किन महन्थ ठाकुरलाई उपराष्ट्रपतिमा थन्क्याउन चाहन्छन् राजेन्द्र महतो ? यस्तो छ कारण

  • 200
  •  
  •  
  •  
  •  
    200
    Shares

काठमाडौं, २७ फागुन । प्रदेश र प्रतिनिधिसभा निर्वाचनलगत्तै एमाले अध्यक्ष केपी ओली र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच सरकारमा सहभागी हुने विषयमा पटक–पटक छलफल भयो । एमाले ठूलो दल बनलगत्तै आफूहरूलाई बाइपास गर्न फोरमलाई सरकारमा सहभागी गराउन खोजेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले चाँडै नयाँ फड्को मार्ने घोषणा गरे ।

त्यसपछि मात्र एमाले अध्यक्ष केपी ओली माओवादी केन्द्रसँग पार्टी एकता गर्न र सरकार बनाउन अग्रसर भएका हुन् । ओली सरकारमा अहिले फोरम जाने नजाने निर्णय भइसकेको छैन, तर निर्वाचनपछि कतै सिनमा नदेखिएको राजपा अब सरकारको महत्वपूर्ण हिस्सा बन्न खोजेको छ । त्यसका लागि राजेन्द्र महतो, अनिलकुमार झा, शरत्सिंह भण्डारीहरू खुलेर लागेका छन् ।

राजपामा संयोजक महन्थ ठाकुरलाई उपराष्ट्रपति बनाउन पाए पार्टी नेतृत्व आफ्नो हातमा पर्नेमा राजेन्द्र महतो ढुक्क छन् । सोही कारण उनले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने पार्टी निर्णय गराउन सफल भएका छन् । महतो ओलीकै सहारामा धनुषा ३ बाट विजयी भएर आएका हुन् । महन्थ ठाकुरले पनि उपराष्ट्रपति भए पनि चित्त बुझाउने संकेत गरिसकेका छन् ।

स्रोतका अनुसार फागुन १९ गते प्रधानमन्त्री केपी ओलीले फोन गरेर ठाकुरलाई भेट्न बालुवाटार बोलाए । प्रधानमन्त्रीले बोलाएपछि ठाकुर बालुवाटार पुगे । ओलीले ठाकुरसँग प्रस्ताव राखे, ‘संसदमा तपाई जेष्ठ सदस्य हुनुहुन्छ । सांसदहरूको सपथ तपाईले नै गराउनु प¥यो । महेन्द्र राय यादवलाई उपस्थित नहुन भनिदिनोस् ।’

प्रधानमन्त्रीको प्रस्तावपछि ठाकुर खुसी हुँदै भने, ‘हुन्छ म त्यसै गरौंला ।’ लगत्तै ठाकुरले यादवलाई फोन गरे । उनी फागुन २० गते संसदमा उपस्थित भएनन् । ठाकुरले जेष्ठ सदस्यका रूपमा राष्ट्रपतिबाट सपथ लिए र प्रतिनिधिसभाका सदस्यहरूलाई सपथ खुवाए । त्यसपछि ठाकुरले चार दिन लगातार संसद्को बैठकको अध्यक्षता गरे ।

सभामुखको निर्वाचनसम्म ठाकुरले नै संसद् चलाए । त्यसपछि प्रधानमन्त्री ओलीले फेरि ठाकुरलाई भेट्न बोलाए । उनले ठाकुरसँग प्रस्ताव राख्दै भने, ‘ठाकुरज्यू, तपाईंले सांसदहरूलाई पनि सपथ खुवाउनु भयो, संसद् पनि निकै राम्रोसँग चलाउनु भयो । अब सरकारमा आइदिनोस्, तपाई उपराष्ट्रपति बनिदिनोस् ।’

प्रधानमन्त्री ओलीको प्रस्तावपछि ठाकुर दंग भए र भने, ‘कतिजना मन्त्रीमा पठाइदिउँ ?’ त्यसपछि भने प्रधानमन्त्री ओली आश्चर्यचकित भए । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले राजपालाई उपराष्ट्रपति लिन प्रस्ताव गरेपछि माओवादी केन्द्र बिच्किएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले राजपालाई सरकारमा सहभागी नगराउन निकै सक्रिय ढंगले लागेको बुझिएको छ ।

राजपामा महन्थ ठाकुरलाई उपराष्ट्रपति बनाएर पार्टी नेतृत्व लिने राजेन्द्र महतोको अभियान निकै अघि बढेको बताइन्छ । राजपामा महतो निकट पाँच सांसद छन् । महतोलाई अध्यक्ष मण्डलका सदस्य झा र भण्डारीको पनि सपोर्ट रहेको छ । पार्टी नेतृत्व आफ्नो हातमा आएमा राजेन्द्र महतो मन्त्री नबन्न राजी भएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

75 − = 70