सडकबाटै गगन थापाले भने– श्रीमान् हामीलाई पनि मानहानि मुद्दा लगाइयोस्

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली काग्रेसका नेता गगन थापाले डा. गोविन्द केसीको पक्षमा प्रदर्शनमा उत्रिएकाहरुलाई मानहानि मुद्दा लगाउन चुनौती दिएका छन् ।

मानहानि मुद्दामा नागरिक अभियन्ता डा. केसीलाई पक्राउ गरेको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै मंगलबार बिहान माइतीघर मण्डलामा नेता थापाले अदालतप्रति इज्जतसहित आग्रह गर्दै केसीलाई मानहानी लाग्छ भने प्रदर्शनमा उत्रिएकालाई पनि मानहानि लाग्नुपर्ने चुनौती दिएका हुन् । उनले भने, ‘सम्मानित अदालतप्रति इज्जत गर्दै आग्रह गर्न चाहन्छु । श्रीमान्, डा. गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैैलाई त्यो मानहानी लागोस् ।’

२०६१ सालमा राजाविरुद्ध बोलेको अभियोगमा आफूविरुद्ध राजद्रोहको मुद्दा लागेको स्मरण गर्दै थापाले भने, ‘मेरो पक्षमा बहस गरिरहनु भएकाले सुवास नेम्वाङले श्रीमान्, एकछिन कुर्नुस्, बाहिर के नारा लागिरहेको छ सुनौं भन्नुभयो । नारा लाग्यो ‘ज्ञाने चोर देश छोड’ । त्यसपछि सुवास नेम्वाङले भन्नुभयो, श्रीमान् यदि मेरो पक्षमाथि जे बोल्यो भनेर मानहानी लागेको छ, त्यो राजद्रोह हो भने तल आएका सबै राजद्रोही हुन् । सबैलाई एकैपटक सजायँ दिनुपर्छ ।’

त्यसपछि आफूहरु तारेखमा रिहा भएको स्मरण गर्दै नेता थापाले अहिले अदालतको मानहानि होइन सम्मानसहित जनविश्वास कायम राख्न सडकमा उत्रिएको जानकारी दिए ।

न्यायालय कानुनको धारामा भन्दा जनविश्वासमा अडिएको हुने बताएका उनले भने, ‘सम्मानित अदालत कुनै कानुनको धारामा होइन, जनताको विश्वासमा अडिएको हुन्छ र जनताको विश्वास गुमाएको दिन लडखराउँछ ।’केसीलाई सोमबार राति पक्राउ गरिएको थियो । यसपछि मंगलबार बिहान केसी पक्राउको विरोधमा नेता थापासहित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र पनि सहभागी भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments