आठजना मात्र पक्राउ भएका छन्, बाँकीलाई पनि चाँडो पक्राउ गर्न हामी प्रहरीलाई आग्रह गर्दछौँ,” उहाँले भन्नुभयो ।

महासंघका महासचिव रामशरण देउजाले मूल्यवृद्धिले निर्माण व्यवसायीसँगै भूकम्पपीडित जनतासमेत मारमा परेको बताउनुभयो । उहाँले तेल र क्लिङ्करको भाउ बढेको बहानामा व्यवसायीले मौकाको फाइदा उठाउन खोजेको आरोपसमेत लगाउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *