एमालेमा अग्नि खरेलदेखि युवराज ज्ञवालीसम्म राष्ट्रिय सभामा जान लबिङमा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० पुस । एमालेले माघ ४ गते राष्ट्रिय सभामा उम्मेदवार हुनेको नाम टुंगो लगाउने भएको छ । पार्टी अध्यक्ष केपी ओली स्वास्थ्य उपचारपछि थाइल्यान्डबाट फर्केलगत्तै एमालेले राष्ट्रिय सभामा उम्मेदवार हुनेको नाम छनोट गर्ने भएको हो ।

स्रोतका अनुसार ५६ सदस्यीय निर्वाचित राष्ट्रिय सभा सदस्यमध्ये एमालेबाट २६ जना विजयी हुनेछन् । सोही कारण एमालेमा राष्ट्रिय सभामा जान सयभन्दा बढी नेताहरूले लबिङ सुरु गरेको बताइएको छ ।

सबैभन्दा बढी प्रदेश नम्बर १, ३ र ४ नम्बर क्षेत्रबाट राष्ट्रिय सभामा उम्मेदवार बन्न नेताहरू दौडधूपमा लागेका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अवसर नपाएका नेताहरू अहिले राष्ट्रिय सभामा जान लबिङमा लागेका छन् । प्रदेश र प्रतिनिधिसभाको समानुपातिकमा नपरेका नेताहरूले अहिले धेरै इच्छा देखाएको स्रोतले बतायो ।

प्रदेश नम्बर २ मा एमालेबाट धेरै सदस्य निर्वाचित नहुने भएकाले सो प्रदेशबाट राष्ट्रिय सभामा जान त्यति धेरै इच्छुक देखिएका छैनन् । प्रदेश २ मा एमालेबाट एक वा दुईजना मात्रै राष्ट्रिय सभाको सदस्यमा निर्वाचित हुन सक्ने अवस्था छ ।

राष्ट्रिय सभामा जान लबिङ गर्ने नेताहरूमा अग्नि खरेल, जगन्नाथ खतिवडा, रेवतीरमण भण्डारी, गुरु बराल, सुमन प्याकुरेल, प्रदीप नेपाल, वेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल, काशीनाथ अधिकारी, आनन्दप्रसाद पोखरेल, डा.गंगालाल तुलाधर, देवशंकर पौडेल, शिवप्रसाद भण्डारी, बालकृष्ण शिवाकोटी, देवी ज्ञवालीलगायत रहेको बताइएको छ ।

यस्तै, गणेश तिमल्सिना, श्रीनाथ बराल, तुलबहादुर गुरुङ, दिपक अधिकारी, वाचस्पति देवकोटा, टुकराज सिग्देल, खिमलाल भट्टराई, ठाकुर गैरे, गोकुल घर्ती, नेत्र पन्थी, युवराज ज्ञवाली, लोकबहादुर डाँगी, निरज आचार्य, शेरबहादुर कुँवर, भानुभक्त जोशीलगायत रहेको स्रोतले बताएको छ ।

एमालेले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पराजितहरूलाई राष्ट्रिय सभा सदस्यमा उम्मेदवार नबनाउने मापदण्ड बनाएको छ । जसका कारण उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा जानबाट वञ्चित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments