प्रदेश नम्बर १ र ३ मा दलको नेता छान्दै एमाले, शेरधनलाई मुख्यमन्त्री बनाउन राष्ट्रपतिको लबिङ

  • 144
  •  
  •  
  •  
  •  
    144
    Shares

काठमाडौं, २६ माघ । आज प्रदेश नम्बर १ र ३ को मुख्यमन्त्री को बन्दैछ भन्ने निक्र्योल हुने भएको छ । एमाले प्रदेश १ र ३ को बैठकले निर्वाचनमार्फत संसदीय दलको नेता चयन गर्दैछ ।

शुक्रबार बिहानसम्म दुईवटै प्रदेशमा दलको नेतामा सहमति नभएपछि निर्वाचनबाटै नेतृत्व टुंग्याउन लागिएको हो । प्रदेश १ र ३ मा एमालेले मुख्यमन्त्री बनाउने भएको छ । दुवै प्रदेशमा उसको एकल बहुमत रहेको छ ।

प्रदेश १ मा भीम आचार्य र शेरधन राईबीच दलको नेता बन्न तीव्र प्रतिस्पर्धा छ । दुवै निर्वाचनबाट आफू जितिनेमा ढुक्क छन् । तर, दुवैले सोचेभन्दा स्थिति फरक रहेको बताइएको छ । आचार्य माधवकुमार नेपाल पक्ष र राई पार्टी अध्यक्ष केपी ओली निकट हुन् ।

राईलाई मुख्यमन्त्री बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले निकै चासो देखिएको एमाले स्रोतले बतायो । राईप्रति ओलीभन्दा पनि विशेष चासो भण्डारीको रहेको बताइन्छ । तर, आचार्यले कडा टक्कर दिएकाले राष्ट्रपति खुलेर लाग्न सक्ने अवस्था नरहेको बुझिएको छ । राष्ट्रपति भण्डारी आफैं दोस्रो कार्यकाल पद थमौतीमा लागेकाले एमाले वरिष्ठ नेता माधव नेपाललाई चिढाउने पक्षमा नरहेको स्रोतले बतायो ।

राष्ट्रपति भण्डारीकै दह्रो साथ पाएकाले राईले आफू संसदीय दलको नेता बन्नेमा ढुक्क जस्तो देखिएका छन् । प्रदेश १ मा ओली पक्षभन्दा नेपाल पक्षका सांसद बढी छन् ।

यता, प्रदेश ३ मा भने प्रतिस्पर्धा रोमाञ्चक बन्दै गएको छ । सुरुमा संसदीय दलको नेताका लागि अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेबीच कडा प्रतिस्पर्धा थियो । तर, बिहीबारदेखि दृश्य फेरिएको छ । हेटौंडाका पुराना नेता डोरमणि पौडेल दलको नेता बन्न सशक्त ढंगले अघि आएका छन् । उनी पार्टी अध्यक्ष ओली निकट हुन् । १० वर्ष हेटौंडा नगरपालिकाको मेयर भइसकेका पौडेलले अहिले प्रदेश ३ को सभामुखको जिम्मेवारी बहन गरिरहेका छन् ।

स्रोतका अनुसार पार्टी अध्यक्ष ओली पौडेल र शाक्यबीच दलको नेतामा प्रतिस्पर्धा गराउन चाहन्छन् । नेपाल पक्षबाट आफ्नो गुटमा आए पनि ओलीले पाण्डेलाई विश्वास गरिसकेका भने छैनन् । तर, पाण्डेले ओलीलाई सक्दो कन्भिन्स गर्ने प्रयत्न भने जारी राखेको एमाले एक नेताले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *