यस्तो पनि : एउटा नरिवललाई १० लाख

  •  
  •  
  •  
  •  
  •  

भारतको पुणेमा एक किसानले १० लाख रुपैयाँमा एउटा नरिवल खरिद गरेका छन् । मन्दिरमा चढाइएको विशेष नरिवललाई बोलकबोलमार्फत किसानले १० लाख रुपैयाँमा किनेका हुन् । पुणेमा ऋण तिर्न नसकेर धेरै किसानले आत्महत्या गर्ने गरेका छन्, तर त्यहाँ धनाढ्य किसानको कमी पनि छैन । जसले तीन वर्षदेखि लगातार महँगो मूल्य हालेर मन्दिरमा चढाएको एउटा नरिवल किन्ने गरेका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार पुणेको कोइली गाउँमा भानोब भगवान् उत्सव मनाइने गरिन्छ । उत्सवको अन्तिम दिन भगवान्लाई नरिवल चढाइन्छ र ती नरिवल बिक्रीका लागि मन्दिर व्यवस्थापन समितिले लिलामी थाल्छ । त्यसपछि उपस्थित भक्तजनमध्ये जसले बढी मोल कबोल गर्छ, उसैले नरिवल खरिद गर्छ । पछिल्लो तीन वर्षदेखि एउटै किसानले सबैभन्दा बढी मूल्य हालेर नरिवल खरिद गरिरहेका छन्, उनको नाम रेश्मा सुभास बन्सोडे हो ।

त्यस क्षेत्रमा मन्दिरमा चढाएको नरिवल जसले खरिद गर्छ, त्यसको परिवारमा खुसी छाउँछ भन्ने मान्यता व्याप्त छ । जसकारण प्रत्येक वर्षको भानोब भगवान् उत्सवमा त्यस क्षेत्रका सयौँ धनी किसान नरिवल खरिदका लागि तयार हुने गर्छन् । यो वर्ष नरिवलको मूल्य ५० हजार भारुबाट सुरु भएको थियो । पाँच मिनेटभित्र तीन किसानले भाउ बढाउन सुरु गरेका थिए ।

५० हजारबाट एकैपटक २ लाख भारुको बोली लगाइएको थियो । लगत्तै बन्सोडेले तीन लाख भारु दर्ज गरे । त्यसपछि सबैजना एक छिन चुप लागे र अनुमान गर्न थालियो कि बन्सोडे परिवारले नरिवल खरिद गर्न लागेका छन् ।

तर, बोली लगाउने समय समाप्त हुन लाग्दै गर्दा खण्डु सातव नामका किसानले साढे ६ लाख रुपैयाँको बोली लगाए । उनले नरिवल खरिद गरेरै लैजाने सोचका साथ घरबाट नौ लाख रुपैयाँ बोकेर मन्दिर आएका थिए ।

उनले साढे ६ लाख रुपैयाँको बोली लगाएपछि नरिवल पाउने अपेक्षा पनि गरेका थिए । किनभने, गत वर्ष पाँच लाखमा नरिवल बिक्री भएको थियो । सन् २००० देखि बोली लगाएर नरिवल खरिद गर्ने प्रचलन सुरु भएको थियो ।

साढे ६ लाख रुपैयाँ मूल्य पुगेपछि पनि बन्सोडे परिवार बोली लगाउन रोकिएन, यस्तो दृश्य देखिइरहेको थियो कि बन्सोडे परिवारलाई उक्त नरिवल जुनसुकै मूल्यमा भए पनि पाउनुपर्ने थियो । किनभने, ‘भगवान्को नरिवल’ बन्सोडे परिवारले पाँचपटक खरिद गरिसकेको छ ।

त्यसयता उनीहरूको खेती विस्तार हुन थालेको छ र परिवारमा खुसी छाउन थालेको छ । त्यसैले, बन्सोडे परिवारले बोली लगाउने समय सकिनै लाग्दा १० लाख रुपैयाँ कबोल गर्‍यो । अब भने अरू कुनै किसानले थप बोली लगाउने आँट गरेनन् । बन्सोडे परिवारले अबको एक वर्षसम्म घरमा राखेर नरिवलको पूजा गर्ने र अर्को वर्षको उत्सवमा इन्द्रायणी नदीमा विसर्जन गर्ने जनाएको छ । नयाँ पत्रिकाबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner