डा. केसी चौधौँपटक अनसनमा, प्रधानन्यायाधीश पराजुलीको बर्खास्तीको माग

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ पुस । वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा. डा. गोविन्द केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको बर्खास्तीको माग राखेर सोमबार अपरान्हदेखि चौधौँपटक अनसन बसेका छन् । सर्वोच्च अदालतले आइतबार चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशि शर्मालाई बहाली गर्न दिएको निर्देशन विरुद्ध केसी अनसन बसेका हुन् ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले डा. शशि शर्मालाई पुनर्स्थापना गर्ने निर्णय गरेको थियो । यसलाई उनले माफियासँग न्याय किनबेच भएको भन्दै टिप्पणी गरेका छन् ।

अनसन बस्नुअघि सोमबार अपरान्ह आयोजना गरेको पत्रकार सम्मेलनमा डा. केसीले भनेका थिए, ‘माफियासँग न्यायको किनबेच गरेको न्यायालयका प्रधान न्यायाधीश गोपाल पराजुली विरुद्ध चार बजेदेखि अनसन बस्दैछु।’

चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राखेर यसअघि १३ औंपटक अनसन बसेका केसी सोमबारबाट चौधौँपटक अनसन बसेका हुन् । यसपटक उनले प्रधानन्यायाधीश पराजुलीको बर्खास्तगीसहित शशि शर्मालाई डिनमा बहाली गर्न दिन नहुने, विभिन्न तहका न्यायालयमा छँदा पराजुलीले मेडिकल माफियाका पक्षमा दिएका फैसलाहरुको छानबिन हुनुपर्ने र न्यायपालिकालाई माफिया र राजनीतिको चंगुलबाट बाहिर ल्याउनुपर्ने माग राखेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner