माघ १ गते टुँडिखेलमा थारु राष्ट्रिय माघी महोत्सव हुँदै
निता महर्जन /सबिना महर्जन
काठमाडौँ, २८ पुस ।थारु समुदायले मनाउदैँ आएको चाडपर्व मध्य ‘माघी पर्व’ ठूलो चाड हो । यो पर्व माघ १ गते विशेष रुपले मनाउने भएपनि महिनाभरी मनाउने चलन छ । तराई क्षेत्रमा विशेषगरी मनाइने यो पर्व पछिल्लो वर्षदेखि काठमाडौंमा विशेष महोत्सवको रुपमा मनाउने गरिएको छ ।
काठमाडौंमा शुक्रबार ‘थारु राष्ट्रिय माघी महोत्सव–२०७४’ आयोजक समितिले पुस ३० गते तिनकुने र माघ १ गते टुँडिखेलमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
सो महोत्सव कार्यक्रममा थारु समुदायको रीतिरिवाज, संस्कृति, भेषभुषा र परम्परा झल्कने विभिन्न स्टेलहरु राखिने समितिका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिए ।
माघी पर्वलाई भव्यरुपमा मनाउनको लागी सरकारले १५ लाख रुपैयाँ दिने भएको छ भने विभिन्न संघसंस्थाबाट पनि आर्थिक संकलन भइरहेको आयोजक समितिका सिताराम चौधरीले बताए ।
थारु समुदायले माघ १ गतेलाई माघी पर्वको रुपमा मनाउने गरिएपनि अन्य समुदायका मानिसले यसलाई मकर संक्रान्तिका रुपमा मनाउने चलन छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
