वाम गठबन्धनले तयार पार्‍यो चार बुँदे मापदण्ड, चाँडै काम सक्न कार्यदललाई निर्देशन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुस । वाम गठबन्धनमा आवद्ध दल नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशसभा गठन र राष्ट्रिय सभा निर्वाचनका लागि चार बुँदे मापदण्ड तयार पारेको छ ।

भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपीशर्मा ओलीको निवासमा भएको भेटमा दुई दलका शीर्षनेताले मापदण्ड तयार पारेका हुन् । ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको मापदण्डमा प्रदेशसभा गठन र राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको मतलाई आधार बनाएर उम्मेदवार चयन गर्ने, विभिन्न ठाउँ र समुदायका प्रभावशाली व्यक्तिलाई प्राथमिकता दिने, पार्टी एकताको स्पिरिटलाई कायम राख्ने र दुवै पक्षको सन्तुलन कायम गरी सिट निर्धारण गर्ने उल्लेख गरिएको छ ।

मुख्य मन्त्री चयन र प्रदेशसभाको व्यवस्थापन लगायतका विषयमा पनि छलफल गरेका दुवै अध्यक्षले प्रदेश सरकार र राष्ट्रियसभा गठनका लागि गृहकार्य गर्न गठित कार्यदललाई चाँडै काम सक्न पनि निर्देशन दिएका छन् ।

यसअघि मंगलबार बसेको एमाले र माओवादी एकता संयोजन समितिको बैठकले प्रदेश सरकार र राष्ट्रियसभा गठनमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे, माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् ।

यसैबीच, एमाले एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका लागि आज थाइल्यान्डको बैंकक जाँदैछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments