राष्ट्रिय सभाको मनोनीत तीन सांसदको सिफारिस अहिलेकै सरकारले गर्ने, एमाले र माओवादी असन्तुष्ट

  • 160
  •  
  •  
  •  
  •  
    160
    Shares

काठमाडौं, २६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा आफूले सत्ता छाड्नुअघि राष्ट्रिय सभामा मनोनीत तीन सांसद सिफारिस गर्ने गृहकार्यमा लागेका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना निर्वाचनबाट चुनिइसकेका छन् । तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिल मनोनीत गर्ने संवैधानिक व्यवस्था छ ।

सरकारको सिफारिसमा राष्ट्रिय सभामा मनोनीत हुने तीन सदस्यलाई लिएर विवाद सुरू भएको छ । उक्त नियुक्ति वर्तमान सरकारले गर्ने भन्दै गृहकार्य सुरू भइसकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिएका छन् । तर आगामी सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमालेले सिफारिस गर्ने अधिकार कामचलाउ सरकारलाई नभएको तर्क गरेको छ । माओवादी केन्द्रले पनि सो अधिकार नयाँ सरकारलाई भएको धारणा राखेको छ ।

राष्ट्रिय सभा चुनाव सकिएसँगै निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधि सभाको समानुपातिकतर्फको समूहगत प्रतिनिधित्वको सिट निर्धारण गरेर पठाउने अन्तिम तयारी भइरहेको जनाएको छ । फागुन ५ गतेभित्रै अन्तिम परिणाम घोषणा गर्ने उसको भनाइ छ ।

यसअघि एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी यो सरकारले तोक्न नसक्ने बताउँदै आएका थिए । तर सरकारले दुवै काम सँगै गरेको थियो । राष्ट्रिय सभामा सिफारिस पनि निर्वाचनकै एउटा पाटो भएको र सबै निर्वाचन सकेको सरकारसँग राष्ट्रिय सभालाई पूर्णता दिने जिम्मेवारी रहेको मन्त्री थापाको तर्क छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सिफारिस गर्ने तीनजनाका बारेमा छलफल अघि बढाइसकेको र केही दिनमै सिफारिस गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =