राष्ट्रिय एकता, सद्भाव र अखण्डता मक्किँदै गयो– पूर्वराजा ज्ञानेन्द्र

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ नेपालको सपना देखाउँदा राष्ट्रिय एकता, सामाजिक सद्भाव, सार्वभौमिक स्वतन्त्रता क्षेत्रीय अखण्डता मक्किँदै गएको बताएका छन् ।

२९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जारी गरिएको शुभकामना सन्देशमा पूर्वराजा शाहले ‘नयाँ नेपालको सपना देखाउँदै गरिएको राजनीतिक परिवर्तन पश्चात हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा क्षेत्रीय अखण्डता मक्किँदै गएको छ’ उल्लेख गरेका छन् ।

मौलिकता बाँचेको अवस्थामा मात्र आत्म गौरवकासाथ बाँचिरहन सकिने धारणा राखेका उनले मुलुकमा भइरहेको राजनीतिक घटना क्रमप्रति असन्तुष्टि जनाएका छन् ।

‘आफ्नै भूमिभित्र एउटा नेपालीले अर्को नेपालीलाई वैरभावमा देख्ने परिस्थिति बनेको वर्तमानमा हिमाल, पहाड र तराईमा बसोबास गर्ने हामी नेपालीलाई भौगोलिक एवं सामाजिक एकताको कडीमा राख्नुपर्ने आजको यथार्थलाई सबैले सगौरव आत्मसात् गर्नु पर्दछ’, उनले उल्लेख गरेका छन्, ‘निर्दयी कदम चाल्नेहरुलाई, जनतामा आएको सचेतनाले, नेपालको अस्तित्व नै खतरामा पर्ने त्रास उत्पन्न भइरहेको वर्तमानमा, सम्हालिएर अघि बढ्नु पर्ने वाध्यतामा पुर्याइ दिएको छ ।’

हालै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथसँग भेट गरेका पूर्वराजा ज्ञानेन्द्रले नेपालप्रति सम्मान भाव नराखी यसको एकता र सद्भाव विथोल्न भएका अनेकौं प्रयास अझै जारिरहेकाले राष्ट्रिय धर्म, परम्परा, संस्कृति, राष्ट्रिय एकता र स्थायित्वको निम्ति थप प्रतिवद्धताकासाथ जागृत हुनु परेको बताएका छन् ।

निषेधको राजनीतिले नयाँ नेपाल नबन्ने तर्क गरेका उनले पुरानो नेपालको जगेर्ना गरेर मात्र नयाँ नेपाल बनाउन सकिने वास्तविकता आत्मसात् गर्न भनेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले जारी शुभकामना सन्देशको पूर्णपाठ

आधुनिक स्वतन्त्र राष्ट्र नेपालको निर्माता एवं नेपाली एकताका धरोहर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९६ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको ऐतिहासिक अवसरमा म समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दछु । 

देश भनेकै मानवसमाजकै समष्टिगत एकता, मौलिक संस्कृति, धर्म, परम्परा र विशिष्ट पहिचानको समग्र रुप होे । देश रहे मात्र हामी र हाम्रो धर्म, संस्कृति, परम्परा एवं पहिचान रहन सक्दछ । हाम्रो मौलिकता बाँचेको अवस्थामा मात्र हामी आत्म गौरवकासाथ बाँचिरहन सक्दछौं । 

नयाँ नेपालको सपना देखाउँदै गरिएको राजनीतिक परिवर्तन पश्चात हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा क्षेत्रीय अखण्डता मक्किदैं गएको छ । आफ्नै भूमी भित्र एउटा नेपालीले अर्को नेपालीलाई वैरभावमा देख्ने परिस्थिति बनेको वर्तमानमा हिमाल, पहाड र तराईमा बसोबास गर्ने हामी नेपालीलाई भौगोलिक एवं सामाजिक एकताको कडीमा राख्नुपर्ने आजको यथार्थलाई सबैले सगौरव आत्मसात् गर्नु पर्दछ । निर्दयी कदम चाल्नेहरुलाई, जनतामा आएको सचेतनाले, नेपालको अस्तित्व नै खतरामा पर्ने त्रास उत्पन्न भइरहेको वर्तमानमा, सम्हालिएर अघि बढ्नु पर्ने वाध्यतामा पुर्याइ दिएको छ । नेपाली जनतामा निहित देशप्रतिको ममता भावले राष्ट्रिय जागरण पैदा गर्ने आशाको दियो जगाएको छ। तर नेपालप्रति सम्मान भाव नराखी यसको एकता र सद्भाव विथोल्न भएका अनेकौं प्रयास अझै जारिरहेको छ । त्यसैले हाम्रो राष्ट्रिय धर्म, परम्परा, संस्कृति, राष्ट्रिय एकता र स्थायित्वको निम्ति थप प्रतिवद्धताकासाथ जागृत हुन परेको छ । 

पुरानो नेपालको जगेर्ना गरेर मात्र नयाँ नेपाल बनाउन सकिने वास्तविकता आत्मसात् गर्दै राष्ट्रिय स्वाभिमान पुनरुत्थान तथा समृद्धिका निम्ति एकतावद्ध भई क्रियाशिल बनौं, यो नै राष्ट्र निर्माताप्रतिको सच्चा सम्झना र देशप्रतिको कर्तव्यबोध ठहरिनेछ।।
।।जय नेपाल।।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner