अबको नयाँ सरकारले पाउने छ यस्तो जस, के के छन् सकिनै लागेका विकास आयोजना ?

  • 65
  •  
  •  
  •  
  •  
    65
    Shares

काठमाडौं, २४ पुस । करिब दुई तिहाइ बहुमत हासिल गरेको वाम गठबन्धनले अबको पाँच वर्ष मुलुकमा स्थिर सरकार देला कि नदेला ? भन्ने प्रश्न सबैमा उब्जेको छ । पाँच वर्ष स्थिर सरकार दिन सक्यो र कुनै गडबड गरेन भने कम्युनिस्ट गठबन्धनले ठूलो जस पाउने अवस्था छ ।

आगामी पाँच वर्ष मुलुकका लागि निकै महत्वपूर्ण छन् । विकास निर्माणका लागि विगत २० वर्षयता भएका ठूला लगानीहरूले प्रतिफल दिन थाल्ने समय हो अबको पाँच वर्ष । अबको डेढ महिनाभित्र मुलुकले नयाँ सरकार पाइसक्नेछ । यदि सो सरकार पाँच वर्ष टिकाउ भएमा यस अवधिमा मुलुकमा रेलदेखि खानेपानी, विमानस्थल, फास्टट्रयाक सबै निर्माण भइसक्नेछन् । किनभने ती आयोजना अन्तिम चरणमा पुगेका छन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री करिब करिब निश्चित जस्तै छ ।

नेपाली कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराईले सुरु गरेको मेलम्ची खानेपानी आयोजनाका लागि मुलुकले विगत अढाई दशकको यो अवधिमा करिब आधा खर्ब रुपैयाँ लगानी गरिसकेको छ । अबको एक वर्षभित्र त्यो लगानीले प्रतिफल दिन सुरु गर्नेछ । राजधानी काठमाडौं उपत्यकामा वितरित खानेपानीबाट मात्रै वार्षिक १०–१२ अर्ब रुपैयाँ महसल संकलन हुन थाल्ने दिन आउन अब धेरै बाँकी छैन । राजधानी उपत्यकामा खानेपानीको समस्या समाधान हुने मात्रै होइन कि खानेपानी वितरण पनि राज्यको आम्दानीको स्रोत हुन थाल्नेछ ।

कांग्रेसकै नेता ज्ञानेन्द्रबहादुर कार्कीले जलस्रोतमन्त्री हुदा आफ्नै जोडबलमा सुरु गरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा पनि मुलुकले करिब आधा खर्ब रुपैयाँ खर्च गरिसकेको छ । अब एक डेढ वर्षभित्रै यो आयोजनाले प्रतिफल दिन थाल्नेछ । तामाकोसीबाट उत्पादित बिजुलीको महसुल मात्रै वार्षिक १०–१५ अर्ब रुपैयाँ संकलन हुन थाल्ने अवस्था बनिसकेको छ । तामाकोसी जलविद्युत आयोजना निर्माण सम्पन्न हुना साथ वर्षायाममा खाना पकाउने एलपी ग्याँस आयात गर्नुपर्ने छैन । ऊर्जाको क्षेत्रमा मुलुक आत्मनिर्भरताको बाटोतर्फ जानेछ ।

अबको दुई वर्षभित्र भेरी बबई ड्राइभर्सन बहुउद्देश्यीय सिंचाइ आयोजना, रानीजमारा सिँचाइ आयोजनालगायत आधा दर्जन सिँचाइ आयोजनाको काम सम्पन्न हुँदैछ । यी आयोजना सम्पन्न हुनासाथ करिब पाँच लाख हेक्टर जमिनमा १२ रै महिना सिँचाइको सुविधा उपलव्ध हुनेछ । थप पाँच लाख हेक्टर जमिनमा १२ रै महिना सिँचाइको सुविधा उपलब्ध हुनु भनेको मुलुक खाद्यान्नमा आत्मनिर्भरतर्फ उन्मुख हुनु हो ।

यसैगरी, अबको एक वर्षभित्र महोत्तरीको बर्दिबाससम्म रक्सौलको जस्तै ठूलो रेल आइपुग्नेछ । कोलकात्ता बन्दरगाहबाट रक्सौलभन्दा बर्दिवास तीन सय किलोमिटर छोटो छ । अबको दुई वर्षभित्र मध्यपहाडी लोकमार्ग र तराईको हुलाकी लोकमार्ग निर्माणको काम सम्पन्न हुनेछ । यसैगरी, उत्तर दक्षिण नदीको कोरिडोर सडकहरू धेरैजसो सम्पन्न भइसक्नेछन् । लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि सम्पन्न भइसक्नेछ । चीनको केरुङसम्म रेल मार्ग निर्माण भइसक्नेछ भने केरुङ–काठमाडौं चार लेनको सडक निर्माणले गति लियो भने यो पनि सम्पन्न भइसक्नेछ ।

हालसम्म भएको खर्बौं लगानीले प्रतिफल दिनै लाग्दा सत्ताको नेतृत्व लिने जनम्यान्डेट प्राप्त गर्नु भनेको कम्युनिस्ट गठबन्धनका लागि निकै ठूलो अवसर हो । यो अवसरको सदुपयोग गर्न सक्यो भने अब आउने नयाँ सरकारले बुढीगण्डकी जलविद्युत आयोजना, काठमाडौं–तराई द्रुतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेलमार्ग, केरुङ–काठमाडौ–पोखरा–लुम्बिनी रेलमार्ग, काठमाडौं उपत्यकामा मेट्रोरेल, कालीगण्डकी तिनाउ डा«इभर्सन, सुनकोसी–कमला ड्राइभर्सनलगायतका ठूला विकास आयोजनाको निर्माण सुरु गरिसक्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments