एमाले युवा नेताको ‘टार्गेट’ मा योगेश भट्टराई ! भन्छन्, ‘ओलीको गुलामी गरेर मन्त्री बन्दिनँ’

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० पुस । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको गृहकार्य अन्तिम तयारीमा पुगेको छ । दिनहुँजसो कार्यदलको बैठक बसिरहेको छ । यही बीचमा पार्टी एकीकरण र त्यसको विपक्षमा पनि धारणा सार्वजनिक भइरहेका छन् ।

तर सबैभन्दा ‘टार्गेट’ मा एमाले सचिव योगेश भट्टराई परेका छन् । गत आइतबार पेसागत विशेष जिल्ला कमिटीले गरेको कार्यक्रममा सचिव भट्टराईले पार्टी एकतापछि ओली र प्रचण्ड, माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाललाई एकैपटक राजनीतिबाट सन्यास लिन सुझाव दिएपछि उनी सबैको टार्गेटमा परेका हुन् ।

भट्टराईको त्यस्तो अभिव्यक्ति सार्वजनिक भएलगत्तै एमाले सचिव भट्टराईको भनाइ मुखबाट खस्न नपाउँदै एमालेका अर्का नेता विष्णु रिमालले प्रतिवाद गर्ने गरे । उनले भट्टराईले ओलीकै बिरासतमा जितेको मात्र भनेनन्, ‘माकाफुईं’ अर्थात् योगेशलाई बाँदरको फुर्तीसम्म भन्न भ्याए ।

भट्टराई, रिमालसँगै उपमहासचिव घनश्याम भुसाल पनि विवादमा तानिएका छन् । भुसालले त अब जनताको बहुदलीय जनवादको औचित्य समाप्त भएको घोषणा नै गरिसकेका छन् । यिनै कारण अबको सरकारमा युवा नेताहरूबीच एकअर्कोलाई रोक्ने विवाद सतहमा आएको विश्लेषण गरिएको छ ।

योगेशलाई मन्त्री हुनबाट रोक्न ओली निकट केही युवा नेताहरू सक्रिय छन् । दुई वर्षअघिको ओली सरकारमा राजनीतिक सल्लाहकार रहेका रिमाल र उद्योगमन्त्री भएका महेश बस्नेतलगायतका नेताहरू योगेशलाई रोक्न चाहन्छन् ।

योगेश भट्टराईले भने ओलीसँग आफ्नो सम्बन्ध बिगार्ने तत्वहरू सक्रिय रहेको प्रतिक्रिया दिएका छन् । ‘अध्यक्षसँगको सम्बन्ध बिगारिदिने, उत्तेजित बनाउने प्रयत्न भएको छ,’ आइतबार एक दैनिक पत्रिकासँगको अन्तर्वार्तामा योगेशले भनेका छन् । नेताहरूसँगै ‘समाचारका दलालहरू’ पनि नेताबीच भिडाउन सक्रिय रहेको योगेशले आरोप लगाएका छन् । उनले आफू कुनै पनि हालतमा ओलीको गुलामी गरेर मन्त्री बन्न नचाहेको बताएका छन् ।

निर्वाचनका बेला ताप्लेजुङ पुगेर एमाले अध्यक्ष केपी ओलीले आमसभामा भनेका थिए, ‘तपाईहरू योगेशलाई निर्वाचन जिताएर पठाउनुस्, म मन्त्री बनाएर ताप्लेजुङ पठाइदिन्छु ।’

तर, एमाले र माओवादी एकताको विषयले योगेश चौतर्फी आक्रमणमा परेका छन् । उनी पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट छन् । उनी पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं ६ बाट पराजित बनेका थिए । र, अहिलेसम्म मन्त्री बन्न नपाउने युवा नेतामा योगेश अगाडि छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *