मेडिकल कलेजको ज्यादती, लाखौं रुपैयाँ अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थी र अभिभावको आपत्ति

  • 90
  •  
  •  
  •  
  •  
    90
    Shares

काठमाडौं, १४ माघ । चिकित्सा शिक्षण संस्थाहरुको गैरजिम्मेवार व्यवहारले विद्यार्थी र अभिभावकहरु मर्कामा परेका छन् । कलेजको ठग व्यवहारबाट पीडित बनेका विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले तोकेको रकम बुझाएका विद्यार्थीहरुबाट गण्डकी मेडिकल कलेज पोखराले थप रकम माग गरेको विद्यार्थीहरु बताउँछन् । आइओएमले तोकेको रकम बुझाएर ‘बि एस्सी’अध्ययनका लागि पर्खेका नर्सिङका विद्यार्थीहरुसँग गण्डकी मेडिकल कलेजले अतिरिक्त शिर्षक खडा गरेर बढी रकम लिन खोजेको हो ।

यही माघ १४ गतेबाट कक्षा सञ्चालन हुने भन्दै विद्यार्थी र अभिभावक बोलाएर कलेजले आइएमओले तोकेको भन्दा वार्षिक एक लाख ५६ हजार भन्दा बढी शुल्क तिर्नुपर्ने शर्त राखेको पीडित विद्यार्थीहरु बताउँछन् ।

आइओएमले तोकेको शुल्क बुझाइसकेका विद्यार्थीबाट गण्डकी मेडिकल कलेजले वार्षिक शुल्क एक लाख रुपैयाँ, नर्सिङ शुल्क २५ हजार रुपैयाँ, शैक्षिक कर वापत सात हजार चार सय ७८ रुपैयाँ, त्रिवि शिक्षण शुल्क कर एक हजार चार सय, मेडिकल चेकअप शुल्क पाँच हजार र भर्ना फारम शुल्क पाँच हजार गरी जम्मा एक लाख ५६ हजार चार सय ७६ रुपैयाँ अतिरिक्त शुल्क मागेको विद्यार्थीहरुले दाबी गरेका छन् । उनीहरुले नियम विपरित शुल्क माग्ने कलेजलाई कारबाही गरी आफूहरुलाई अध्ययन गर्ने वातावरण बनाइदिन माग गर्दै आइओएम डीनको कार्यालय महाराजगञ्ज काठमाडौंमा निवेदन दिएका छन् ।

प्रवेश परीक्षा उत्तीर्ण गरेर नियमानुसारको शुल्क तिरेका विद्यार्थीहरुबाट कलेज प्रशासनले बढी रकम माग गर्नु विद्यार्थीको भविष्यमाथिको खेलवाड मात्रै होइन गम्भीर अपराध गरेको पीडित विद्यार्थीका अभिभावकहरु बताउँछन् ।

कलेजले बढी रकम मागेको भन्दै १८ जना विद्यार्थी र तिनका अभिभावकले सामूहिक रुपमा आइओएम डीनको कार्यालयमा निवेदन दिएर गण्डकी मेडिकल कलेजलाई कारबाही गर्न माग गरेका हुन् ।

चिकित्सा शिक्षणमा अनियमितता र चिकित्सा सेवामा भएका लापरबाहीको अन्त्यका लागि डा. गोविन्द केसी बारम्बार आमरण अनसनमा बस्ने गरेका छन् । तर, मेडिकल माफियाको चलखेल भने अझै रोकिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments