डा. केसीले तोडे अनशन, पाँच बुँदे सहमतिमा के छ ?

  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं, २९ पुस । अनशनरत डा. गोविन्द केसीले छैटौं दिनमा अनशन तोडेका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका केसीले सरकारसँग पाँच बुँदे सहमति भएपछि शनिवार बिहान अनशन तोडेका हुन् । उनले राजधानीमा जुत्ता सिलाउने काम गर्दै आएका सिराहाको लाहालनका नथनुया मियाको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने भन्दै फागुन ८ गतेसम्म पराजुलीले राजीनामा नदिए पुन अनशन बस्ने चेतावनी समेत दिएका छन् ।

न्यायलय भ्रष्ट भएको भन्दै उनले पराजुली प्रहरी हिरासतमा हुनु पर्नेमा आफूलाई राखिएको बताए । स्वास्थ्यमन्त्री दीपक बोहोरा र चिकित्सक केसीबीच शुक्रबार पाँच बुँदे सहमति भएको थियो ।

पाँच बुँदामा के छ ?

१. चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति आजको मितिले ७ दिनभित्र गठन गर्ने ।

२. श्री सर्वोच्च अदालतको मिति २०७४।९।२३ गतेको मुद्दा नं ०७०–wo–०५७१ को उत्प्रेषण मुद्दामा आदेश हुँदा “जहाँसम्म हाल नियुक्त भएका प्रा डा जगदीश प्रसाद अग्रवालको नियुक्ति छ, सो नियुक्तिलाई गैर कानुनी हो भन्ने पुष्टि गर्ने आधार नभएको” भनी गरिएको आदेश अनुसार नै निज डिन अग्रवालको नियुक्ति वैध भएको हुँदा निजको नियुक्तिलाई नै निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने ।

३. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अगाडि गरिएका सम्झौताहरु कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालयका कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने । आइओएमको अधिकार फिर्तासम्बन्धी त्रिवि नियमावली संशोधन गर्नका लागि तत्काल त्रिवि सभा (सिनेट)को विशेष बैठक बोलाउने ।

४. त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी मागसम्बन्धमा त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधामा बिस्तारका लागि आइओएम डिन कार्यालयले राख्ने बिस्तारित प्रस्तावमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले आवश्यक आर्थिक व्यवस्था गर्ने ।

५. डा गोविन्द केसीले आमरण अनशनको कार्यक्रम अन्त गर्ने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *