किमप्रति ट्रम्प किन नरम ?

  •  
  •  
  •  
  •  
  •  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाका नेता किम जोङ उनसित फोनमा कुराकानी गर्न चाहेको बताएका छन् । उनले दक्षिण र उत्तर कोरियाबीच आगामी साता हुने कुराकानीबाट कोरियाली प्रायद्वीपको तनाव केही कम हुने आशा व्यक्त गरेका छन् ।

शनिबार क्याम्प डेभिडमा प्रेस कन्फ्रेन्सका क्रममा ट्रम्पले भने– मैले जहिल्यै संवादमा विश्वास गरेको छु । त्यसैले किमसित सीधा कुराकानी गर्न मलाई कुनै अप्ठ्यारो हुनेछैन । यद्यपि उनले यस कुराकानीका लागि केही सर्त पहिल्यै तय हुने स्पष्ट गरेका छन् ।

ओलम्पिक खेलबाट संवाद अघि बढ्ने अपेक्षा

अमेरिकी राष्ट्रपतिले ट्रम्पले दुवै कोरियाबीच दुई वर्षमा पहिलोपटक हुन लागेको भेटवार्ता हिउँदे ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको विषयभन्दा पनि अगाडि जाने आशा गरेका छन् । उनले उपयुक्त समय आएपछि अमेरिकाले पनि यस संवादमा भाग लिने दाबी गरेका छन् । अजसम्म किम जोङ उन र ट्रम्पले एकअर्कालाई लिएर गरेको चर्को वक्तव्यबाजी चर्चामा रहेको छ । ट्रम्पले उत्तर कोरियाली नेताबारे ‘रकेटम्यान आत्महत्याको मिसन’ रहेको समेत प्रतिक्रिया दिएका छन् ।

गत वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई पूर्णतः ध्वस्त पार्ने धम्की पनि दिएका थिए । नयाँ वर्षको सुरुवातमा किम जोङ उनले ट्रम्पलाई सम्बोधित गर्दै भनेका थिए– आणविक हतियारको स्विच मेरो टेबलमै छ । जसको जवाफमा ट्रम्पले पनि भनेका थिए– मेरो साथमा पनि निकै ठूलो स्विच छ र त्यसले काम पनि गर्छ ।

कसरी भयो कुराकानीको सुरुवात ?

नयाँ वर्षको सम्बोधनमा उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियामा हुन गइरहेको हिउँदे ओलम्पिक खेल सफल हुने आशा व्यक्त गरेका थिए । यो खेल ९ फेब्रुअरीदेखि २५ फेब्रुअरीसम्म दक्षिण कोरियाको प्योन्चाङ सहरमा आयोजना हुँदै छ । सो अवसरमा किमले एक प्रतिनिधिमण्डल यस खेलमा पठाउने विषयमा विचार गरिरहेको पनि बताएका थिए ।

यसको जवाफमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासित यस विषयमा विस्तृत कुराकानीका लागि द्विपक्षीय बैठक आयोजना गर्नुपर्ने सुझाब दिएका थिए । ओलम्पिकको विषयमा मुनको प्रस्ताव र किमको टिप्पणी दुवै देशका खेल प्रतिनिधिबीच सम्पन्न दुई गोप्य बैठकको परिणाम हो । जुन बैठक पछिल्लो वर्ष डिसेम्बरको अन्त्यमा चीनमा सम्पन्न भएको थियो । यी बैठकमा दुवै कोरियाका अधिकारीले २०१८ मा खेलकुद प्रतियोगितामा भाग लिने विषयमा सहमति गरेका थिए ।

कुन विषयमा कुराकानी होला ?

यस साता उत्तर कोरियाले त्यस बैठकमा सहभागी हुनेबारे दक्षिणको प्रस्ताव स्वीकार गरेको छ, जसमा हिउँदे ओलम्पिकमा खेलाडी पठाउने विषयमा चर्चा हुनेछ । पछिल्ला दुई वर्षमा यस प्रकारको यो नै पहिलो बैठक हो । र, यो बैठक पानमुनजोममा हुने अपेक्षा गरिएको छ, जहाँ दुवै पक्ष ऐतिहासिक रूपमा वार्ताका लागि भेटघाट गर्दै आएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार यस बैठकको प्राथमिकता प्योन्चाङ हिउँदे ओलम्पिक हुनेछ । यद्यपि उनले दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीलाई बताएअनुसार उत्तर कोरियाको ओलम्पिक सहभागिता पक्का भयो भने दुवै देशबीच सम्बन्ध सुधारको विषयमा पनि चर्चा हुन सक्छ ।

कति ठूलो हो यो प्रगति ?

जुन समयमा उत्तर र दक्षिण कोरिया आपसी सम्बन्धलाई ओलम्पिकको माध्यमबाट सुधार्ने कोसिस गरिरहेका छन्, अमेरिकाले दक्षिण कोरियाका तर्फबाट गरिएको संयुक्त युद्धाभ्यास रोक्ने अनुरोधलाई स्विकारेको छ । यसअघि यसै साता उत्तर कोरियाले दुई देशबीचको सम्पर्कका लागि आफ्नो सिमानामा टेलिफोन हटलाइनलाई फेरि सुरु गरेको थियो । यद्यपि धेरै मानिसले भने आगामी साता हुने वार्ता र उत्तर कोरियाको हिउँदे ओलम्पिकमा हुन सक्ने सहभागिताको कुनै राजनीतिक महत्व हुनेमा आशंका व्यक्त गरेका छन् । नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner