समानुपातिक सांसद लफडा, माओवादीका प्रेमबहादुर सिंह आउने, कांग्रेसको दीपशिखा शर्मा जाने

  • 87
  •  
  •  
  •  
  •  
    87
    Shares

काठमाडौं, २ फागुन । प्रतिनिधिसभा समानुपातिकतर्फ तीन पार्टीले बुझाएको बन्दसूचीमा परेका नामबारे निर्वाचन आयोगले अस्वीकार गरेपछि सांसदको बधाई खाइसकेका नेताहरू जिल्लाराम पर्ने भएका छन् । यसरी सांसदको बधाई खाइसकेर जिल्लाराम पर्नेमा माओवादी, कांग्रेस र राजपाका नेता छन् ।

राजपाले त मंगलबार नै रेणु शर्माको नाम हटाएर नरमाया ढकालको नाम निर्वाचन आयोगमा बुझाइसकेको छ । राजपाले खसआर्य महिलामा ढकालको नाम हटाएर शर्माको नाम बुझाएको थियो । तर, आयोगले सो नाम अस्वीकार गरेपछि ढकालले सांसद बन्ने अवसर पाएकी हुन् ।

कांग्रेसले बुझाएको सूचीमा पिछडिएको क्षेत्रको प्रतिनिधित्व हटाएर खस–आर्यतर्फ पुरुष र महिला गरी एक/एकजना थपेको थियो । कांग्रेसका अनुसार आयोगले खसआर्य समूहको अन्तिममा रहेका पुरुष र महिलाको नाम काटेर पिछडिएको क्षेत्रमा प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका पुरुष र महिलाको नाम थप्न भनेको छ ।

आयोगको निर्देशनअनुरूप पठाउँदा खस–आर्य पुरुषको अन्तिममा रहेका मोहन पाण्डे र खस–आर्यकै महिलाको अन्तिममा रहेकी दीपशिखा शर्मा बाहिरिने छन् ।

उनीहरूका स्थानमा पिछडिएको क्षेत्रबाट खस–आर्यसमूहको पहिलो प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका रामबहादुर विष्ट र महिलाको पहिलो नम्बरमा रहेकी रंगमती शाही सूचीमा पर्नेछन् । दीपशिखा कांग्रेस नेता विमलेन्द्र निधिकी जेठीसासू हुन् । यस्तै, पाण्डे रामचन्द्र पौडेल निकट नेता हुन् ।

आयोगले माओवादीले खस–आर्यसमूहको महिला सूचीमा रहेकी सत्या पहाडीलाई पिछडिएको क्षेत्रबाट सिफारिस गरेको भन्दै अस्वीकार गरेको छ । आयोगले उनको नाम हटाएर पिछडिएको क्षेत्रबाट खस–आर्यसमूहमा प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका व्यक्तिलाई समावेश गरी पठाउन माओवादीलाई पत्राचार गरेको छ । माओवादीबाट खस–आर्यसमूहको प्राथमिकता क्रमको पहिलो नम्बरमा प्रेमबहादुर सिंह छन् ।

पहाडी माओवादी नेता शक्तिबहादुर बस्नेतकी श्रीमती हुन् । उनको ठाउँमा एक सिटे सांसद भएर पटक–पटक मन्त्री बन्न सफल प्रेमबहादुर सिंह सांसद बन्ने सम्भावना छ । सिंहको पार्टी निर्वाचनअघि माओवादी केन्द्रमा विलय भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 4 =