कैलाश सिरोहियासँग २५ करोड क्षतिपूर्ति माग गर्दै अजय सुमार्गीले अदालतमा हाले फिराद पत्र

  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं, २४ पुस । व्यापारी अजेयराज सुमार्गीले कान्तिपुरका मालिक कैलाश सिरोहियाविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा (फिरादपत्र) दर्ता गराएका छन् । सुमार्गीले कान्तिपुर पब्लिकेसन्सले आफ्ना सञ्चारमाध्यममा आधारहीन समाचार प्रकाशन गरेर आफ्नो व्यावसायिक जीवनमा ठेस पुर्‍याएको, मानमर्दन गरेको र व्यावसायिक एवं सामाजिक प्रतिष्ठामा आघात पुर्‍याएको भन्दै गाली बेइज्जती ऐन, २०१६ अनुसार कारवाही गर्न माग गरेका हुन् ।

कान्तिपुर पब्लिकेसन्सका विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारका कारण आफ्नो उद्योगमा नकारात्मक असर पुगेको, वैदेशिक लगानी आउने वातावरण अवरुद्ध भई बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणमा ब्याज भुक्तानी गर्नुपरेको र वैदेशिक लगानीमा सञ्चालित उद्योगले नोक्सानी व्यहोर्नुपरेको भन्दै सुमार्गीले २५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेका छन् ।

‘विपक्षीहरूले मलाई गरेको गाली बेइज्जतीबाट मेरा उद्योगहरूमा नकारात्मक असर पुग्न गएको, वैदेशिक लगानी आउने वातावरण अवरुद्ध भई मैले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिई त्यसको व्याज भुक्तानीमा करोडौँ रुपैयाँ खर्च हुनुका साथै वैदेशिक लगानीकर्ताहरूमा समेत नकारात्मक सन्देश पुग्न जानुका साथै त्यस्ता वैदेशिक लगानी सञ्चालित उद्योगहरूले ठूलो घाटा नोक्सानी व्यहोर्नुपरेको अपूरणीय क्षतिसमेतलाई मध्यनजर गरी विपक्षीहरूबाट सोही ऐनको दफा १२ बमोजिम रु. २५ करोड क्षतिपूर्तिवापत दिलाई भराई पाऊँ,’ सुमार्गीले वारेस तुलसीबहादुर कार्कीमार्फत काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा भनिएको छ ।

सुमार्गीले व्यावसायिक विषयमा आफूलाई ब्ल्याकमेलिङ गर्न सिरोहियाले आफ्नो सञ्चार माध्यमको प्रयोग गरेको पनि बताएका छन् । सिरोहियाले आफ्नो व्यावसायिक आर्थिक कठिनाइ दर्शाउँदै काठमाडौं तीनकुनेस्थित नौ रोपनी चार आना जग्गा किनिदिन अनुरोध गर्दा आफूले मुक्तिश्री सिमेन्ट इन्ड्रस्टिजको नाममा पाँच रोपनी नौ आना जग्गा २३ करोड २१ लाख १२ हजार रुपैयाँमा किनिदिएको सुमार्गीले उल्लेख गरेका छन् ।

सिरोहिया र सुमार्गीबीचको विवाद अहिले आएर जग्गा किनबेचमा रहेको पुष्टि भएको छ । सुमार्गीको मुद्दामा सिरोहियाविरुद्ध कस्तो आदेश आउने हो ? त्यो भने केही दिन कुर्नुपर्ने हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *