माओवादी नेता भण्डारीको दृष्टिकोणः चीन र भारतको भन्दा नेपालको विकास तिव्र गतीमा हुनसक्छ, तर कसरी ? (भिडियो)

  • 999
  •  
  •  
  •  
  •  
    999
    Shares

काठमाडौं, ११ माघ । नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य हेमराज भण्डारी प्रष्ट धारणा राख्ने वैचारिक नेता हुन् । शालिनता र बौद्धिक छवि उनको विशेषता हो । उनी २०५६ साल देखि माओवादी आन्दोलनमा लागे, लामो समय संघर्षमा होमिए ।

शान्तिप्रक्रिया पछि ०६४ सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा धनकुटा क्षेत्र नम्बर १ बाट निर्वाचित भए । २०७० सालमा पराजय भोगेका उनले ०७४ सालमा टिकट नै पाएनन् । एमाले र माओवादी केन्द्रबीचको भागवण्डा अनुसार धनकुटाका सबै सिट एमालेले पायो । निर्वाचनका बेला भण्डारी सम्भावना बोकेको नेता हुँदा हुँदै पनि कर्नरमा पारिएको चर्चा पनि भयो ।

पार्टीबाट कर्नरमा पारिएका उनमा न कुनै निराशा छ, न त आत्मविश्वास नै घटेको छ । बुधबार मिडिया एनपी टिभीले ललितपुरको एक रेष्टुरेन्टमा भेट्दा उनीमा निराशा भन्दा बढी आशा भेटियो । करिब डेढ घण्टाको कुराकानीमा उनले निराशा जनक कुरा गरेनन् । एकपटक टिकट नपाउने वित्तिकै निराश हुनपनुपर्ने अवस्था नरहेको उनले सुनाए । उनले देश विकासका एजेण्डा र एमाले–माओवादी एकता प्रयासका बारेमा कुराकानी केन्द्रित गरे र यसरी व्यख्या गरेः

देश विकासका बारेमा

हामी लामो समय राजीनिक व्यवस्था फर्नेमा केन्द्रीत भयौं । हाम्रो अघिल्लो पुस्ताले त्यही कुरामा संघर्ष गर्‍यो । २००७ सालमा नेपालमा राणा विरोधी अभियान संचालन भयो र राणा शासनको अन्त्य भयो । त्यही दशकमा भारतमा ब्रिटिशहरुविरुद्ध आन्दोलन भयो, स्वतन्त्रता संग्राम भयो । सोही दशकमा चीनमा माओको नेतृत्वमा रिभोलुसन भयो, जनवादी क्रान्ति भयो ।

एकै दशका तीन मुलुकमा तीन घटना भए । ती घटनापछि चीन र भारत आर्थिक विकासमा केन्द्रीत भए । हाम्रोमा किन विकास हुन सकेन ? किनकी हाम्रो मुलुकमा त्यो बेला राजनीतिक क्रान्ति पुरा हुन सकेन । हाम्रो अघिल्लो पुस्ता त्यही राजनीतिक क्रान्ति पुरा गर्न अल्झियो । ०७ साल भन्दा अघि भारत र चीन आर्थिक सामाजिक हिसाबले हामीभन्दा पछि थिए । यो ७० बर्षमा उनीहरु हामी भन्दा धेरै माथि पुगे । हाम्रोमा दुरदर्शी राजनीतिक नेतृत्व भएन, प्रष्ट राजनीतिक दृष्टिकोण भएन ।

अब नेपालमा पनि राजनीतिक क्रान्ति पुरा भएको छ । अब नेतृत्वको नेतृत्व दुरदर्शी हुने र मुलुक कायापलट गर्ने राजनीतिक संकल्प गरेर अघि बढ्ने हो भने चीन र भारतको भन्दा तिव्रगतीले विकास गर्न सकिन्छ ।

 

हामीले उनीहरुसँग पाठ सिक्न सक्छौं । विश्वका दुई उदयमान अर्थतन्त्रकोबीचमा हामी छौं । त्यसलाई सन्तुलन मिलाएर उपयोग (सहयोग लिन) सकिन्छ । हाम्रो देशमा चीन र भारतको भन्दा सामाजिक, राजनीतिक र आर्थिक चेतनाको कमी छैन । राजनीतिक संक्रमणकालको अन्त्य भइसकेपछि दृढ संकल्प र दृष्टिकोण बनाएर अघि बढ्ने हो भने १० बर्षमा मुलुकको कायापलट गर्न सकिन्छ ।

निर्वाचनपछि नयाँ सरकार बन्दैछ । त्यो सरकारसँग जनताको अपेक्षा ठूलो छ । अब पनि सत्ता केन्द्रीत र बाँडेर खानेकुरामा अझिल्न हुँदैन । अब ग्राउण्ड तयार भइसकेको छ, परिणाम दिने गरी काम गर्नुपर्छ । अर्थतन्त्रलाई स्वाधिन बनाउनुपर्छ । बलियो अर्थतन्त्र निर्माणका लागि वैदेशिक लगानी आवश्यक पर्छ । तर, त्यो लगानी विदेशीको ‘इन्ट्रस्ट’ मा होइन, नेपालको नीति अनुसार आउनुपर्छ ।

पाँच बर्ष जनताले मुलुक चलाउन हाम्रो गठबन्धनलाई जिम्मा दिएका छन् । अब योजना बनाएर अघि बढ्न पर्छ । सत्ता स्वार्थमै केन्द्रीत हुने र भागवण्डा गरेर खाने मात्रै हो भने यो गठबन्धनको औचित्य हुँदैन ।

समृद्धीको खाका बनाएर जानुपर्छ । योजना बनाएर अघि बढ्ने हो भने मुलुक समृद्ध बनाउन सकिन्छ । नेतृत्वको इच्छाशक्ति हुनुपर्छ र आफ्नो स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ ।

अहिले निष्ठाको राजनीतिक कमजोर भएको छ । इमान्दार, निष्ठा, आदर्श र नैतिकताको राजनीति गर्नेहरु कमजोर हुँदै गएका छन् । सबै अस्त्र प्रयोग गर्न सक्नेहरू हावी भएका छन् । अब त्यसको अन्त्य गर्नुपर्छ । राजनीतिलाई पेशा बनाउन थालिएको छ । पहुँचको व्यापार गर्न धनाढ्यहरू राजनीतिमा आएका छन् । यसले राजनीतिलाई राम्रो गर्दैन । यसको अन्त्य गर्न हाम्रो पुस्ता लाग्न जरूरी छ ।

देश कस्तो बनाउने भन्ने कुरामा पार्टी कस्तो छ ? भन्ने कुराले पनि गर्छ । पार्टीका नीति, नेतृत्व र प्रवृत्ति कस्तो छ ? भन्ने अर्को कुरा हो । त्यसैले अहिले हामी पार्टी प्रणाली रुपान्तरण गर्नुे कुरामा लाग्न आवश्यक छ ।

पार्टी एकताका बारेमा

पार्टी एकताबाट पछि हट्ने छुट हामीलाई छैन । चुनाव मार्फत एकताको पूर्वधार तयार भएको छ । केही समस्याहरू त छन् नै ! तर ती समस्या हल गर्दै अघि बढ्छौं । पार्टी एकता हुन्छ । पदिय भागवण्डा मिलाउने कुरा जटिलनै छन् । तर कसलाई कुन पोस्टमा लाने भन्दा किन लाने भन्ने बारेमा बहस गर्छौ ।

कसैलाई गृहमन्त्री बनाइन्छ भने किन बनाउने ? अर्थमन्त्रीलाई कसैलाई बनाइन्छ भने किन बनाउने ? के उसका योजना के छन् ? उसले पाँच बर्षमा के गर्छ भन्ने हेरेर गर्नुपर्छ ।

यसरी पद विभाजन गर्दा ठूलो समस्या आउँदैन । प्रधानमन्त्री केपी ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’ एकिकृत पार्टीको अध्यक्ष बन्ने सहमति करिब करिब भइसकेको छ ।

एमालेले मान्दै आएको जनताको बहुदलिय जनवाद, हामीले मान्दै आएको २१ औं शताव्दीको जनवाद र माओवादका राम्रा कुरा ग्रहण गरेर नयाँ वादको विकास गरेर अघि बढ्ने हो । समानताका आधारमा एकताको मापदण्ड तयार गरेर अघि बढ्छौं । पटक–पकटका फुटबाट पाठ सिकेका नेताहरू हुनुहुन्छ, अब एकतापछि पार्टी फुट्दैन । फुटेर भविष्य छैन । फुटको श्रृंखला अन्त्य गर्न यो एकता बनेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments