यी हुन् सात प्रदेशका सम्भावित मुख्यमन्त्री, चारवटामा एमाले, दुईमा माओवादी र एकमा संघीय समाजवादी फोरम

  • 364
  •  
  •  
  •  
  •  
    364
    Shares

काठमाडौं, १२ माघ । आगामी फागुन पहिलो सातासम्म सातवटै प्रदेशमा सरकार गठन हुने भएको छ । प्रदेश सरकार गठनका लागि एमाले र माओवादी केन्द्र तथा राजपा र संघीय समाजवादी फोरमले आन्तरिक छलफल तीव्र पारेका छन् ।

सातमध्ये ६ वटामा वाम गठबन्धनको र एउटामा मधेस केन्द्रित दलको सरकार बन्ने निश्चित छ । कांग्रेसको सातवटै प्रदेशमा प्रमुख प्रतिपक्षमा रहने भएको छ । प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरम तथा १, ३, ४, ५, ६ र ७ मा एमाले–माओवादीको सरकार बन्ने भएको छ ।

सातमध्ये पाँच प्रदेशमा माघको तेस्रो साता प्रदेश सभा अधिवेशन आह्वान भइसकेकाले फागुनको पहिलो साता प्रदेश सरकार गठन हुने भएको छ । प्रदेश मुख्यमन्त्री बन्न अहिले एमाले, माओवादी, राजपा र संघीय समाजवादी फोरममा नेताहरूले दौडधूप बढाएका छन् ।

प्रदेश नम्बर १, ३, ४ र ५ मा एमालेबाट मुख्यमन्त्री बन्ने भएका छन् । प्रदेश १ मा शेरधन राई, ३ मा अष्टलक्ष्मी शाक्य, ४ मा पृथ्वी सुब्बा गुरुङ,  किरण गुरुङ र ५ मा शंकर पोखरेल मुख्यमन्त्री बन्ने करिब करिब निश्चित भएको छ ।

प्रदेश नम्बर ६ र ७ मा माओवादी केन्द्रबाट क्रमशः नरेश भण्डारी र वीरमान चौधरी मुख्यमन्त्री बन्ने स्रोतले जनाएको छ । प्रदेश ६ मा एमालेले पनि दाबी गरिरहेको छ । प्रदेश ६ को एमाले प्रदेश कमिटीले कुनै पनि हालतमा मुख्यमन्त्री छाड्न नसक्ने निर्णय नै गरिसकेको छ । तर, पनि भागबन्डाअनुसार प्रदेश ६ मा माओवादीले मुख्यमन्त्री पाउने भएको छ । आज साँझ एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मोटामोटी रूपमा प्रदेश मुख्यमन्त्रीको भागबन्डा टुंगो लगाउने बताइएको छ ।

यस्तै, प्रदेश २ मा संघीय समाजवादी फोरमबाट विजय यादव मुख्यमन्त्री बन्ने निश्चित रहेको बताइएको छ । राजपाले सभामुख पाउने भएको छ । मुख्यमन्त्रीमा फोरमकै शैलेन्द्र साह पनि दौडमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments