चारभन्दा बढी बच्चा जन्माउने दम्पतीलाई प्रोत्साहन रकम दिने गिर्जाघरको घोषणा

  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

एजेन्सी, ३० पुस । भारतको उत्तर–पूर्वी राज्य मिजोरममा एउटा गिर्जाघरले चार वा सोभन्दा बढी बच्चा जन्माउने मिजो जनजातिका दम्पतीलाई प्रोत्साहन रकम दिने घोषणा गरेको छ । त्यहाँ निरन्तर जन्मदर घट्न थालेपछि गिर्जाघरले पछिल्लो कदम चालेको हो । यद्यपि उक्त घोषणाबारे सञ्चारमाध्यममा चर्चा भएपछि गिर्जाघरले त्यसबारे समीक्षा गर्ने जनाएको छ ।

मिजोरममा खासगरी मिजो जनजातिमा घट्दो जन्मदरलाई लिएर त्यहाँका मिजो संगठन र गिर्जाघर निकै चिन्तित रहेको बीबीसीले जनाएको छ । सो राज्यका दुई ठूला गिर्जाघर प्रेस्बिटेरियन र द बापटिस्ट चर्च अफ मिजोरमले बढी सन्तान जन्माउन निरन्तर आह्वान गर्दै आएका छन् । हालै लुंगलेई शहरस्थित बापटिस्ट गिर्जाघरको शाखाले सो क्षेत्रका खासगरी मिजो दम्पतीले चार वा सोभन्दा बढी बच्चा जन्माए प्रोत्साहन स्वरूप रकम दिने घोषणा गरेको थियो ।

गिर्जाघरले चौथो बच्चाका लागि चार हजार भारु, पाँचौँका लागि पाँच हजार र सोही क्रमअनुसार पछिका बच्चाका लागि प्रोत्साहन रकम दिने जनाएको छ । गिर्जाघरको त्यस्तो घोषणाबारे मिश्रित प्रतिक्रिया आइरहेको बताइएको छ । कतिपयले त्यसको सराहना गरिरहेका छन् भने कतिपयले गैरजिम्मेवार कदम भनेका छन् ।

बापटिस्ट गिर्जाघरका प्रमुख दुलाले भने, ‘त्यो घोषणाबारे अन्तिम निर्णय लिइसकिएको छैन । घोषणाबारे छिट्टै हामीले समीक्षा गर्नेछौँ ।’ मिजोरममा जन्मदर निकै कम रहेको भन्दै त्यो चिन्ताको विषय भएको उनले बताए । मिजो समुदायका मानिसको जनजीवनका अनेकौँ पक्षमा गिर्जाघरको महत्वपूर्ण भूमिका रहने गरेको छ । लुंगलेई बजार क्षेत्रमा गिर्जाघरको दबदबा रहिआएको छ । राजधानी आइजलका एक २९ वर्षीया वकिल एमिली छांगते गिर्जाघरको पछिल्लो कदमको समर्थन गर्छिन् ।

त्योसँगै आर्थिक रूपमा कमजोर ग्रामीण क्षेत्रका मानिसलाई सरकारले पनि सहयोग गर्नुपर्ने उनको धारणा छ । उनी भन्छिन्, ‘मिजोरम सानो राज्य हो र यहाँ मिजो जनजातिको जनसंख्या बढ्न सकिरहेको छैन । अतः गिर्जाघरले सही निर्णय लिएको छ ।’

आइजलमा ट्राभल एजेन्सी चलाउने मिरियम बोचुंगको पनि त्यस्तै धारणा छ । उनले भनिन्, ‘मिजोरममा मिजो समुदायको जनसंख्या निकै कम छ र यो चिन्ताको विषय हो । अरू जातिको जनसंख्या चाहिँ बढिरहेको छ ।’ मिरियमले जाति विशेषको नाम उल्लेख नगरे पनि ग्रामीण क्षेत्रमा चकमास र ब्रुसलगायतका अल्पसंख्यक जाति पनि बस्छन् ।

सन् २०११ को जनगणना अनुसार मिजोरमको जनघनत्व प्रति वर्गकिलोमिटर ५२ जना रहेको छ, जुन अरूणाचल प्रदेशपछि सबैभन्दा कम हो । तथ्यांकअनुसार यो दशकमा मिजोरमको जनसंख्या वृद्धि २३.४८ प्रतिशत रहेको छ जबकि पछिल्लो दशकमा २९.१८ प्रतिशत थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner