गिरिजाप्रसाददेखि प्रचण्ड र देउवासम्म जसलाई अदालतको मानहानि गरेको मुद्दा लागेको थियो, के थियो कारण ?

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । डा.गोविन्द केसीलाई अदालतको मानहानि गरेको आरोपमा पक्राउ गरी सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । केसीले अवहेलना गरेको ठहर भएमा उनलाई एक वर्षसम्म जेल सजाय र १० हजार रुपैयाँ जरिवाना ठहर हुनेछ ।

अवहेलना कारवाहीका लागि सर्वोच्च अदालतले न्याय प्रशासनसम्बन्धी ऐनको दफा १७ को उपदफा १ मा आफ्नो र आफू मातहतका अदालतको न्यायसम्पादनमा अवरोध गरेमा, फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारबाही चलाउन सक्ने उल्लेख छ ।

यसअघि नेपालका चारजना प्रधानमन्त्रीलाई अदालतको मानहानि गरेको मुद्दा लागेको थियो । जसमा गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई र शेरबहादुर देउवा छन् । बहालवाला प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्तिमा अदालतको आदेश मान्य हुँदैन भन्ने विषयमा अदालतमा परेको मानहानि मुद्दा अझै विचाराधीन छ ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, बाबुराम भट्टराई, पुष्पकमल दाहाल प्रचण्डलाई उपस्थित हुन सर्वोच्चले आदेश दिएको थियो । अदालतको सम्मान गर्दै उनीहरू आफैं उपस्थितसमेत भएका थिए । तत्कालीन प्रधानमन्त्री कोइरालाले लाउडा विमान खरिद प्रकरणमा अदालतको अवहेलना मुद्दा खेपेका थिए । उनले सर्वोच्चमा उपस्थित हुँदै अदालतलाई नारायणहिटी दरबारमा सार्नुपर्ने अभिव्यक्ति दिएपछि विवादित भएका थिए ।

त्यस्तै, नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालविरुद्ध पनि अवहेलनाको मुद्दा सर्वोच्चमा विचाराधीन छ । माओवादी नेता बालकृष्ण ढुंगेललाई हत्याको आरोपमा दोषी ठहर भएपछि पक्राउ गर्न सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले दिएको आदेश नमानेको भन्दै मानहानि मुद्दा दायर भएको थियो । अहिलेसम्म पनि सो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

सर्वोच्चले पछिल्ला पाँच वर्षयता अवहेलना मुद्दामा कसैलाई पनि दोषी ठहर गरेको नजिर देखिँदैन । केही वर्षअघि न्यायाधीशले घुस लिएको बारे हिमाल मिडियाले समाचार लेखेको आरोपमा र न्यायाधीशलाई गाली गरेको आरोपमा अधिवक्ता शकुन्तला थापालाई अदालतले दोषी ठहर गर्दै सजाय समेत सुनाएको थियो । दुवै प्रकरणमा अदालतको अवहेलना गर्ने कुनै मनसाय नरहेको भनाइ आएपछि सफाइ दिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner