विश्वचर्चित आमरण अनशन

  •  
  •  
  •  
  •  
  •  

बिपी कोइराला साइत हेराएरै बसेको आमरण अनशन नेपालको इतिहासमा चर्चित छ । ००५ सालमा जेल परेपछि उनले कृष्णप्रसाद भट्टराईका जेठा दाजु बटुकप्रसादले जुराइदिएको तिथिमा अनशन सुरु गरेका थिए । अक्षय तृतीयाको दिन सुरु गरेको कार्य शुभ हुने भनेपछि बिपी त्यही दिनबाट अनशन बसेका थिए । बिपीको २९ दिने त्यो राणाविरोधी अनशनपछि छोटा र साना अनशन देशमा धेरै भए । तर, केही वर्षयता त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको अनशन चर्चामा छ । उनी १४ पटक अनशन बसिसकेका छन् । शुक्रबार मात्रै सरकारसँग सहमति गरेर १४औँ अनशन तोडेका उनले माग पूरा नभए पुनः सुरु गर्ने घोषणा गरिसकेका छन् । नेपालमा अर्को चर्चित अनशन हो, गोरखाका द्वन्द्वपीडित अधिकारी दम्पती नन्द्रप्रसाद र गंगामायाको । अनशन सुरु गरेको तीन सय २९ दिन (६ असोज ०७१)मा नन्द्रप्रसादको मृत्यु भइसकेको छ । तर, गंगामाया अहिलेसम्म अनशनरत छिन् । श्रीमान्को मृत्युपछि सरकार र मानावअधिकारवादीको आग्रहमा २ कात्तिक ०७१ मा तीन सय ५८ दिन लामो अनशन तोडेकी उनले आफ्ना माग पूरा नभएपछि पुनः सुरु गरिन् । वीर अस्पतालमै सुरु गरेको अनशन अहिलेसम्म उनले जारी राखेकी छिन् । तर, नेपालबाहिर पुग्दा विश्वमा कैयौँ ठुल्ठूला आमरण अनशन भएका छन् । नयाँ पत्रिकाका निर्वान झापालीले एजेन्सीहरूको सहयोगमा विश्वचर्चित केही अनशनबारे रिपोर्ट तयार पारेका छन् :

भारत मनिपुरकी इरोम चाणु शर्मिला मह खाएर १६ वर्ष लामो अनशन तोड्दै

सबैभन्दा लामो अनशन
सन् २००० मा भारतको मनिपुरमा एक वर्षभन्दा लामो समय सरकारविरोधी आन्दोलन चल्यो । त्यो आन्दोलनमा सेनाको गोली लागेर १० जना सर्वसाधारणको प्राण गयो । यो नरसंहारले एउटी महिलालाई विक्षिप्त बनायो । इरोम चाणु शर्मिला नामकी ती महिलाले नरसंहारको विरोध गर्दै सेनाविरुद्ध मुद्दा हाल्ने तयारी गरिन् । तर, सम्भव भएन । दंगाफसादका क्रममा निर्दोषकै हत्या भए पनि भारतमा सेनाविरुद्ध मुद्दा दायर गर्न मिल्दैन ।

त्यसपछि उनले आमरण अनशनको बाटो रोजिन् । निर्दोष सर्वसाधारणको हत्या गर्ने सैनिकविरुद्ध पनि मुद्दा हाल्न पाउनुपर्ने माग राख्दै ५ नोभेम्बर २००० मा शर्मिलाले अनशन सुरु गरिन् । २८ वर्षको छँदा अनशन सुरु गरेकी उनले सोचेकीसम्म थिइनन् होला कि आफ्नै अनशन संसारकै सबैभन्दा लामो हुनेछ भनेर ।

१६ वर्षसम्म अनशन बस्दा पनि माग पूरा नभएपछि उनले आन्दोलनको स्वरूप फेरिन् । २६ जुलाई २०१६ मा मह खाएर अनशन तोडिन्, राजनीतिमा होमिने निधो गरिन् । र, २०१७ मा मनिपुरको मुख्यमन्त्रीमा प्रतिस्पर्धा गरिन् । तर, ‘आइरन लेडी’का रूपमा अन्तर्राष्ट्रिय ख्याति पाएकी उनी केवल ९० भोट मात्रै ल्याएर हारिन् ।

१९८१ को आइरिस अनशन

१९८१ मा आयरल्यान्ड रिपब्लिकको एक टापुमा रहेको कारागारका कैदीहरूको ५३ दिन लामो अनशनमा मृत्यु भएका बबी सेन्ड्सको अन्तिम संस्कारमा सहभागी ।

सन् १९८१ मा आयरल्यान्ड रिपब्लिकको एक टापुमा रहेको कारागारका कैदीहरूले पाँच वर्ष लामो विरोध र संघर्षपछि अमरण अनशन सुरु गरेका थिए । उनीहरूको अनशनले विश्वमै तरंग ल्याएको थियो । युद्धबन्दीलाई विशेष तहबाट हटाएर साधारण कैदीको दर्जा दिइएपछि १९७६ मा विरोधका कार्यक्रम सुरु गरेका थिए । १९८० मा भएको पहिलो आमरण अनशन ५३ दिनसम्म चलेको थियो, सात कैदी सहभागी भएका थिए । संघर्षको ५ वर्षपछि १९८१ मा दोस्रो अनशन सुरु गरे । यो अनशन कैदी र तत्कालीन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरबीचको टक्करका रूपमा विश्वभर चर्चित भयो । अनशन बसेका एक कैदी बबी स्यान्ड्लाई संसद् सदस्य बनाएपछि चर्चा बढेको थियो । यद्यपि, उनले अनशन त्यागेनन् ।

अनशनकै क्रममा १० जना कैदीको मृत्यु भएपछि उक्त अनशन फिर्ता लिइएको थियो । मृत्यु हुनेमा स्यान्ड्स पनि थिए । उनको अन्तिम संस्कारमा एक लाखभन्दा बढी मानिस उपस्थित थिए । सो आमरण अनशनले आयरल्यान्डको राष्ट्रिय राजनीतिमा उथलपुथल मच्चायो भने ‘सिन फेन’लाई त्यहाँको मुख्य पार्टी बनाउन पनि मद्दत पुर्‍यायो ।

ठूलो सामूहिक अनशन
८ जुलाई २०१३ मा क्यालिफोर्नियाको पेलिकन बे स्टेट प्रिजनका २९ हजार कैदीले सामूहिक आमरण अनशन सुरु गरे । उनीहरूले एकान्त कारावासको विरोध गर्दै अनशन सुरु गरेका थिए । उनीहरूको समर्थनमा क्यालिफोर्नियाकै अर्को जेल हाई डेजर्ट स्टेट प्रिजनका कैदीले पनि अनशन सुरु गरे । उनीहरूले सफा कारागार, राम्रो खाना र पुस्तकालयको राम्रो व्यवस्था गरिनुपर्ने थप माग राखेका थिए । यो सबैभन्दा लामो समय र सबैभन्दा धेरैजना सहभागी भएको सामूहिक अनशन थियो ।

सहभागीहरू अन्न–पानी केही नखाई कठोर अनशन बसेका थिए । उनीहरू कारगारले आयोजना गरेका व्यायामलगायतका कुनै पनि कार्यक्रम र क्रियाकलापमा सहभागी भएनन् । उनीहरूको मागमा अदालती प्रक्रियाबाट सुनुवाइ हुने भनिएपछि धेरैले अनशन त्यागे । तर, एक सयजना कैदीले अनशनलाई निरन्तरता दिए । संसद्का विधायकहरूले उनीहरूको माग सम्बोधन गर्ने वाचा गरेपछि ५ सेप्टेम्बर २०१३ मा मात्रै अनशन तोडे ।

गान्धीको अनशन
अहिंसावादी आन्दोलन गरेर बेलायती साम्राज्यवादलाई भारतबाट भगाउन सफल भएका अहिंसाका पुजारी महात्मा गान्धी आफ्नो जीवनमा धेरैपटक अनशन बसे । उनी जेल परेपछि भारतमा बढेको हिन्दू र मुस्लिमबीचको दूरीले गृहयुद्ध निम्तिने डर भएपछि गान्धी सन् १९२४मा तीन हप्ता लामो अनशन बसे । उनको उद्देश्य हिन्दू र मुस्लिमको दूरी न्यूनीकरण गर्नु थियो ।

यस्तै, सन् १९३२ मा दलितका लागि छुट्टै मतदान केन्द्र बनाइएपछि उनी फेरि पाँच दिन अनशन बसेका थिए । उक्त आन्दोलनपछि भारतमा दलितका लागि सहज वातावरण निर्माण भएको थियो भने, अधिकार थप भएको थियो ।

सन् १९४३ मा उनले ‘भारत छोडो’ आन्दोलनकै क्रममा ब्रिटिस सरकारलाई थप दबाब दिन जेलभित्रै अनशन सुरु गरेका थिए । गान्धीको अनशन र थप अहिंसात्मक आन्दोलनकै कारण भारत स्वतन्त्र भएको थियो । भारतले स्वतन्त्रता पाएपछि सन् १९४८ मा उनी फेरि अनशन बसेका थिए ।

पत्रकारको अनशन

इस्लामी अतिवादी संगठन हमासमा संलग्न रहेको आरोपमा कैद गरिएपछि ९६ दिन आमरण अनशनमा बसेका प्यालेस्टाइनी पत्रकार अल–किक ।

२१ नोभेम्बर २०१५ मा प्यालेस्टाइनी पत्रकार मोहम्मद अल–किकलाई इस्लामी अतिवादी संगठन हमासमा संलग्न रहेको भन्दै कैद गरिएको थियो । साउदी अरेबियाको अल अल्मद टिभी नेटवर्कमा कार्यरत पत्रकार अल–किकले सो आरोपको खण्डन गर्दै २५ नोभेम्बरमा आमरण अनशन सुरु गरे । उनले कारागारमा सोधपुछका क्रममा धेरै यातना दिइएको भन्दै अनशन बसेका थिए । ९६ दिनसम्म चलेको उनको अनशन संसारका सबैभन्दा लामो अनशनमध्येको एक हो । २१ जुनमा रिहा गर्ने भनिए पनि एक महिनाअगावै २ मेमा रिहा हुने भएपछि उनले अनशन तोडेका थिए । अनशन अवधिभर उनले पानीबाहेक केही पनि खाएनन् । सुरुमा डाक्टरबाट उपचार नगराउने भने पनि पछि आकस्मिक निधन हुन सक्ने सुझाब डाक्टरले दिएपछि डाक्टरकै रोहबरमा पानी दिने र उपचार गर्ने काम भएको थियो ।

चाभेजको ‘फास्ट फर लाइफ’
सिजर चाभेज सन् १९२७ मा अमेरिकाको किसान परिवारमा जन्मिएका थिए । ठगीमा परेर घरखेत सबै गुमाएका चाभेजको परिवार विस्थापित नै भयो । उनले पढाइ छाडेर क्यालिफोर्नियामा एउटा कृषि फारममा मजदुरी गरे । त्यसवेला मजदुरलाई दासजस्तै व्यवहार गरिन्थ्यो । चाभेजले त्यसको विरुद्धमा आवाज उठाए । मजदुर एकता बढाउन अघि बढे । उनले सन् १९६२ मा नेसनल फार्म वर्कर्स एसोसिएसन नामको संगठन बनाएर कृषि मजदुरको हकमा संघर्ष सुरु गरेका थिए ।

अहिंसामा विश्वास गर्ने चाभेजले क्यालिफोर्नियाभर धर्ना, र्‍याली, मार्चपासलगायत विरोधका कार्यक्रम गरिरहे । यही क्रममा उनले ‘फास्ट फर लाइफ’ अर्थात् ‘जीवनका लागि भोक हडताल’ नामको आमरण अनशन सुरु गरे । चाभेजका मुख्य माग मजदुरको स्वास्थ्यमा परेका नकारात्मक असर र विषादीको प्रयोगका कारण मजदुरका बालबच्चाको स्वास्थ्यमा परेको असरबारे सम्बोधन हुनुपर्ने थियो । अनशन बसेको ३६ दिनपछि उनका माग पूरा गरिए ।

मजदुर हकका लागि निःस्वार्थ लडेका कारण उनी विश्वभर चर्चामा आइसकेका थिए । उनी यही योगदानका लागि तीनपटकसम्म नोबेल शान्ति पुरस्कारका लागि छनोट पनि भए । जीवनमा मजदुर हकका लागि १४ पटकसम्म अनशन बसेका उनको १९९३ मा मृत्यु भएको थियो । उनी अन्तिमपटक अनशन बसेको घर क्यालिफोर्निया सरकारले सम्पदा सूचीमा राखेको छ ।

प्यालेस्टाइनी कैदीको अनशन

इजरायली जनताको तानाशाही प्रवृत्ति र राष्ट्र प्रमुखविरुद्ध प्यालेस्टाइनी कैदीको सामूहिक अनशन ।

सन २०१२ मा दुई हजार प्यालेस्टाइनी कैदीले इजरायली जनताको तानाशाही प्रवृत्ति र राष्ट्र प्रमुखको विरुद्धमा सामूहिक भोक हडताल सुरु गरे । उनीहरूको मुख्य माग शिक्षाको अवसर दिइनुपर्ने र एकान्त कारावास गर्न नपाउने थिए । एक महिनासम्म अनवरत अनशन बसेपछि उनीहरूको संघर्ष केही हदसम्म सफल भयो । इजरायलले लचकता अपनाउने निर्णय गर्दै चर सय प्यालेस्टाइनी कैदीलाई परिवारसँग भेट्न पाउने अनुमति दियो । त्यस्तै, इजरायलका कारागारमा पहिलोपल्ट कैदीहरूका लागि टेलिफोन र टेलिभिजनको व्यवस्था पनि गरियो । आमरण अनशनको इतिहासमा यो दोस्रो ठूलो सामूहिक अनशन थियो ।

के हो अनशन ?
कुनै पनि विषयमा विरोध या फरक मत जनाउने अहिंसात्मक तरिका हो, अनशन । सरकारी निर्णय, नयाँ नीतिनियमको कार्यान्वयन वा पुरानाको संशोधनलगायत विषय तथा त्यसमाथि पुनर्विचार वा परिवर्तन गराउन अनशनमार्फत दबाब दिने विश्वव्यापी चलन छ । अनशनको इतिहास पल्टाउँदा त्रेता युगसम्म पुगिन्छ । संसारको पहिलो अनशनबारे रामायणको अयोध्या काण्डमा उल्लेख गरिएको छ । वनवास गएका दाजु रामलाई फर्काउन हरप्रयास गर्दा पनि सम्भव नभएपछि दाजु अयोध्या नफर्किएसम्म केही नखाने, कहीँ नजाने र राजगद्दी पनि नसम्हाल्ने भन्दै भाइ भरत अनशनमा बसेका थिए । पछि, रामले सम्झाई–बुझाई गरेर भरतलाई आफ्नो खराउ दिएर मनाएको रामायणको कहानी छ ।

अनशन बस्दा सुरुका तीन दिन शरीरले त्यहीँ भएको ग्लुकोजबाट ऊर्जा लिन्छ । तर, त्यसपछि कलेजोले ‘केटोसिस’ नामक प्रक्रियाबाट शरीरमा भएको बोसो प्रशोधन गर्न थाल्छ । तीन हप्तामा बोसोको मात्रा कम भएपछि शरीर भोकमरीको अवस्थामा पुग्छ र मांशपेसीसहित अन्य महत्वपूर्ण अंगलाई खानाको रूपमा प्रयोग गरेर शरीरमा ऊर्जा प्रसारण गर्न थाल्छ । ३०–४० दिनपछि शरीरको ‘बोन म्यारो’ पनि खिइन थाल्ने भएकाले अनशनकारीको ४५ देखि ७५ दिनभित्र मृत्यु भएका धेरै उदाहरण छन् । त्यसैले लामो समय अनशन बस्नेहरूले ठोस पदार्थ नखाए पनि तरल पदार्थ खाने गर्छन् । या त उनीहरूलाई अस्पतालमा राखेर नसाबाट तरल पदार्थ दिने गरिन्छ । नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner