अमेरिकामा बस्दै आएका दुई लाख एल साल्भाडोरका नागरिकको अनुमति रद्द गरे ट्रम्पले

  • 162
  •  
  •  
  •  
  •  
    162
    Shares

एजेन्सी, २५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा बसोवास र काम गर्ने अनुमति पाएका झन्डै दुई लाख एल साल्भाडोरका मानिसहरूको अनुमति रद्द गर्ने निर्णय गरेको छ । सन् २००१ मा गएको भूकम्पपछि उनीहरूलाई मानवतावादी कार्यक्रम अन्तर्गत अमेरिकामा बस्न र काम गर्न पाउने अस्थायी अनुमति दिइएको थियो ।

तर अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालयले साल्भाडोरमा उतिबेला जस्तो बसोवासका लागि समस्या अब नरहेको भन्दै उनीहरूले आगामी १८ महिनाभित्र अमेरिका छोड्नुपर्ने बताएको छ । त्यसरी अनुमति लिएर बस्नेहरू खासगरी वासिंगटन डीसी वरपर र टेक्सास, क्यालिफोर्निया राज्यमा बढी छन् । अस्थायी रुपमा बस्न पाउने अनुमति लिएर अमेरिका प्रवेश गरेका साल्भाडोरका दुई लाख मानिसले अब सन् २०१९ को सेप्टेम्बर ९ सम्म अमेरिका बस्न पाउनेछन् ।

त्यसपछि भने देश निकाला हुनुपर्ने वा उनीहरूले अन्य कुनै कानूनी बाटो खोज्नुपर्नेछ । ट्रम्प प्रशासनले यसअघि नै हेइटी र निकारागुआका उस्तै खालको अस्थायी अनुमति पाएर अमेरिका बस्दै आएका दशौँ हजार मानिसको त्यस्तो अनुमति रद्द गरिसकेको छ ।

झण्डै दुई दशकअघि साल्भाडोरका मानिसहरूले पाएको उक्त अनुमति सोमवार सकिँदै थियो । ट्रम्प प्रशासनको यो निर्णयले थुप्रैले आफ्ना परिवारसँगको बिछोड सहन बाध्य हुनेछन् । यो कदमले अमेरिकामा साल्भाडोरका ती मानिसहरूबाट जन्मिएका बच्चाहरूको भविष्यबारे पनि प्रश्न उठाएको छ । उनीहरू पनि देश निकालाको खतरामा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments