जोखिमयुक्त वस्तीका पीडितको स्थानान्तरण सुरु

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २६ पुस  । भूकम्पले सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको सिन्धुपाल्चोकमा जोखिमयुक्त वस्तीको स्थानान्तरण कार्य शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पहलमा जिल्लामा पहिलो पटक १८ जना लाभग्राहीका लागि रु दुई लाखका दरले अनुदान दिएर सुरक्षित स्थानमा घडेरी खरिद गर्न लगाएको प्राधिकरणका कार्यकारी सदस्य धु्रवप्रसाद शर्माले बताए ।

प्राधिकरणको अगुवाई र जिल्ला प्रशासन कार्यालयको समन्वयमा जोखिमयुक्त बस्तीको रुपमा पहिचान भएको साविकको गाती गाविसका १८ घरधुरीलाई बाह्रबिसे नगरपालिका वडा नं–३ मा स्थानान्तरण गर्न जग्गा व्यवस्थापन गरिएको हो । सरकारले दिएको प्रतिपरिवार रु दुई लाख अनुदानमा लाभग्राहीले रकम थप गरी कम्तीमा साढे दुई आनादेखि ८ आनासम्म घडेरी खरिद गरेका छन् ।

जोखिमयुक्त बस्ती पहिचान भएका लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा किन्न प्रतिघर रु दुई लाख सरकारले अनुदान दिँदै आएको छ । जोखिमयुक्त वस्तीका पीडितले निजी आवास पुनःनिर्माण गर्न पनि रु ३ लाख पाउँछन् ।

जोखिमयुक्त लाभग्राहीका रुपमा पहिचान भई थप रु दुई लाख अनुदान पाई जग्गा खरिद गरेकाले १० वर्षसम्म घडेरी बेचबिखन गर्न पाइँदैन । तीन महिनाभित्र भूकम्प प्रतिरोधी मापदण्ड अनुसार घर पुनःनिर्माण गर्ने शर्तमा सरकारी अुनदान दिएर जग्गा हस्तान्तरण गरिएको प्राधिकरणका सचिव मधुसूदन अधिकारीले बताए ।

जोखिमयुक्त बस्ती स्थानान्तरणको प्रक्रियालाई अघि बढाउन कार्यकारी समिति सदस्य शर्मा, प्राधिकरणका सचिव अधिकारीसहितको टोली केही दिनदेखि सिन्धुपाल्चोकमा खटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको पहलमा यसअघि नुवाकोट, धादिङ, रसुवामा पनि जोखिमयुक्त वस्तीका लाभग्राहीलाई सुरक्षित स्थानमा सार्न जग्गा व्यवस्थापन गरिएको थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments