प्रेमी गुमाएकी अभागी हर्षिका

  • 158
  •  
  •  
  •  
  •  
    158
    Shares

मनिष पौडेल

‘सुजनलाई आफ्नै नसा काटेपछि हस्पिटलको इमर्जेन्सीमा भर्ना गरिएको छ रे नि !’, जक्सनको चिया पसलमा दिनेशले एकै सासमा सुनायो ।
अक्सर टोलका १७ देखि २४ वर्ष उमेर समूहका केटाहरु यहि जक्सनको चिया पसलमा दिन काट्ने गर्छन् । दिनेश, सुजन, भरत, बिक्की, सुधन, मन्जिल, कुमार, पुन्य, अजय सधैँ भेटिरहने साथी हुन् । एकै स्वभावका उनीहरुबीच धेरै कुरा मिल्छ । पसल अगाडि बसेर चुरोट खानु, कपाल कसको लामो भनेर नाप्नु, गाँजा माडेर भर्दै सल्काएर एक–एक पप तान्नु अनि नचाहिँदा कुरामा हाँस्दै अन्त्यमा झगडा गरेर आ–आफ्नो घरतिर लाग्नु उनीहरुको दैनिकीजस्तै छ । कुनै दिन गाँजाभन्दा माथिल्लो लेभलको एक पप तान्न पाउँदा यिनीहरुलाई दशैँ आएजस्तै आभास हुन्छ । यति मात्रै हैन, हातमा राखेर सेतो धुलो नाकले तान्न पाउँदा त यिनीहरु स्वर्गै पुगेकै अनुभूति गर्छन् ।

आज पनि अजय, पुन्य, सुधन र मन्जिल सधाझैँ उही जक्सनको चिया पसलमा बसेर जानी–नजानी शब्द मिलाएर नानाथरीका गीत गाउँदै थिए । दिनेशको ‘सुजन हस्पिटल भर्ना’ भएको वाक्यले यी चारै जनाकै मुख बन्द भयो । केहि बोल्ने स्थितिमै रहेनन्, एक–अर्कोलाई हेरिरहे । त्यही बेला बिक्की र भरत पनि आइपुगे ।

‘के भयो पाट्सहरुलाई ? पूरा डल्लै आँखा त यत्रो यत्रो परेर बसिरको छ त ?’, बिक्कीले दिनेशको कुममा अंगालो हाल्दै भन्यो ।
उमेरकै लेखा–जोखा गर्ने हो भने बिक्की र भरत अरु भन्दा एकदुई वर्ष जेठा होलान्, त्यै भएर होला ‘ब्रदर’ साइनो लगाउन भ्याएकै छन् । यी दुई नि फेरि मख्ख छन्, ठूलो मानिदिएकोमा ।

‘ब्रदर ! सुजन सोल्टाले नसा हान्देछ हिजो बेलुकीमा, आज पूरा उता हस्पिटलको इमर्जेन्सीमा छ रे, त्यसको छाम्माले मलाई कल गरेर भन्दैथियो’, दिनेशले सुस्तरी सुनायो ।

“अम्बो ! के भन्छ यो भाइ ? केटोले के पो गरेको ? ल्याङ भइहाल्यो नि । झन् उसकै लागि भनेर आज माल लिएर आ’को । हिजो मलाई दिउँसो कल गरेर ब्रदर लास्टई टेन्स भो माल मिलाउनु न भन्दै थियो । डल्लै माया लगेर झन् भाइले खान्छ भनेर ल्याइदिएको, गिधि भै’हाल्यो नि’, भरतले उही पारामा भन्यो ।

‘अब गोट्टी खाएर त के जानु यार साइकोलाई हेर्न, के पागल साइको हो त्यो सुजन भन्ने भाइ फेरि’, बिक्कीले दादागिरीको पारामा भन्यो ।
‘जाम न त जाम, नखाइ जाम’, माल र गोट्टी सुन्ने बित्तिकै अजयले मुख रसिलो र आँखा ठूल्ठूलो पार्दै भन्यो ।

जम्मा सातजना हस्पिटल जाने भए, तर बाइक भने तीनवटा मात्रै । एकछिन को कता बस्ने, को जाने, को नजाने भन्नेमै उनीहरु अलमल्लमा परे ।
‘के खोया जस्तो उभिरहेको ? तीनजना जाऔँ न खोलाको बाटो । त्यता कप्सहरु नि हुँदैन । पुन्य भाइ बाइक तिमी हाँक्ने ल, बिक्कीले पुन्यलाई बाइकको चावी दिँदै भन्यो ।

तीनवटा बाइकमा सातजना खोलाको किनारै किनार हस्पिटल जाँदै थिए । अगाडिकोमा चालक पुन्यसहित बिक्की र दिनेश, बीचकोमा चालक अजय र सुधन र अन्त्यकोमा भरतसँग मन्जिल बसेको थियो । सबैले चालक पुन्यको बाइकलाई पछ्याउदै जादै थिए ।
‘त्यस्की मा का……., कत्रो–कत्रो ढुंगा हो ? भाइ अलि बिस्तारो हाँक्न यार । चारवटा भयो भनेत गाह्रो हुन्छ त’, बिक्कीले पुन्यलाई बिस्तारै चलाउन आदेश दियो ।

‘म्याम…..के साह्रो धुलो हो जाऽऽऽ, त्यो मुला कुकुरको छाउरोलाई पिछाडी पार त भाइ’, भरतले मन्जिललाई अलिक ठूलो र धोद्रे स्वरमा भन्यो ।कोहि पनि पिछाडी कुद्न चाहेको थिएनन् । बालुवा र धुलो बराबरी खादैँ सातजना खोलाको बाटो जादैँ थिए । कसैको ढाड दुख्दै थियो त कसैको फुटेर चारवटा होला भन्ने पिर ।

‘भाइ अलिक स्पीड बढाउन, तनाव भैसक्यो मलाई’, भरतले मन्जिललाई छिटो कुदाउन भन्यो । मन्जिलले बाइकको स्पीड बढायो । ऊ अब पहिलो स्थानमा भयो । सबै बाइक चालकले उसलाई पछ्याउन थाले । ३० मिनेटको यात्रा उनीहरुलाई कयौँ मिनेट सरह भयो । साथीको त्यो अवस्थामा कसैको पनि मन शान्ति थिएन । सबै छिटो भन्दा छिटो हस्पिटल पुगेर सुजन हेर्न चाहन्थे । समय कोसँग कति छ भने उनीहरुलाई हेक्का थिएन । सँगै दिन कटाउने साथी जीवन मरणको दोसाँधमा थियो । बालुवामा बाइकको स्पीड र जीउको दुःखेको पनि आभास नै नगरी उनीहरु अघि बढिरहे । रगत कति बग्यो, कस्तो अवस्थामा सुजन हस्पिटलमा छ भन्ने कुराले उनीहरुको दिमागमा बेग्ला–बेग्लै अनुमान लगाउँथ्यो । सबै जनाको मुखमा अनेकन शब्द भएपनि उनीहरुको मनमा साथीप्रति अघोर माया र साथ थियो । परेको खण्डमा ज्यान लिन दिन सक्ने यिनीहरु आज आफ्नै साथीको दूरावस्था हेर्न जाँदैछन् ।

‘रोक् रोक् रोक् रोक्……’पार्किङ गरेर आइज भाइ“, बिक्कीले चालक पुन्यलाई बाइकबाट ओर्लिँदै भन्यो । इमर्जेन्सीमा कसैलाई पनि बिरामीसँग भेट्न दिएको थिएन । सबै जनाले सुजनको आमा र परिवारका अरु सदस्यहरुसँग कुरा गरे । बाबु चाहिँ नेपालमा थिएनन् । वैदेशिक रोजगारीको शिलशिलामा हर्कजित विगत ९ वर्षदेखि कतारमा थिए । हर्कजितको एक्लो सन्तान थियो सुजन । छोराको पालनपोषण र भविष्यसँग कहिलेपनि सम्झौता गर्न नचाहने हर्कजित छोराकै लागि विदेश भास्सिएका थिए । बावुको निगरानीमा नरहेको सुजन कहिलेदेखि कुलतमा फस्न थाल्यो आमा ममतालाई थाहै थिएन । छोराले २÷३ पटक छतमा टुक्रुक्क बसेर चुरोट तानेकोसम्म देखेकी थिइँन् ममताले । त्यत्तिखेर आँखाबाट आँशु झार्दै ममताले सम्झाएकी थिइँन् । सम्झाउनेक्रममा छोराको आँखा रातो देख्न थालेपछि भने अलि डराएकी थिइँन् । दुई दिनदेखि सुजनले पैसा मागिरहेको थियो ममतासँग । श्रीमान् कतारको जेलमा परेपछि पैसा आउने बाटो हराएको थियो उनीहरुको । ममताले पैसा दिन सकिनन् । सुजनलाई नशाको तलतलका कारणले तनाव भयो । उसले सहन सकेन र अन्त्यमा यो गति बनायो । सबैले यहि कुरा थाहा पाए हस्पिटल पुगेपछि ।

सबै जना त्यहाँबाट विदा मागेर निस्किन लागेका थिए । एउटी सेतो कपडा लगाएकी होचो कदकी केटी आएर सुजनको ‘को’ हुनुहुन्छ भनेर सोधिन् । सातजना साथीहरु सुजनलाई भेट्न र देख्न पाइन्छ कि भन्ने आशले त्यहिँ उभिरहेका थिए । उनीहरु बोल्नु अघि नै ‘हजुर ! म छु, सुजनकी आमा’, ममताले शंकोचसहित जिज्ञासु आँखाले ति युवतीलाई हेरेर भनिन् ।

‘यो औषधि चाँडै लिएर आउनुस्, ब्लड नि पाएको छैन । हामी ब्लड खोज्ने प्रयास गरिरहेका छौ । छिटो यो औषधि ल्याइदिनू’, औषधिको नाम लेखिएको कागज दिँदै सेतो वस्त्रधारी युवतीले भनिन् ।

युवतीको यो वाक्य टुंगिन पाएको थिएन, भित्रबाट एकजना अलि पाको गोरो अनुहारको तालु खुइले मान्छे उही सेतो कोट भिरेर बाहिर आयो ।
‘सरी, ममता जी । हामीले धेरै कोसिस गर्‍यौँ । नसा काटेपछि धेरै ब्लड बगेछ । उसलाई ल्याउन पनि अलि ढिलो भएको थियो’, सेता कोटधारीले मसिनो स्वरमा सुजनको अवस्थाबारे जानकारी गरायो ।

डक्टरको वाक्य टुंगिन नपाउँदै ममता भूइँमा ढलिन्, कसैले पनि उनलाई समाउन भ्याएनन् । ममतासँगै उभिएकी सुजनकी प्रेमिका हर्षिकाले समाउन त खोजी, तर उसका हातले ममताको मजेत्रो मात्र समाउन सक्यो । सिमेन्टको भूइँमा ठोक्किएको ममताको टाउकोबाट रगत बग्न थाल्यो । हस्पिटलमै यस्तो दुर्घटना भएकाले ममताको शरीर निर्जीव त हुन पाएन, तर उनको दिमागले भने काम गर्न छाड्यो । सुजनको शव बुझ्ने मानिस भएनन् । बुवा कतारको जेलमा थिए, आमा सोही हस्पिटलको आई.सी.यू. कक्षमा । सात दिन भइसकेको थियो सुजनको शव हस्पिटलको मुर्दा घरमा सुतेको ।

सबै साथी मिलेर केही रकमको जोरजाम गरे । भरत, पुन्य, अजय र बिक्की उमेरले अरुभन्दा अलि जेठा भएकाले पैसा उनीहरुकै साथमा थियो । ममताको उपचार र सुजनको शव निकालेर आर्यघाटसम्म पु¥याउने खर्चको इन्तजाम गरेर चारजना दुईवटा बाइकमा हस्पिटल जादै थिए । खोलाको बाटो त्यसमाथि बालुवा र धुलो उडेको ।

तातो खुन र हतासमा बाइक चलाइरहेको भरतले आगाडिबाट आइरहेको ट्रिपर राम्ररी देखेन । भरतले बाइकको ब्रेक त लगायो, तर ब्रेक सहि ठाउँमा सहि समयमा लागेन । भरत र पुन्य चढेको बाइक ट्रिपर मुनि पस्यो । अजय र बिक्की अलि पछाडि नै रहेकाले उनीहरु त्यो विभत्स मृत्यु हेर्न बाध्य भए । पैसा जस्तै निर्जीव बन्यो पुन्य र भरतको शरीरपनि । एकातिर सुजनको संवेदना हराएको शरीर हस्पिटलको शव गृहमा सुतिरहेको थियो भने ममताको जीउँदो लास आईसीयू कक्षमा । आँखा अगाडि भरत र पुन्यको पनि शरीर निर्जीव बन्यो ।

हर्कजितको इहलिला कतारमा अन्त्य भयो । हर्कजित र सुजन आफ्नो मृत्यु देख्दै मरे भने आमा ममता आफ्नो मृत्यु पर्खंदै बसिन् । हर्षिकाले आफ्नो प्रेमी र भविष्यको कर्म घर गुमाइन् भने साथीहरुले मनभित्र बसेको मित्रको परिवार नै गुमाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *