प्रदेश ५ ले सबैभन्दा पहिले पाउँदैछ मुख्यमन्त्री, शंकर पोखरेलको नाम प्रदेश प्रमुखलाई बुझाइँदै

  • 78
  •  
  •  
  •  
  •  
    78
    Shares

काठमाडौं, २८ माघ । प्रदेश नम्बर ५ मा सबैभन्दा पहिले सरकार बन्ने भएको छ । वाम गठबन्धनले एमाले संसदीय दलका नेताले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा औपचारिक पत्र दर्ता गराउने कार्यक्रम छ । एमाले नेता पोखरेलको नाम प्रदेश प्रमुख उमाकान्त झालाई बुझाउने भएका छन् ।

प्रदेश ५ मा एमाले र माओवादी केन्द्रले सरकार बनाउने सहमति गरिसकेका छन् । सोही कारण बहुमत प्राप्त दलका नेताको नाम प्रदेश प्रमुख झालाई बुझाइन लागेको हो । बहुमत प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्ने र सपथ खुवाउने छन् ।

सरकार गठनका लागि अहिले एमाले प्रदेश संयोजक विष्णु पौडेल, संसदीय दलका नेता शंकर पोखरेल, प्रमुख सचेतक भूमिश्वर ढकाल र माओवादी केन्द्रका प्रदेश इन्चार्ज वर्षमान पुन, नेता कुलप्रसाद केसी, दधिराम न्यौपानेलगायतका शीर्ष नेताहरुको बैठक बुटवलमा सुरु भएको छ ।

एमालेले माघ ५ गते नै शंकर पोखरेललाई प्रदेश ५ को दलको नेता सर्वसम्मत चयन गरेको थियो । मुख्यमन्त्री नियुक्त भएसँगै पोखरेले एमाले र माओवादीबाट तीन सदस्यीय सानो मन्त्रिपरिषद् गठन गर्ने भएका छन् ।

मुख्यमन्त्रीसहित एमालेले नवलपरासीका बैजनाथ चौधरी र माओवादीले रुकुमका पूर्णबहादुर घर्तीलाई मन्त्री बनाउने भएको छ । आजै माओवादी केन्द्रले प्रदेश स्तरीय संसदीय दलको बैठक बोलाएको छ ।

बैठकले संसदीय दलका नेतामा रुकुमका कुलबहादुर केसी, सभामुखमा गुल्मीका सुदर्शन बराल र मन्त्रिपरिषदमा जान पूर्णबहादुर घर्तीलगायतको नाम निर्णय गर्ने कार्य्रकम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *