प्रचण्डलाई पार्टी अध्यक्ष बन्नबाट रोक्न ओलीद्वारा राष्ट्रपति भण्डारीको प्रयोग

  • 794
  •  
  •  
  •  
  •  
    794
    Shares

काठमाडौं, २२ माघ । एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बन्नबाट रोक्न राष्ट्रपति विद्यादेवी भण्डारी प्रयोग गरेका छन् । अध्यक्ष नदिएसम्म पार्टी एकता नगर्ने अडानमा रहेका प्रचण्डलाई गलाउनकै निम्ति ओलीले राष्ट्रपति ‘कार्ड’ फ्याँकेको विषयले माओवादीभित्र तरंग सिर्जना गरेको छ ।

ओलीको सो रणनीतिप्रति एमालेभित्रै पनि असन्तुष्टि सुरु भएको छ । ओली सुरुदेखि नै राष्ट्रपतिमा पुनः एकपटक भण्डारीलाई दोहो¥याउन चाहन्थे । उनले सार्वजनिक रूपमा मात्र भन्न सकेका थिएनन् । तर, आइतबार राष्ट्रपति भण्डारीले ओली र प्रचण्डसँग भेटेर आफू पुनः एक कार्यकाल राष्ट्रपतिमा दोहोरिन चाहेको बताएपछि यो रहस्य खुलेको हो ।

राष्ट्रपतिमा एमाले वरिष्ठ नेता झलनाथ खनालले दाबी गर्दै आएका छन् । सुरुमा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादललाई पनि नयाँ राष्ट्रपतिको रूपमा चर्चा गरिएको थियो । उनलाई राष्ट्रिय सभाको अध्यक्षमा थन्क्याउने प्रयास भएको छ ।

ओलीकै डिजाइनअनुसार पार्टी एकता हुने हो भने अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपति तीनवटै एमालेको र माओवादी केन्द्रबाट उपराष्ट्रपति, सभामुख र राष्ट्रिय सभाको अध्यक्ष मात्र भागमा पर्ने स्थिति देखिएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण गर्न लगाएर ओलीले प्रचण्डलाई ‘साइज’ मा ल्याइसकेका छन् । एकीकृत महाधिवेशनसम्म आफैं अध्यक्ष बन्ने र त्यसपछि प्रचण्डलाई अध्यक्ष बनाउन सकिने ओलीको भनाइ छ ।

राष्ट्रपति, प्रधानमन्त्री र अध्यक्षसमेत एमालेले नै लिन लागेपछि सो पार्टीका उपाध्यक्ष वामदेव गौतमसमेत असन्तुष्ट देखिएका छन् । ओलीको यही रणनीति बुझेर आइतबार गौतमले ठूलो पार्टी भएकाले धेरै जिम्मेवार हुनुका साथै माओवादीलाई धेरै दिनका लागि समेत एमाले तयार हुनुपर्ने बताएका थिए । ‘जनताको पछिल्लो अभिमतले समेत एमालेलाई बढी जिम्मेवार बनाएको छ,’ एकता प्रक्रियाका सूत्रधार मानिएका गौतमले आइतबार प्रेस चौतारीको कार्यक्रममा भने, ‘यसपटक दुर्घटना भएर पार्टी एकता भएन भने अझ ठूलो दुर्घटना हुनेछ । त्यसपछि उठ्न फेरि ज्यादै मिहिनेत गर्नुपर्ने हुनसक्छ ।’

एमालेमा पछिल्लो समय वामदेव गौतम, झलनाथ खनाल, माधवकुमार नेपाल, योगेश भट्टराईलगायतका नेताहरू पार्टी एकता गर्नुपर्ने पक्षमा देखिएका छन् । उनीहरू प्रचण्डलाई अध्यक्ष दिएरै भए पनि एकता गर्नुपर्ने पक्षमा छन् । तर, एमाले महासचिव ईश्वर पोखरेल, महेश बस्नेत, शेरधन राईलगायतका नेता पार्टी अध्यक्ष प्रचण्डलाई दिन नहुने पक्षमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

61 − 59 =