अदालत डा.केसीविरुद्ध जसरी प्रस्तुत भइरहेको छ, त्यो प्रतिशोधपूर्ण देखिन सक्ने खतरा- एमाले

  • 44
  •  
  •  
  •  
  •  
    44
    Shares

काठमाडौं, २५ पुस । एमाले सचिव प्रदीप ज्ञवालीले डा.गोविन्द केसीविरुद्ध सर्वोच्च अदालतको काम प्रतिशोधपूर्ण भए न्यायालयको मान घट्ने बताएका छन् ।

१४औं आमरण अनशनस्थलबाटै सर्वोच्चले प्रहरीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउने कार्यलाई उचित मान्न नसकिने ज्ञवालीको भनाइ छ । उनले डा.केसीको माग र विरोधको शैली सम्बन्धमा बहस हुन सक्ने भए पनि अदालत जसरी प्रस्तुत भइरहेको छ, यसले पूर्वाग्रह र प्रतिशोध देखिन सक्ने आशंकासमेत व्यक्त गरेका छन् ।

केसी पक्राउको विषयमा एमालेले औपचारिक रूपमा धारणा सार्वजनिक गरिसकेको छैन । कुनै नेता कार्यकर्ताले पनि केसीको पक्ष वा विपक्ष नलिइरहेको अवस्थामा एमाले पदाधिकारीको हैसियतमा रहेका सचिव ज्ञवालीले ट्विटमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

‘डा.केसीका माग र विरोधको शैली सम्बन्धमा बहस हुन सक्छ । तर अदालत उहाँको विरुद्ध जसरी प्रस्तुत भयो र भइरहेको छ, त्यसलाई किमार्थ उचित मान्न सकिन्न । काम र निर्णयमा प्रतिशोध, पूर्वाग्रह या अन्यथा गन्ध भेटियो भने न्यायालयको मान बढ्दैन, उल्टो घट्छ,’ ज्ञवालीले ट्विटमा लेखेका छन् ।

विगतमा एमाले खुला रूपमै केसीविरुद्ध लागेको थियो । केसीले मनमोहन मेडिकल कलेजविरुद्ध अनशन गरेपछि एमाले नेताहरू उनको विरोधमा लागेका हुन् । तर, सर्वोच्च अदालत आफैंले अवहेलनाको मुद्दा हाल्ने र रातारात पक्राउ गरी हिरासतमा राख्न लगाएपछि एमाले नेताहरूले अदालतको सो कार्यको विरोध जनाएका हुन् ।

कांग्रेस नेता गगन थापा, धनराज गुरुङ, विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र, नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईलगायत सडक प्रदर्शनमै उत्रेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments