नयाँ सरकार गठनअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराज किन नेपाल आउँदैछिन् ?

  • 217
  •  
  •  
  •  
  •  
    217
    Shares

काठमाडौं, १४ माघ । मुलुक इतिहासमै पहिलो पटक एक साथ प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठन हुने चरणमा छ । एमाले सबैभन्दा ठूलो दल बनेको छ । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएलगत्तै केन्द्र र प्रदेशमा नयाँ सरकार गठन हुने छ ।

नयाँ सरकार गठनका लागि एमाले र माओवादी केन्द्रबीच विभिन्न चरणमा छलफल भइरहेको छ । वाम गठबन्धनमा रहेका एमाले र माओवादी पार्टी एकताको प्रयासमा छन् । तर, वार्ता टुंगोमा पुगेको छैन । एमालेले पार्टी एकता गर्दा महत्वपूर्ण राजकीय पद आफैंले राख्ने निर्णय गरेपछि माओवादी भड्किएको छ ।

यही अवस्थामा भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदैछिन् । उनी माघ १७ गते नेपाल आउने कार्यक्रम तय भएको छ । नयाँ सरकार गठन हुनु अगाडि भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

केही दिनयता एमाले अध्यक्ष केपी ओली भारतप्रति निकै नरम हुन थालेका छन् । स्वास्थ्य उपचारको सिलसिलामा थाइल्यान्डको बैंककमा रहँदा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका ‘दूत’ सँग भेटवार्ता गरेको बताइएको छ । एक साताअघि मात्र मोदीले ओलीलाई टेलिफोन गरेका थिए । सोही टेलिफोनमा भएको कुराकानीका आधारमा स्वराजको भ्रमण तय भएको स्रोतले बताएको छ ।

समाचार स्रोतका अनुसार स्वराजको एक्कासि नेपाल भ्रमण हुनुको मुख्य कारण दुईवटा छन् । पहिलो, एमाले र माओवादी केन्द्रबीच पार्टी एकता तत्काल हुन नदिनु र अर्को, एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा मधेस केन्द्रित दल राजपा र संघीय समाजवादी फोरमलाई पनि समावेश गराउनु ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन नदिएमा दुई वर्षपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने र ओलीलाई कमजोर बनाउने भारतीय संस्थापन पक्षको रणनीति रहेको बुझिएको छ । केही दिनयता भारतको संस्थापनप्रति ओली र प्रचण्ड नरम हुन थालेका छन् । दुवैले एक दिनको फरक पारेर संविधान संशोधन हुन सक्ने अभिव्यक्ति दिन थालेका छन् ।

भारतीय गणतन्त्र दिवसको अवसरमा भारतीय दुतावासमा आयोजित कार्यक्रममा नगएका ओली शनिवार दुतावासले नै आर्मी अफिसर्स क्लबमा गरेको सांस्कृतिक कार्यक्रममा भने ओली सहभागि थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leaderboard Banner