निजी आवास पुनर्निर्माणका लागि प्राधिकरणले दियो ११ अर्बको अख्तियारी

  • 41
  •  
  •  
  •  
  •  
    41
    Shares

काठमाडौं, २४ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि विभिन्न जिल्लामा किस्ता वितरण गर्न थप ११ अर्बको अख्तियारी दिएको छ । प्राधिकरणले मंगलबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई यस्तो अख्तियारी दिएको हो ।

सबै जिल्लाहरुमा निजी आवास निर्माण उल्लेखनीय गतिमा बढिरहेकाले अनुदान रकमको माग उच्च हुने सम्भावनालाई विचार गर्दै प्राधिकरणले थप रकमको अख्तियारी दिएको हो । प्राधिकरणले जिल्लाबाट अनुदान मागको चाप बढ्न सक्ने स्थितिलाई विचार गरी थप पाँच अर्ब रकमान्तरका लागि अर्थ मन्त्रालयलाई आग्रह पनि गरेको छ ।

निजी आवास पुनर्निर्माण गरिरहेका लाभग्राहीलाई किस्तावापतको रकमका लागि कुनै समस्या नभएको प्राधिकरणका उपसचिव एवं सूचना अधिकारी मनोहर घिमिरले जानकारी दिए । ‘घर निर्माण गर्न रकम अभाव नहोस् भनेर अग्रिम रुपमै जिल्लाहरुमा निकास गर्न बजेटको अख्तियारी दिइएको छ,’ उनले भने । घिमिरेले जिल्लाबाट माग भएअनुसार सबै जिल्लामा रकम पठाइएकोले ढुक्क भएर निजी आवास निर्माणलाई अघि बढाउन लाभग्राहीहरुलाई आग्रह पनि गरे ।

पछिल्ला महिनामा भूकम्प प्रभावित सबै जिल्लामा निजी आवास निर्माणको क्रम तीव्र भएको छ । मंगलबारसम्मको तथ्यांकअनुसार अहिले दुई लाख ९१ हजार ८९५ घर निर्माणाधीन छन् भने दोस्रो किस्ताका लागि दुई लाख २७ हजार ८५४ लाभग्राही प्रमाणीकरण भइसकेका छन् । निजी आवास निर्माणका लागि विश्व बैंकले दिने थप ३० अर्ब ऋण सहयोगको यही माघ पहिलो साता विश्व बैंक र अर्थ मन्त्रालयबीच सम्झौता भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 9