पूर्वराजा शाह नौ दिनसम्म हिमालयन टी स्टटे गार्डेनमा, के त्यहीँ पुस्तक लेख्दैछन् ?

  • 76
  •  
  •  
  •  
  •  
    76
    Shares

काठमाडौं, २८ फागुन । तीन साता लामो पूर्व क्षेत्रको भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको दमकमा आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेट गार्डेनमा नौ दिन बिताएका छन् । फागुन २९ गतेदेखि उनको भ्रमण यात्रा सुरु हुँदैछ । उनको भ्रमण सुनसरीको रामधुनीमा दर्शन गरेपछि सुरु हुनेछ । उनी दिउँसो ३ बजे भगवानले रामले धुनी जगाएको स्थलमा दर्शन गर्ने छन् । त्यसपछि पूर्वराजा प्रकाशपुरमा भइरहेको श्रीमद्भागवत् र धनधान्यान्चल मेलामा सरिक हुनेछन् ।

केही समययता पूर्वराजा शाह पुस्तक लेखनमा व्यस्त रहेको बताइन्छ । हिमालयन टी स्टेटमा शान्त वातावरणमा नौ दिनसम्म बस्नुमा कतै उनी त्यहीँ बसेर पुस्तक त लेखिरहेका छैनन् भन्ने विश्लेषण र अनुमान गरिएको छ । हालै मात्र आफ्नो आत्मवृत्तान्तलाई समेटेर पूर्वराजा शाह पुस्तक लेखनमा जुिटरहेको सार्वजनिक भएको थियो ।

उनको पटक–पटकको स्वदेश तथा विदेश भ्रमणलाई धेरैले राजतन्त्र पुनर्बहाली गराउने अभ्यासका रूपमा हेरे पनि वास्तवमा उनी पुस्तकको प्लेटफर्म जुटाउने सिलसिलामा देश तथा विदेश दौडाहामा रहेको बुझिएको छ । दरबारमा काम गर्नेहरू धेरैले पुस्तक लेखेको र ती पुस्तकले दरबारप्रति भ्रम सिर्जना गरेको निचोडका साथ पूर्वराजा शाह आफैं पुस्तक लेखनमा जुटेको अनुमान पत्रकार युवराज गौतमको छ ।

समाचार स्रोतका अनुसार उनको मोटो पुस्तक अधिकांश तयार भइसकेको छ । पुस्तकमा नेपाल एकीकरणदेखि शाह वंशले पु¥याएको योगदान, विश्वमा राजतन्त्रको उत्थान र पतन, राजतन्त्र भएका र नभएका देशहरूको विकाससम्बन्धी तुलनात्मक अध्ययन, आफ्नो अनुभवलगायतका शीर्षकमा धेरै खण्ड छन् । दरबारमै बसेर षड्यन्त्र गर्नेहरू, दरबारबाट रकम लिएर बेइमान गर्नेहरूको सूची पनि पूर्वराजा शाहले तयार गरेका छन् ।

शाहसँग केही संगत गर्ने अवसरसमेत पाएका र राजसंस्था पुनर्बहालीको पक्षमा कलम चलाउँदै आएका गौतमले गत शुक्रबार अन्नपूर्ण पोस्ट दैनिकमा लेखेका छन्– ‘ज्ञानेन्द्र शाहको पुस्तक प्रकाशित भयो भने एकपल्ट दिल्ली, बेइजिङ, ब्रसेल्स र वासिंगटन डिसीसम्म कम्पन जान सक्छ । उनलाई धोका, दबाब र धम्की दिने विदेशीहरूले समेत सोच्नुपर्ने अवस्था आउँछ । नेपालमा धेरैको मुटुमा ढ्यांग्रो बज्न सक्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 56